कारागारको लापरबाहीले ‘बिकिनी किलर’को अन्तर्वार्ता विदेशी मिडियामा

१७ वर्षदेखि नेपालमा थुनामा रहेका ‘बिकिनी किलर, सिरियल किलर’ जस्ता उपनामले कुख्यात अभियुक्त चार्ल्स शोभराजको फेरि नयाँ प्रकरण बाहिरिएको छ ।

शोभराजले जेलबाटै विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको विषय अहिले सुरक्षाकर्मीका लागि टाउको दुखाइको विषय बनेको हो ।

केन्द्रीय कारागार सुन्धाराको गोलघरमा थुनामा रहेका शोभराजको जेलजीवन र उनका भावी योजनाबारे अन्तर्वार्तामा आधारित सामग्री आइतबार दुई बेलायती पत्रिकामा छापिएको छ । उनले उक्त अन्तर्वार्ता कसरी दिए भन्ने अहिले छानबिनको विषय बनेको हो ।

गृह मन्त्रालयका अनुसार कुनै पनि कैदीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन मिल्ने कानुनी व्यवस्था छैन । यसबारेमा छानबिनका लागि कारागार व्यवस्थापन विभागसँग कारागार प्रशासनले १० दिनको समय मागेको छ ।

पूर्व सुरक्षाकर्मीहरुले यो ठूलो सुरक्षा कमजोरी भएको बताएका छन् । उनीहरुले यस्ता कमजोरी तत्काल समाधान गर्न नसके भविष्यमा झन् ठूला दुर्घटना निम्तिन सक्ने चेतावनी पनि दिएका छन् ।

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा शोभराज पक्राउ परी थुनामा छन् । उनका आफन्तका तीनमध्ये दुई नम्बरमा सातामा दुई चोटि कुरा गर्न दिइने गरेको छ ।

आफन्तकै माध्यमाबाट कुरा रेकर्ड गरेर सञ्चारमाध्यमसम्म लगेको हुनसक्ने कारागार प्रशासनको अनुमान छ । शोभराज फ्रान्सेली भएको र संस्थासँग उक्त भाषा जानेको अनुवादक नहुँदा अप्ठ्यारो परेको कारागारमा प्रशासनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर