मेरो आरोहण सफलताको श्रेय नेपाललाई नै दिन चाहन्छु : मेस्नर (अन्तर्वार्ता)

सन १९४४ मा इटालीमा जन्मनु  भएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा रहेका छन् । विश्वका आठ हजार मिटर ९२६ हजार फीट माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका उनले नेपाली कला, संस्कृति र पर्यटनलाई धेरै माया गर्ने व्यक्तिहरु मध्ये एक हुन् ।

सतहत्तर वर्षीय मेस्नर अहिले पनि नेपालको पर्वतीय पदयात्रामा गहिरो अभिरुचि राख्ने गरेका छन् । नेपाललाई अति मन पराउने उनले अहिलेसम्म ५० पटक नेपालको भ्रमण गरिसकेका छन् ।

सन् १९७० देखि हिमाल आरोहण गर्न सुरु गरेका उनले पहिलो पटक सगरमाथाको एकल तथा विना अक्सिजन पिटर हाबेलरसँग मिलेर अर्को पटक आरोहण गरेका हुन् । उनले सन १९७० र १९७८ मा मा नङ्गा पर्वत, १९७२ मा मनास्लु, १९७५ र  १९८४ मा गाशेरब्रम प्रथम, १९७८ र १९८० मा सगरमाथा, १९७९ मा के टु र  १९८१ म शिशपाङ्माको सफल आरोहण गरेका थिए ।

त्यस्तै, १९८२ र १९८४ मा कञ्चनजङ्घा, १९८४ मा गाशेरब्रम दोस्रो र ब्रोड पीक, १९८३ मा चोयु, १९८५ मा अन्नपूर्ण, धौलागिरि तथा १९८६ मा मकालु र  ल्होत्सेको आरोहण गरेका थिए ।

अन्टार्कटिका र ग्रीनल्याण्ड पार गर्ने पहिलो नागरिक उनले गोबी मरुभूमि पनि एक्लै पार गरेका थिए । उनले आरोहण र अन्वेषणका क्रममा आफ्ना अनुभवबारेका ८० भन्दा बढी पुस्तक प्रकाशित गरेका छन् । श्रीमती डायने छुमाछेरसँग सन् २०२२ को नयाँ वर्ष मनाउने क्रममा नेपाल आएका उनी केही दिन नाम्चे बसेर काठमाडौँ फर्किएका थिए । प्रस्तुत छ रेनहोल्ड मेस्नरसँग राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता कृष्ण अधिकारीले गरेको सङ्क्षिप्त कुराकानी :

तपाईँलाई के कुराले नेपालको भ्रमण गर्न प्रेरित गर्छ ? 

जतिबेला नेपालका हिमाल आरोहण गर्ने लक्ष्य लिएर म नेपाल आएँ, त्यसबेलादेखि नै मलाई यहाँको प्राकृतिक सौन्दर्यसँगै नेपालीको व्यवहारले लोभ्यायो । पहिलोपटक सन् १९७८ मा सगरमाथाको आरोहण गरेपछि नेपालका अन्य हिमाल पनि आरोहण गर्ने चाहना ममा बढेर आयो । यहाँका हिमाल आरोहण गरेपछि नेपाली जनतालाई पनि बुझ्न पछि आएँ । नेपाललाई पर्यटन प्रवद्र्धन गराउन पाएकामा म आभारी छु । मेरो आरोहण सफलताको श्रेय नेपाललाई नै दिन चाहन्छु ।

नेपाली कला, संस्कृतिबाट म निकै प्रभावित छु । यहाँको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यबाट म निकै प्रभावित भएको छु । नेपाल त स्वर्गको टुक्रा नै हो, यहाँका बासिन्दा, हिमाल र प्राकृतिक सौन्दर्यको जति वर्णन गरे पनि सकिँदैन । नेपालीहरूको सरल व्यवहार र  हँसिलो अनुहारलाई बिर्सन सक्दिन ।  त्यही मोहले मलाई बर्सेनि नेपाल भ्रमण गराउन प्रेरित गर्ने गरेको छ । वर्षमा कम्तीमा एकपटक नेपाल नआई मेरो मनै मान्दैन ।

तपाईँ नेपालका हिमाल आरोहण गर्दा र अहिलेका अवस्थामा के फरक देख्नुहुन्छ ?

५० वर्षअघि मैले नेपालका विभिन्न हिमशृङ्खलाको आरोहण गर्दा र अहिलेका अवस्थामा धेरै परिवर्तन भएको मैले महसुस गरेको छु । त्यतिबेला हिमालका बारेमा आरोहीहरूलाई कुनै जानकारी थिएन । कुन हिमालको अवस्थिति कस्तो छ, कुन समयमा कुन रुटबाट कसरी आरोहण गर्ने भन्ने ज्ञान थिएन, के कस्ता सामग्री लैजानुपर्ने हो र कुन रुट प्रयोग गर्ने भन्ने जानकारी नभएको अवस्थामा आरोहण गर्नु निकै चुनौतीपूर्ण थियो । हामी आरोहीका साथ जाने शेर्पाहरूमा पनि आरोहणको अनुभव थिएन  तर अहिले आरोहणका बारेमा पर्याप्त जानकारी र सूचना पाउन सकिन्छ, शेर्पाहरूबाट पूर्ण सहयोग हुन्छ ।

नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव देखिन थालेकै हो ?

हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका अत्यन्त न्यून रहे पनि त्यसबाट सिर्जित जलवायु परिवर्तनको असरबाट बढी नै प्रभावित बनेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालको हिमालय क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । अमादब्लम, मनास्लुलगायत हिमालयहरूमा पहिलेको तुलनामा निकै कम हिउँ पर्ने गरेको छ ।

हिजो वर्षैभरि हिउँले ढाक्ने चुचुराहरू पनि अहिले काला पहाड बनेका छन् । बिस्तारै हिमाली क्षेत्रको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्न जाँदा हिमताल फुट्ने, हिमनदी पग्लिने र हिमालहरूमा हिउँ पर्ने क्रममा निकै ह्रास आएकाले हिमालय क्षेत्रको पर्यावरणमा निकै फेरबदल भएको छ । जलवायु परिवर्तनले मनसुनको ढाँचा र वायु प्रणालीले हिमालय आरोहणलाई थप जोखिम बनाएको छ । केही वर्षयता हिमाली भेगमा हिमपहिरो, हिमआँधीजस्ता विपद्हरूको क्रम बढ्दो छ ।

यस्ता घटना न्यूनीकरण गर्न के कुरामा ध्यान दिनुपर्ला ?

औद्योगीकीकरण, सवारी साधनको व्यापक प्रयोग, खनिज इन्धन र उपभोक्तावादका कारण सम्पूर्ण जलवायु प्रणाली सन्तुलनमा नरहेका कारण यस्ता चुनौती बढेका हुन् । हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनका प्रभावका विषयमा नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा आवाज उठाउनाका साथै आन्त्रिक रूपमा पनि केही कामहरू गर्नुपर्ने हुन्छ । व्यवस्थित शहरीकरण, स्वच्छ ऊर्जाको प्रयोग र जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ ।

नेपालमा पर्वतीय पर्यटनको सम्भावना कत्तिको देख्नुहुन्छ ?

नेपालमा पर्वतीय पर्यटनको प्रचूर सम्भावना रहेकाले यसको विकासका लागि रणनीतिक योजनासहितका कार्यक्रम तय हुनुपर्ने देखिन्छ । नेपाल ‘नेचर’, ‘कल्चर’ र ‘एडभेन्चर’ले भरिपूर्ण रहेकाले योजनाबद्ध र दिगो तवरबाट विकासमा ध्यान दिन सकेमा नेपालले पर्यटनबाट धेरै फाइदा लिन सक्छ ।

देशको ८० प्रतिशतभन्दा बढी भाग पहाड र उच्च हिमाली भेगले ढाकेको, यहीँ विश्वका आठ हजार मिटर माथिका १४ उच्च हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित अधिकांश रहेको र विश्वको सबैभन्दा लामो पर्वतमाला हिमालयको मुख्य भाग पनि रहेकाले पर्वतीय पर्यटनका लागि नेपाल विश्वकै अद्वितीय गन्तव्यका रूपमा परिचित छ । देशको समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक छ ।

नेपालको पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गराउन तपाईँको ठूलो योगदान  छ । आगामी दिनमा यसलाई अझ विस्तार गर्न यहाँले केही सोच्नुभएको छ कि ?

नेपालका आठ हजार मिटरभन्दा बढी उचाइका हिमालहरू आरोहण गर्दाका अनुभव र उहाँको पर्वतीय पर्यटनका बारेमा झण्डै ८० भन्दा बढी पुस्तक तथा जर्नलमा मेरा लेखहरू प्रकाशन भएका छन् । मैले निर्माण गरेका थुप्रै वृत्तचित्रले अन्तरराष्ट्रिय जगत्मा नेपाललाई चिनाउन मद्दत पुगेको नै छ ।

नेपालको सद्भावना दूतका रुपमा मैले आफ्नो जन्म देश इटालीलगायत युरोपका अन्य देश र विश्वका धेरै देशमा नेपालको पर्यटन र हिमालका बारेमा प्रवचन दिँदै आएको छु । मैले इटालीकै विभिन्न शहरमा नेपाली कला, संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरेको छु । अहिले म सोलुखुम्बुको नाम्चेमा कला सङ्ग्रहालय निर्माण गर्न लागिपरेको छु ।

विश्वकै उच्च स्थानमा रहने सङ्ग्रहालय आगामी वर्ष उद्घाटन गर्ने तयारी भएको छ । नेपालको पर्यटनसँग मेरो गहिरो सम्बन्ध रहेकाले आजीवन अन्तरराष्ट्रिय जगत्मा नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने नै मेरो सोचाइ छ ।

नेपाली पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकार, पर्यटन व्यवसायी र नागरिकका तर्फबाट गरिनुपर्ने केही मूलभूत सुझावहरू छन् कि ?

पर्यटकहरू औसत नभई विशिष्ट अनुभव लिनका लागि नेपाल घुम्न आएका हुन्छन् ।  पर्यटकलाई मन पर्ने ढङ्गबाट यहाँका ऐतिहासिक धरोहर, सांस्कृतिक–परम्परा, प्राकृतिक सौन्दर्य, आतिथ्य–सत्कार, साहसिक गतिविधि र खेल एवं नौला ठाउँ अवलोकनका अवसरहरू व्यवस्थित गर्न सक्नुपर्छ । नेपालका हिमशिखरहरू आरोहण गर्न आउने अधिकांश आरोहीहरू काठमाडौँ उत्रिएलगत्तै हिमालका आधार शिविरतर्फ लाग्ने र त्यहाँबाट काठमाडाँै हुँदै सिधै स्वदेश फर्किने गरेकाले तिनलाई यहाँको पदयात्रासँगै कला, संस्कृति र विविधताका बारेमा पनि अवगत गराउन सकिएमा नेपालको पर्यटन प्रवर्द्धनमा धेरै सहयोग पुग्ने छ ।

पछिल्लो समय विश्वका विकसित देशका नागरिकजस्तै नेपालीमा पनि मोबाइल फोनको बढ्दो प्रयोगले गर्दा विदेशी पाहुनासँग खुलेर कुरा गर्ने, अभिवादन गर्नेजस्ता  क्रियाकलाप क्रमशः घट्दै गएको देख्दा मलाई चिन्ता लागेको छ । यसबीचमा पर्यटकीय पूर्वाधारका क्षेत्रमा धेरै कामहरू भएका छन् तर पनि अझै धेरै ठाउँमा सुरक्षित र व्यवस्थित हवाइ उडान, पदयात्रा निर्माण, होटलको सुविधा, कला संस्कृतिको जगेर्ना र जैविक विविधताको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर