महानगरमा महाभीडन्त : ६ महानगरको गणितले देखाउँछ यी उम्मेदवारको सम्भावना

आसन्न स्थानीय तहको चुनावका लागि दलहरुबाट उम्मेदवारी मनोनयन भई प्रचारप्रसार समेत सुरु भइसकेको छ । देशैभरि थुप्रै दलहरुले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेकै उम्मेदवारबीच हुने देखिएको छ ।

पाँच दलीय गठबन्धनका कारण यसपटक एमालेका उम्मेदवारलाई विजय हासिल हुन गाह्रो देखिन्छ । तर, सत्ता गठबन्धनकै दल विशेषगरी कांग्रेसमा तीव्र असन्तुष्टि छ । विभिन्न पालिकामा आफूहरु बलियो हुँदाहुँदै भागबण्डामा नेकपा एस, माओवादी केन्द्रका उम्मेदवारलाई उठाइएको कांग्रेसी नेता कार्यकर्ता गुनासो देखिएको हो ।

त्यसैले सत्ता गठबन्धनबीच नै अन्तर्घात भएमा भने त्यसको लाभ एमालेलाई मिल्ने देखिन्छ । यस्तै, बलियो जनसंगठनका कारण एमालेलाई सहजै कमजोर आँक्न नमिल्ने पनि केही राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

देशभर चुनाव भए पनि विशेषगरी ६ महानगरपालिकाको प्रतिस्पर्धामा भने सबैको नजर रहनेछ । गत निर्वाचनमा एमालेले काठमाडौं, पोखराको मेयरमा जित हासिल गरेको थियो । कांग्रेसले ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगन्जमा जितेको थियो । यसपटक भने दलहरुको तालमेलले केही फरक नतिजा देखिने अनुमान गर्न सकिन्छ ।

काठमाडौं महानगर

स्थानीय तह निर्वाचन २०७४ मा काठमाडौंमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । तालमेलबाट मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका थिए भने उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्कीले बाजी मारेकी थिइन् । माओवादी केन्द्रका उम्मेदवार भने पाँचौं स्थानमा पुगेका थिए ।

मेयरमा विद्यासुन्दर शाक्य (एमाले) ले ६४ हजार ९१३, कांग्रेसका राजुराज जोशी (कांग्रेस) ले ४५ हजार २६९, रञ्जु दर्शना (विवेकशील नेपाल) ले २३ हजार ४३९ र किशोर थापा (साझा पार्टी) ले १८ हजार ४९६ मत पाएका थिए ।

उपमेयरमा हरिप्रभा खड्की (कांग्रेस) ले ४८ हजार ९५२, राजाराम श्रेष्ठ (राप्रपा) ले ३४ हजार ८५४ पाएका थिए । त्यतिबेला १ लाख ९७ हजार २२७ खसेकोमा ६ हजार १८३ मत बदर भएको थियो ।

यसपटक सत्ता गठबन्धन र एमालेबीच नै धेरै प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनबाट मेयरमा कांग्रेसकी सिर्जना सिंह, उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन् । एमालेबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनीता डंगोल छन् । राप्रपाबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र स्वतन्त्र उम्मेदवार बालेन शाह छन् ।

अघिल्लो चुनावमा जस्तै मुख्य दलका उम्मेदवारलाई यसपटक पनि स्वतन्त्र उम्मेदवार शाहले राम्रै चुनौती दिइरहेका छन् । तर, पनि यस क्षेत्रमा नेवार समुदायले समर्थन गर्ने उम्मेदवारलाई नै विजयी हासिल गर्ने निश्चित छ । कांग्रेस र एमाले दुवै दलका उम्मेदवार नेवार नै भएकाले कडा टक्कर देखिन्छ ।

ललितपुर महानगर

ललितपुरमा यसपटक पुरानै उम्मेदवारबीच भीडन्त हुने देखिएको छ । अघिल्लो स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गरेका कांग्रेसका चिरिबाबु महर्जन र एमालेका हरिकृष्ण व्यञ्जनकारबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको हो ।

त्यतिबेला महर्जन झिनो मतान्तरले मेयरमा विजयी भएका थिए । मेयमा महर्जन (कांग्रेस) ले २४ हजार ६४२, व्यञ्जनकार (एमाले) २४ हजार ३ सय १६, दिनेश महर्जन (माओवादी केन्द्र) ले १० हजार ६६१ मत ल्याएका थिए । उपमेयरमा सीता सत्याल (कांग्रेस) ले १९ हजार ८१९, शोभा शाक्य (साझा पार्टी) ले १४ हजार २४० र बाबुकाजी थापा (राप्रपा) ले १० हजार ५४७ मत पाएका थिए । त्यतिबेला एमाले र राप्रपाले गठबन्धन गरेका थिए ।

यसपटक ललितपुरमा गठबन्धनबाट महर्जनले टिकट पाएका छन् । माओवादी केन्द्र, नेकपा एस लगायतको समर्थनका कारण उनी विजयी हुने सम्भावना पनि बलियो छ । यसपटक मेयरका अन्य उम्मेदवारमा राप्रपाबाट अष्टबहादुर महर्जन, नेमकिपाबाट अशोक महर्जन र विवेकशील साझाबाट उज्ज्वलकृष्ण श्रेष्ठ उम्मेदवार छन् ।

भरतपुर महानगर

भरतपुर महानगरपालिकामा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । मतपत्र च्यात्ने र केही वडामा पुनः मतदान लगायतका विवादकाबीच माओवादीकी उम्मेदवार रेनु दाहाल मेयरमा विजयी भएकी थिइन् । उनले ४३ हजार १२७ मत पाएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए । उपमेयरमा कांग्रेसकी पार्वती साहले ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् । उनकी प्रतिद्वन्द्वी दिव्या शर्मा आचार्यले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन् ।

यसपटक पनि सत्ता गठबन्धनबाट दाहाल नै महानगरको मेयरको उम्मेदवार छिन् । तर, यसपटक कांग्रेसका नेता जगन्नाथ पौडेलले विद्रोह गर्दै उम्मेदवारी दिएका छन् । पौडेलले केन्द्रको निर्देशनविपरीत उम्मेदवारी दिएपछि उनी कांग्रेसबाट निष्कासनमा परिसकेका छन् । तर, उनलाई चितवनका कांग्रेस मतदाताको सहानुभूति देखिन्छ ।

कांग्रेसको मत पौडेललाई दाहाललाई घाटा र लाभ भने एमालेका उम्मेदवार विजय सुवेदीलाई हुने देखिन्छ । यसपटक एमाले र राप्रपाबीच भरतपुरमा तालमेल भएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी र राप्रपाकी हिमाला गुरूङबीच प्रतिस्पर्धा हुने भएको छ ।

पोखरा महानगर
यसअघिको निर्वाचनमा पोखरा महानगरको प्रमुखमा एमालेका मानबहादुर जिसी र उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ विजयी भएका थिए । जिसीले ६० हजार ११८ र गुरुङले ५६ हजार ४४४८ मत पाएका थिए । जिसीको प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका थिए । उपमेयरमा कांग्रेसकै सरस्वती गुरुङले १२ हजार ११० मत ल्याएकी थिइन् ।

यसपटक एमालेबाट कृष्ण थापा मेयरमा र मन्जुदेवी गुरूङ नै उपमेयरमा उम्मेदवार छन् । सत्ता गठबन्धनबाट भने मेयरमा नेकपा एसका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन् । अघिल्लो पटकको निर्वाचनमा एमालेले भारी मतान्तर विजयी हासिल गरेको थियो । त्यसैले यसपटक सत्ता गठबन्धन भए पनि एमालेलाई हराउनु चुनौतीपूर्ण देखिन्छ ।

वीरगन्ज महानगर

वीरगन्ज महानगरमा भने अघिल्लो निर्वाचनमा फरक दलमा भएकाहरुले पार्टी परिवर्तन गरी उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा संघीय समाजवादी पार्टीबाट मेयरमा जितेका विजय सरावगी जसपा परित्याग गरी एमालेबाट उम्मेदवारी दिएका छन् ।

यस्तै, गत निर्वाचनमा राजपाका उम्मेदवार रहेका राजेशमान सिंहले भने लोसपा परित्याग गरी जसपाबाट उम्मेदवारी दिएका छन् । उनी गठबन्धनका उम्मेदवार हुन् ।

अघिल्लो निर्वाचनमा सरावगीले १९ हजार ३९३ मत ल्याई विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १९७ पाएका थिए । उपमेयरमा विजयी कांग्रेसकी शान्ति कार्कीले १९ हजार ६०७ मत पाएकी थिइन् । राजपा तेस्रो स्थानमा थियो ।

अहिले उपमेयरमा कांग्रेसका इम्तियाज आलम, लोसपाका पुरूषोत्तम झा प्रतिस्पर्धी छन् । एमाले र लोसपाले यसपटक वीरगन्जमा तालमेल गरेका छन्, त्यसकारण गठबन्धनका उम्मेदवारलाई सहजै जित हासिल गर्न गाह्रो देखिन्छ ।

विराटनगर महानगर

अघिल्लो निर्वाचनमा विराटनगरको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ र इन्दिरा कार्कीले २० हजार १४६ मत पाएका थिए

मेयरका निटकतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए । उपमेयरमा माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत ल्याएका थिए ।

गत निर्वाचनमा बलियो देखिएका कांग्रेस र जसपालगायत सत्ता गठबन्धन दल नै यसपटक मिलेकाले एमालेलाई चुनौती देखिन्छ । यसपटक गठबन्धनबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसापका अमरेन्द्र यादव उम्मेदवार छन् । एमालेबाट भने मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *