नाडामा संस्थागत स्वार्थ, सामूहिक हित र सरकार–ब्यापारी सहकार्यका लागि मेरो उम्मेदवारी होः दिपककुमार अग्रवाल (अन्तर्वार्ता)

दीपककुमार अग्रवाल अटोमोबाइल क्षेत्रमा चिनाईरहनु पर्ने नाम होइन् । नेपाल अटोमोबाइल डिलर एशोसिएसन (नाडा) को कार्यकारी सदस्य रहेका उनी १५ वर्षभन्दा बढी समयदेखि यही क्षेत्रमा सक्रिय छन् । उनी नाडाको आसन्न निर्वाचनमा अर्का उत्साही उद्यमी ध्रुब थापाको प्यानलबाट उम्मेदवारी दिँदैछन् ।

नाडा पुरातन सोच र ब्यक्तिगत स्वार्थमा नभई संस्थागत स्वार्थ बोकेर आधुनिक सोचका साथ सरकारसँग सहकार्यगर्दै अघि बढनुपर्ने धारणालाई मूर्तरुप दिने योजना अग्रवाल र उनको प्यानलको छ । नाडा निर्वाचनपछि प्यानलको जीत भएमा कार्यकारी पदका प्रवल दावेदार अग्रवाल हुन् ।

जगदम्बा मोटर्सका उपाध्यक्ष र निर्देशक दिपककुमार अग्रवालसँग पर्दाफासले गरेको वार्तालापका प्रमुख अंशहरु यहाँ प्रस्तुत गरिएको छ ।

नाडामा तपाईंको उम्मेदवारी किन ?

नाडा एउटा परिधिमा मात्र सीमित भयो । यसलाई मोफसलदेखि सबै क्षेत्रलाई समेट्न र साझा संस्थाको रुपमा स्थापित गर्न मैले उम्मेदवारी दिएको हुँ । हाम्रो समूहको नारा छ, नाडालाई बनाउनु छ अटो मोबाइलको साझा । नाडामा हुन नसकेका कामलाई गर्न, अहिले भइरहेका राम्रा कुरालाई निरन्तरता दिन र अझै राम्रा काम गर्न मेरो उम्मेदवारी हो ।

तपाई अहिले पनि नाडाको कार्यसमितिमा हुनुहुन्छ । यो कार्यकालमा के गर्न सकिन्थ्यो, के हुन सकेन भन्ने लाग्छ ? केले असर गर्यो जस्तो लाग्छ ?

सबैभन्दा ठूलो समस्या केही ठाउँमा संस्थागतभन्दा व्यक्तिगत स्वार्थ हावी भयो । अटो क्षेत्रको ‘फ्लोर लेभल’ देखि नीतिगत समस्यालाई जहाँसम्म पुर्याउनुपर्ने र समाधान गर्नुपर्ने हो, त्यसमा कमजोरी भयो ।

कार्यसमितिमा बसेपछि मैले नराम्रो कुराको जिम्मेवारी लिन सक्नुपर्छ भने राम्रा कुराको नेतृत्व पनि । नेतृत्व लिने सन्दर्भमा हामीले वास्तविक समस्यालाई माथिल्लो निकायमा लैजान र नीतिनिर्माणमा आफ्नो कुरालाई सही रुपमा प्रस्तुत गर्न सकेनौं जस्तो लाग्छ । आजको दिनमा नाडा नेपालको ठूला संस्थामध्ये एक हो । यसले राजस्वमा पनि त्यतिकै मात्रामा योगदान गरेको छ । तर, अध्ययन अनुसन्धान, तथ्यांकहरुमा हामीले ग्याप महसुस गरिरहेका छौं । त्यसैले नाडा एउटा फूलफ्लेज्ड संस्था बनाउन पनि हाम्रो उम्मेदवारी हो ।
अहिलेको कार्यसमितिले राम्रा कुरा पनि गरेको छ, नाडा विकेन्द्रित भएको छ । सातै प्रदेशमा पुगेको छ । अब केन्द्रमा त्यहाँको प्रस्तुतिलाई कसरी बलियो बनाउने भन्ने काम गर्नुपर्ने देखिन्छ ।

नाडाले एउटा सबैभन्दा तल्लो तहमा बसेर काम गर्ने पसलेलाई पनि बुझ्नुपर्छ । आयातकर्ता, वितरक, डिलर, होलसेलर, रिटेलर यी सबै हेर्दा अलगअलग देखिन्छ । तर, सबै एकअर्कासँग जोडिएका छन्, नङ मासुको सम्बन्ध भनेजस्तै ।

समस्याचाहिँ कहाँ छ भने हामी समस्या समाधान गर्ने ठाउँमा छौं, केन्द्रमा छौं तर, माथिल्लो तहको समस्याहरुलाई मात्र ध्यान दिने र समाधान गर्ने प्रयास गर्छौं । तल्लो तहको वास्तविक समस्या न त आजसम्म धेरै माथि आउन सकेको छ, आए पनि जुन हिसाबले समाधान गर्नुपर्ने थियो, त्यसरी हुन नसकेको मलाई लाग्छ । अबको बोर्डले त्यो समाधान गर्नेछ ।

केही दिनअघि हामीले प्यानल घोषणाका लागि गरेको कार्यक्रममा एक जनाले नाडाले अहिलेसम्म अटो शो बाहेक के गर्न सकेको छ ? भनेर प्रश्न सोध्नुभयो । त्यो हामीमाथि ठूलो आरोप हो । त्यो आरोपलाई पन्छाउन हामीले धेरै नयाँ काम गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसमा हामीले धेरै होमवर्क पनि गरेका छौं ।

जस्तै, डाटा सेन्टर, हेल्प सेन्टर स्थापनादेखि सरकारसँगको समन्वय, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धनका विषयमा आफूलाई बलियो रुपमा प्रस्तुत गर्ने योजना बनाएका छौं । अटो शोमा पनि दुई पांग्रे, चारपांग्रे गरी विभिन्न भागमा आयोजना लगायतका थुप्रै नयाँ कामहरु गर्न सकिन्छ ।

जनशक्तिको जहिल्यै अभाव भएका कारण ट्रेनिङ, त्यसैअनुसारका कलेज स्थापना लगायत अटो क्षेत्रमा देखिएका ग्याप पूरा गर्ने योजना छन् । हामीसँग धेरै ठूलो एजेन्डा छैनन् । यी योजनाहरुलाई पूरा गर्न साझा आवाज सृजना गर्ने काम गर्यौं भने पनि धेरै हुनेछ ।

ध्रुव थापा प्यानल नै किन रोज्नुभयो ?

यो नितान्त विचार–विचार मिल्ने व्यक्तिको प्यानल हो । ध्रुव सरले २÷३ महिनादेखि मेहनत गरिरहनुभएको हो । उहाँले विभिन्न सेक्टरबाट जोडेर व्यक्ति ल्याउनु भयो । संस्थागत स्वार्थलाई सर्वोपरि मान्ने वास्तविक समूह बनाउनु भयो । यो उहाँको अनुभवबाट सम्भव भएको हो । त्यसैले उहाँको नेतृत्वको यो समूहले नाडाको वास्तविक समस्याको उठान र समाधान गर्न सक्छ भन्ने लागेर म आबद्ध भएको हो र यसमा मेरो भूमिका पनि महत्वपूर्ण हुन्छ भन्ने ठानेको छु ।

नाडाको नेतृत्वले आफू र आफ्नो संस्थाको हितलाई मात्र हेर्ने गरेको आरोप लाग्ने गर्छ । तपाईंहरुको नेतृत्व आएमा यस्ता आरोपलाई कसरी हटाउनुहुन्छ ?

हाम्रो समूहले सबै क्षेत्रलाई समेटेको छ र व्यक्तिगत स्वार्थ पूरा गर्न दिँदैन । सधैं उपभोक्ता हितमा काम गर्ने प्रयास गर्नेछौं । हाम्रो समूहमा टायर, टुयुबदेखि लुब्रिकेन्टसम्मका तल्लो तहमा रहेका व्यवसायीलाई राखेका छौं । सबै वर्गका व्यवसायीलाई पनि समावेश गरेका छौं । त्यसकारण व्यक्तिगत स्वार्थलाई आउनै नदिने अवस्था सृजना गरेका छौं ।

नीति निर्माणको सवालमा सरकारसँग नाडाको कस्तो अपेक्षा छ ?

यो क्षेत्रमा संरचनाको अभाव अहिले देखिएको मुख्य समस्या हो । काठमाडौंमै पनि सार्वजनिक यातायातको अवस्था राम्रो छैन । त्यसलाई राम्रो बनाउन सक्यौं भने त्यसले समग्र विकास गर्छ । एसेम्बलिङ उद्योगलाई एक तहको छुट भन्ने कुरा आयो । तर त्यसको ग्रोथका लागि कसरी सहयोग गर्ने भन्ने नीति छैन । भ्यालु एडको कुरा आएको छ । त्यसको लागि पनि चाहिने सहयोग, पूर्वाधार, टेक्नोलोजी लगायतको विषयमा होमवर्क गरिदिनुपर्यो ।

अर्को समस्या, व्यापारिक तहबाट होस् वा सरकारबाट हाम्रो सोच तथा निर्णय हचुवाको आधारमा छन् । त्यसैले पछि फिर्ता लिनुपर्ने अवस्था आउँछ । व्यापारीदेखि सरकारले तथ्यांक र अनुसन्धानमा आधारित भएर काम गर्नुपर्ने देखिन्छ ।

उदाहरणको लागि काठमाडौं महानगरपालिकाले पार्किङ बनाउन लागेको ५ वर्ष पुगे पनि बन्न नसकेको समाचार आएको छ । यति नै बेला ५ महिनामा भाटभटेनीले पार्किङ बनाएको खबर पनि आएको छ । यसमा सरकारसँग व्यापारीले सहकार्य गरेर, उनीहरुलाई जानकारी गराएर काम गर्नुपर्ने देखिन्छ ।

हामी व्यापारीहरु अहिले करमा कुनै परिवर्तन आएमा, बजेट बन्न लागेको अवस्थामा, मौद्रिक नीति आउन लागेमा वा कसैलाई कुनै समस्या पर्ने नीति आएमा मात्र सरकारसम्म पुग्छौं । हामी समस्या आउनुभन्दा अघि नै सचेत हुनुपर्यो । नीति आउनुअघि नै तथ्यांक दिएर अबको ५ वर्षमा अटोमोबाइल क्षेत्रमा यसरी जानुपर्यो भनेर सहकार्य गर्न सक्छौं ।

अर्को तर्फ सरकारको अस्थिर नीतिका कारण व्यापारीहरुले दीर्घकालीन निर्णय गर्न सकेका छैनन् । जस्तै ः विद्युतीय सवारीको विषयमा कर निर्धारणमा घटबढहरु भइरहेका छन् । एसेम्बलीङ उद्योगमा नीतिहरु फेरिइरहँदा आगामी दिनमा के होला भन्नेमा व्यवसायी स्पष्ट छैनन् । यदि हामीले त्यसको अनुसन्धानात्मक प्रस्तुति दिन सक्यौं भने आउने दिनमा यी समस्या हट्नेछन् ।

अटो क्षेत्रले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएको छ । यो क्षेत्रका वर्तमान समस्याहरुलाई हटाउने हो भने अर्थतन्त्र अझै समृद्ध हुन सक्छ । यसमा सरकारी–निजी क्षेत्र सहकार्य अपरिहार्य छ । त्यस्तो महसुस दुवै पक्षले गरेको महसुस गरेको छु । यसको नाडा भूमिका महत्वपूर्ण रहन्छ ।

व्यवसायीले जहिल्यै पनि कर घटाउन र यसले हामीलाई असर पार्यो भनेर भन्न जान्छौं । तर सरकारलाई त उसको राजस्व पनि हेर्नुपर्ने छ । त्यस्तो अवस्थामा एकतर्फबाट राजस्व कम हुँदा अर्को तर्फबाट प्राप्त हुने ‘ब्याकअप विथ प्लान’ प्रस्तुत गर्न हामी अग्रसर हुनुपर्छ । यो हाम्रो पनि दायित्व हो ।

अन्त्यमा, तपाईंलाई मतदाताले मत किन दिने ? 

म करिब २५ वर्षदेखि व्यवसायमा लागेको र १५ वर्षदेखि अटोमोबाइल व्यवसायमा रहेको व्यक्ति हुँ । म मात्र नभई हाम्रो १८ जनाको समूहलाई नै विभिन्न क्षेत्रको अनुभव छ । नाडाले देशव्यापी रुपमा जुनखालको परिवर्तन खोजेको छ, त्यो परिवर्तन यो समूहले ल्याउन सक्छ । संस्थागत स्वार्थमा सबैको विकासमा हाम्रो समूहको भूमिका हुनेछ । सञ्चालित भन्दा पनि स्वचालित टिम छ हाम्रो । त्यसैले ध्रुव थापाको यो समूहका सबै सदस्यलाई साथ सहयोग गरी विजयी गरिदिनु हुन आग्रह गर्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *