साउथ सुडानकाे मिसनबाट क्याप्टेन रितुको सन्देश ‘यहाँ पुरुषले गर्नसक्ने महिलाले नसक्ने केही छैन’ (अन्तर्वार्ता)

नेपाली सेनाकी सह–सेनानी (क्याप्टेन) रितु पाण्डे (२९)  संयुक्त राष्ट्र संघको मिसन इन साउथ सुडान (अनमीस) मा शान्ति सैनिकका रुपमा खटिएकी छन् । विश्व भुगोलको यो नयाँ देशमा स्थापनायता भइरहेका मानवताविरोधी घटनाहरुले यो मिसन अति जोखिमयुक्त तथा चुनौतीपूर्ण मानिन्छ ।

साउथ सुडानमा महिलाहरुको प्रतिनिधित्व गर्दै मिसनमा खटिएकी क्याप्टेन पाण्डेसँग अनमीसका लागि प्रियंका चौधरीले लिएको अन्तर्वार्ता पर्दाफासले अनुवाद  गरेको हो ।

अन्तर्वार्तामा क्याप्टेन पाण्डेले नेपाली महिलाहरु राष्ट्रको मान–सम्मानका खातिर धेरै पटक अघिल्लो पंक्तिमा उभिएको संस्मरण गरिन् । उनले आफू सेना भएर खटिँदा आफ्नो व्यावसायिकताको उच्च मूल्यांकन गरिरहेको बताएकी छन् । क्याप्टेन पाण्डे अनमीस गणको महिला परिचालन टोलीकी कमाण्डर हुन् ।

क्याप्टेन पाण्डे मिसन क्षेत्रकाे भाैगाेलिक अवस्था अवलाेकन गर्दै । 

तपाईं किन आफ्नो देशको सेनामा सामेल हुने निर्णय गर्नुभयो ? 

म सैन्य परिवारकी सदस्य हुँ । मेरा बुबा र हजुरबुबा दुबै सैनिक सेवा पुरा गरेका अधिकारी हुनुहुन्छ । जब म बुबालाई सैनिक पोशाकमा देख्दथे, मलाई पनि यो बर्दीका लागि सक्षम र निडर हुनुपर्छ भन्ने लाग्थ्यो । आफ्नो शिक्षा पूरा गर्नासाथै मेरा लागि सबैभन्दा अब्बल र उत्तम पेशा यही थियो । मैले सैन्य सेवा रोजे ।

तपाईंलाई सुरुवातदेखि नै सैन्य पेशामा परिवार र साथीभाइहरुले सहयोग गरे ? 

पक्कै पनि । नेपाली महिलाहरु सधै नै राष्ट्रको मानसम्मानका लागि अग्रपंक्तिमा खटिएका छन्  । खटिँदै आएका छन् । म भाग्यमानी छु, मेरा श्रीमान पनि सैन्य सेवामै हुनुहुन्छ । उहाँ पनि यही साउथ सुडानमै खटिनु भएको छ । हामीले एकअर्कालाई आफ्ना लक्ष्य र आइपर्ने समस्या तथा चुनौतीहरुका विषयमा भनिरहनु  पर्दैन । एकअर्कालाई बुझ्ने जोडी भएपछि जीवन आफै सहज हुन्छ ।

तपाई कसरी संयुक्त राष्ट्र संघको शान्ति सेनामा सहभागी हुनु भयो ? 

संयुक्त राष्ट्र संघमा जस्तै नेपाली सेनाले समेत संगठनमा ओहोदा बढाउँदै ५० प्रतिशत हिस्सामा महिलाहरुको उपस्थितिको लक्ष्य राखेको छ । विश्वले नै सबै समाज र संगठनमा महिलाको हिस्सेदारी ५० प्रतिशत पुग्नुपर्ने मान्यता बनाइरहेका छन् । यस्तै सोच भएको संगठन नेपाली सेना र प्रहरी समेत हो । उनीहरुले सेवा गर्ने समाजका लागि उदाहरणीय बन्नुपर्छ । यही मान्यता शान्ति सेनामा समेत लागू भएको हो । यसरी म प्रतिस्पर्धाबाट अब्बल भएर नेपाली सेनाका तर्फबाट अनमीस मिसनमा प्रतिनिधित्व गरिरहेकी छु ।

पेट्राेलिङका क्रममा क्याप्टेन पाण्डेकाे नेतृत्वकाे सैन्य टाेली । 

मिसनमा तपाईका जिम्मेवारी के–के हुन् ? मिसनका दौरान कुनै सम्झनयोग्य दिन ? 

अनमीसमा म सैनिक लैंगिक सम्पर्क व्यक्ति र महिला सहभागिताको गणको परिचालन प्रमुख बनेर काम गरिरहेकी छु । यो चुनौतीपूर्ण जिम्मेवारी हो । हामी नियमित गस्तीमा जान्छौं । हामीले मिसनमा गर्नुपर्ने र परिआउने सबै जिम्मेवारी पूरा गरिरहेका हुन्छौं ।

मलाई यहाँ समुदायसँग पहुँचका गतिविधिहरु मन पर्छ । यहाँ हामीले कोभिड–१९ को महामारीका बिच समुदायमा सचेतना फैलाउने, उनीहरुलाई सजग र सचेत गराउने काम गर्यौं ।

यस्तै यहाँका महिलाहरुसँग उनीहरुको प्रजनन स्वास्थ्य, महिनावारी सुरक्षा सहितका विषयमा कुराकानी गर्नुका साथै उनीहरुका जिज्ञासा मेटाउने गरिरहेका छौं । यहाँ महिला तथा बालबालिकाहरु बढ्दो हिंसाको चपेटमा परिरहेका छन् । हामी यहाँका महिलाहरुसँग आशा, खुसी र सपना बाँड्नुका साथै उनीहरुको मनबाट डर हटाउने प्रयास गरिरहेका छौं ।

महिला शान्ति सैनिकको उपस्थितिले यहाँको धरातलीय यथार्थमा कति प्रभाव पारिरहेको छ ? 

म विश्वस्त छु । जब हामी गस्तीमा गइरहेका हुन्छौं, हामीलाई देख्ने युवतीहरु निश्चय पनि प्रोत्साहित भएको हुनुपर्छ । हामीलाई पोशाकमा देख्दा उनीहरुमा पनि त्यो अवसरमा पुग्न सकिन्छ भन्ने आत्मविश्वास बढेको हुनुपर्छ । उनीहरुमा पनि पुरुषसरह समान हौं भन्ने भावनाको विकास भएको हुनुपर्छ ।

एउटी महिला र आमा भएर हामी हाम्रा सन्तानका लागि समान दायित्वबोध गर्दछौं । म अनुभव गर्छु हामीले निश्चय पनि बढो मौलिकताका साथ यहाँ शान्ति स्थापनाको प्रयास गरिरहेका छौं ।

शान्ति सेनामा अवसर खोजिरहेका युवती र महिलाहरुलाई केही भन्न चाहनु हुन्छ? 

आफ्नो देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा निलो हेलमेट लगाएर डिउटी गर्नु आफैमा गर्वको विषय हो । सबै युवती तथा महिलाहरुलाई मेरो सन्देश हो, यदि शान्ति सेनामा जान चाहन्छौं भने अघि बढ । यहाँ पुरुषले गर्नसक्ने महिलाले नसक्ने केही छैन  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *