म्यानलाई देशभर फैलाउने र नयाँ अभ्यास लागू गर्ने मेरो योजना छ : मनीष झा (अन्तर्वार्ता)

मनीष झा राजनीति, सञ्चार, व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् । उनी फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसका संस्थापक एवं सीईओ पनि हुन् । तथ्य र तथ्यांकको क्षेत्रमा काम गर्दै आएको यो संस्था सन् २०१२ मा दर्ता भएको थियो । उनै झा हाल नेपाल व्यवस्थापन संघ (म्यान) को कार्यसमितिको सदस्यमा उम्मेदवार छन् ।

नेपालमा व्यवस्थापनको अभ्यास, सरकार र सरकारी संस्थाहरुलाई सुझाव दिने उद्देश्यले स्थापित संस्था हो म्यान । व्यवस्थापन क्षेत्रमा आएका नयाँ नीति कानुन र अभ्यासबारे तालिम आयोजना गर्ने, मोनिटरी पोलिसी र प्रि–बजेट छलफल गर्ने र व्यवस्थापनसम्बन्धी सामग्री प्रकाशन गर्दै आएको छ । म्यानको शनिबार हुने निर्वाचनको सन्दर्भमा झासँग पर्दाफासले गरेको कुराकानीः

नेपाल व्यवस्थापन संघ कस्तो संस्था हो ? यसका उद्देश्यहरु केके हुन् ?

नेपालमा ४१ वर्ष पहिले व्यवस्थापनको अभ्यास, सरकार र सरकारी संस्थाहरुलाई सुझाव दिने उद्देश्यले स्थापित संस्था हो, नेपाल व्यवस्थापन संघ । सुरुसुरुमा यसमा केवल सरकारी कर्मचारीहरु सदस्य हुन्थे, बिस्तारै बैंकिङ क्षेत्रका व्यक्ति पनि सदस्य हुन थाले ।
अहिले रहेका सदस्यमध्ये १३ प्रतिशत शिक्षा क्षेत्रका, २३ प्रतिशतका निजामती क्षेत्रका २५ प्रतिशत बैंकिङ क्षेत्रका र ३९ प्रतिशत कर्पोरेट क्षेत्रका छन् । व्यवस्थापन क्षेत्रमा आएका नयाँ नीति कानुन र अभ्यासबारे तालिम आयोजना गर्ने, मोनिटरी पोलिसी र प्रि–बजेट छलफल गर्ने र व्यवस्थापनसम्बन्धी सामग्री प्रकाशन गर्ने यसका प्रमुख कार्यहरु हुन् ।

संघको इतिहास र नेतृत्वबारे आम जनताले बुझ्नेगरी बताइदिनुस् न ?

नेपाल व्यवस्थापन संघ एउटा सरल संस्था हो । केही पुरानो सदस्य र व्यक्तिहरुले यसलाई सन्तानझैं माया गरेर हुर्काएका छन् । हामीले पनि त्यो लगाव र भावनाको कदर गर्न सक्नु पर्छ । आफ्नो स्वार्थको लागि प्रयोग गर्नुहुन्न । जित्नको लागि जबर्जस्ती गर्नुहुन्न । विसं. २०३७ मा नन्दलाल जोशीजी यसको संस्थापक अध्यक्ष हुन्, त्यसपछि अजित नारायण सिंह थापाले २०४२ सम्म नेतृत्व गर्नुभयो ।

मधुकर शमशेर राणा, रामेश्वर खनाल, विमल कोइराला, डा आरजु देउवा, पूर्व अर्थमन्त्री युवराज खतिवडा र हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले यो संघको नेतृत्व गरिसकेका छन् । हालसम्म १९ जनाको गर्व गर्न लायक नेतृत्व यो संस्थाले पाइसकेको छ । जस्तैः अहिलेका अध्यक्ष किरणकुमार श्रेष्ठ एक सफल नेतृत्वका उदाहरण हुन् ।

संघमा नेतृत्व तथा सहभागिता कस्तो छ ?

नेपालका धेरै जस्तो संस्थाहरुमा सदस्यता र सहभागिताको क्रममा एउटा सिन्डिकेटको अभ्यास हुने गरेको पाइन्छ र त्यसको प्रमुख कारण नै नेतृत्वको कन्जुसी र कमजोरी हो । उपेन्द्र यादवले आफ्नो दलमा यादवलाई मात्र विश्वास गर्नु, केपी ओलीलाई झापाली धेरै मन पर्नु, एफएनसीसीआईमा नेवार व्यापारी नै नेतृत्वमा आउन खोज्नु र कांग्रेसमा कोइराला नै ठीक भन्नु यो सबै नेतृत्वको कन्ज्युस्याइँ हो र अरुले सक्दैनन् भनेर अरुलाई प्रवेश नै नदिने परिपाटी हो ।

नेपाल व्यवस्थापन संघमा पनि त्यस्तै त्यस्तै अभ्यास थियो, निजामती र बैंकिङ बाहेकलाई कार्यसमितिमा प्रवेश नै गाह्रो । तर अब त्यो छैन । म एउटा सामान्य व्यवसाय गर्ने मान्छे, तर अब संघमा म जस्ता पनि कार्यसमितिमा अट्ने भएका छन् र कसैलाई वर्जित छैन ।

कार्यसमिति सदस्यको उम्मेदवार हुनुहुन्छ ? तपाईंका योजना तथा लक्ष्य केके छन् ?

नेपाल व्यवस्थापन संघ भनेर सुनेको लगभग २ दशक भयो र सदस्य भएको लगभग ५ वर्ष भयो । म यो सस्थासँग सम्बन्धितहरुलाई सधैं भन्ने गर्छु कि यो संघमा रियल टाइम म्यानेजमेन्ट अभ्यास गर्नेहरु हुनु पर्छ, रिटायर्डहरुको क्लब हुनुहुन्न । अब त्यो भएको छ । अवकाश पाउनु भएकाहरुले हामीलाई सिकाउने हो, सघाउने हो र हामीलाई अघि बढ्न प्रेरित गर्ने हो ।

विश्वमा व्यवस्थापनको अभ्यास कहाँ पुगिसक्यो, हामी अझै बिरालोको घाँटीमा घन्टी बाँधेर खुशी हुँदै छौं । नयाँ नीति र रणनीति केके आयो र त्यसको अभ्यास कसरी गर्ने र परिणाम के हुनेछ ? यो कुरा हरेक तहमा बहस होस्, व्यवस्थापन संघ केवल संघीय राजधानीमै सीमित नहोस् । पढिरहेका विद्यार्थीहरु पनि योसँग जोडियून् । यस्तै नयाँ अभ्यास हुनुपर्छ र म त्यो गर्न चाहन्छु ।

नेपाल व्यवस्थापन संघमा पहिले व्यक्तिगत तर्फबाट ११ र संस्थागत तर्फबाट ६ सदस्य निर्वाचित भएर कार्यसमिति बन्छ र त्यो कार्यसमितिले नेतृत्व चयन गर्छ । म त अहिले केवल कार्यसमितिको लागि उम्मेदवार हुँ । पहिले यो खुड्किलो पार होस् अनि अगाडिको योजना बनाउला । कार्यसमितिमा यो मेरो दोस्रो पटक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर