उपमहानगरमा कडा प्रतिस्पर्धा : कुन दलका उम्मेदवारको छ सम्भावना ?

सत्ताधारी गठबन्धनमा सहभागी दलहरूबीच आसन्न स्थानीय तहको निर्वाचनका निम्ति उपमहानगरमा प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको भागबन्डामा सहमति भएको छ ।

सहमतिअनुसार नेपाली कांग्रेसले सात वटा उपमहानगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको छ । माओवादी केन्द्रले दुई र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक–एक उपमहानगरमा प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

सबै उपमहानगरमा गठबन्धन र एमालेकै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लो निर्वाचनमा केही पालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भए पनि एमालेका उम्मेदवारले विजय हासिल गरेको देखिन्छ ।

धनगढी
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका नृप वड मेयरमा र उपमेयरमा कांग्रेसकै सुशीला मिश्र भट्ट विजयी भएका थिए ।

वडले १४ हजार ३२४ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाएका थिए । माओवादी केन्द्रका राम समझ रानाले १० हजार २ सय र एमालेका दुर्गा जोशीले १० हजार २ सय मत पाएका थिए ।

उपमहानगरमा सत्ता गठबन्धनबाट धनगढीमा नृप वड (मेयर, कांग्रेस), शान्ति अधिकारी (उपमेयर, माओवादी केन्द्र) उम्मेदवार छन् । एमालेबाट भने रणबहादुर चन्द (मेयर) र कन्दकला रानाथारू  (उपमेयर) छन् । स्वतन्त्र उम्मेदवार गोपाल हमालले पनि मेयरमा उम्मेदवारी दिएका छन् । यसपटक पनि कांग्रेसका वडलाई अन्य दलका भन्दा स्वतन्त्र उम्मेदवार हमालको नै चुनौती देखिएको छ ।

नेपालगन्ज

नेपालगन्ज उपमहानगरमा गत स्थानीय तहको निर्वाचनमा राप्रपाका धवलशमशेर राणाले जित हासिल गरेका थिए । उनले १२ हजार ५१५ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका सुरेशकुमार कनोडियाले ८ हजार ७३० र माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८ मत ल्याएका थिए । एमालेका समसुद्दिन सिद्दिकीले ६ हजार ९६५ मत ल्याएका थिए ।

उपमेयरमा भने कांग्रेसकी उमा थापा मगरले १० हजार ७३१ मत ल्याएर विजयी भएकी थिइन् । उपमेयर पदको प्रतिस्पर्धामा राप्रपा दोस्रो, एमाले तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा थिए ।

यसपटक नेपालगन्जमा गठबन्धनबाट प्रशान्त बिष्ट (मेयर, कांग्रेस) र कमरूद्दिन राई (उपमेयर, जनता समाजवादी) उम्मेदवार छन् । एमालेबाट पशुपति दयाल मिश्र (मेयर), शान्ति ढकाल (उपमेयर) उम्मेदवार छन् । राप्रपाबाट हालै माओवादी केन्द्र परित्याग गरेर राप्रपा प्रवेश गरेका नन्दलाल वैश्य उम्मेदवार छन् । यसपटक राप्रपाका बलिया उम्मेदवार राणा पछि हटेको र तालमेलका कारण गठबन्धनका उम्मेदवारको पल्लाभारी देखिन्छ ।

तुलसीपुर

गत स्थानीय तहको निर्वाचमा तुलसीपुर उपमहानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डे २२ हजार ८५७ मत पाएर विजयी भएका थिए । उपमेयरमा पनि एमालेकी माया आचार्य २१ हजार ३७ मत प्राप्त गर्दै विजयी भएकी थिइन् ।

मेयरका प्रत्यासी कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९०३, माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६९३ मत पाएका थिए ।

एमालेको गढ मानिने तुलसीपुरमा यसपटक पनि तुलसीपुरमा गठबन्धनबाट गेहेन्द्र गिरी (मेयर, कांग्रेस) उम्मेदवार छन् । जोगबहादुर राना मगर (उपमेयर, एकीकृत समाजवादी) उम्मेदवार छन् । एमालेबाट भने टीकाराम खड्का (मेयर), स्यानी चौधरी (उपमेयर) उम्मेदवार छन् । खड्का एमालेका बलिया उम्मेदवार भएकाले पनि यसपटक पनि गिरीलाई चुनौती नै देखिन्छ ।

घोराही

घोराही देशकै ठूलो उपमहानगर हो । यो उपमहानगरमा गत स्थानीय तहको निर्वाचनमा एमालेका नरुलाल चौधरी मेयरमा विजयी भएका थिए ।
चौधरीले २२ हजार ३० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी भूपबहादुर डाँगीले १७ हजार ४८४ मत पाएका थिए । माओवादी जीवन गौतमले १२ हजार ८२ मत पाएका थिए । उपमेयरमा एमालेकै सीता न्यौपानेले २० हजार ७९२ मत ल्याएकी थिइन् ।

यसपटक एमालेबाट चौधरी नै मेयरका उम्मेदवार छन् । उपमेयरमा हुमा डीसी छिन् । उपमेयरमा भने गठबन्धनबाट हेमराज शर्मा (मेयर, माओवादी केन्द्र), भूपबहादुर डाँगी (उपमेयर, कांग्रेस) उम्मेदवार छन् । एमालेले राम्रो मत ल्याएर जितेको स्थान भएकाले गठबन्धनलाई विजय हासिल गर्न चुनौती देखिन्छ ।

बुटवल

अघिल्लो चुनावमा बुटवल उपमहानगरमा एमाले विजयी भएको थियो । उपमहानगरको मेयरमा एमालेका शिवराज सुवेदी २३ हजार २ सय ४९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खिलराज पाण्डेले २० हजार ८ सय ५१ मत ल्याएका थिए । उपमेयरमा समेत एमालेकै गोमादेवी आचार्य २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन् । बुटवल उपमहानगरमा कांग्रेस र माओवादीले गठबन्धन गरे पनि भारी मत अन्तरले गठबन्धन पराजित भएको थियो ।

बुटवलमा मेयर, उपमेयर सहित एमालेले ९७ पदमध्ये ८९ पद आफ्नो पक्षमा पारेको थियो । १९ वडा रहेको बुटवलका १६ वडा अध्यक्षसहित प्यानलै जितेको थियो । यसपटक बुटवलमा खेलराज पाण्डे (मेयर, कांग्रेस) र चीनबहादुर गुरुङ (उपमेयर, एकीकृत समाजवादी) उम्मेदवार छन् । एमालेबाट बाबुराम भट्टराई (मेयर) र  सावित्रा अर्याल (उपमेयर) उम्मेदवार छन् । यहाँ गठबन्धन र एमाले उम्मेदवारबीच कडा टक्कर हुने देखिन्छ ।

हेटौंडा

गत निर्वाचनमा हेटौंडामा पनि एमालेका उम्मेदवारले कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवारलाई पराजित गरेका थिए । त्यतिबेला एमालेका हरिबहादुर महले २३ हजार १२४ मत पाएर मेयर बने । उनका प्रतिद्वन्द्वी कांग्रेसका आनन्द पराजुलीले २२ हजार ५०९ मत पाएका थिए । उपमेयरमा मीना लामाले पनि  २३ हजार ४३७ मत ल्याएर जित हासिल गरेकी थिइन् ।

यसपटक एमालेबाट नेकपा एकीकृत समाजवादी प्रवेश गरेकी मीनाकुमारी लामा गठबन्धनबाट मेयरको उम्मेदवार छिन् । उपमेयरमा कांग्रेसका राजेश बानियाँ दाबेदार छन् । एमालेबाट अनन्तप्रसाद पौडेल (मेयर) र सुमित्रा काफ्ले (उपमेयर) उम्मेदवार छन् । यसपटक एमालेलाई गठबन्धनलाई हराउन चुनौती देखिन्छ ।

जितपुर–सिमरा

गत निर्वाचनमा बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका कृष्ण पौडेल विजयी भएका थिए । १४ हजार ८६५ मत ल्याई विजयी भएका उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णव्रत सिंहले १२ हजार ०४३ मत पाएका थिए ।

उपमेयरमा एमालेकै सरस्वती चौधरीले १४ हजार ४५९ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसकी निरु रायमाझीले १२ हजार ४६५ मत ल्याएकी थिइन् ।
यसपटक भने गठबन्धनबाट राजन पौडेल (मेयर, माओवादी केन्द्र) र मेघा शाही (उपमेयर, कांग्रेस) उम्मेदवार छन् । एमालेबाट सरस्वती चौधरी (मेयर) र भोला अधिकारी (उपमेयर) उम्मेदवार छन् । कांग्रेस–माओवादी लगायत दलको गठबन्धनले उनीहरुको जित सहज देखिन्छ ।

कलैया

अघिल्लो पटक तेस्रो चरणमा भएको स्थानीय तहका निर्वाचनअन्तर्गत कलैया उपमहानगरपालिका मेयरमा कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका थिए

कांग्रेसका मेयरका उम्मेदवार यादवले १० हजार ९०३ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद साहले १० हजार ७१६ मत पाएका थिए ।
त्यसैगरी उपप्रमुखमा कांग्रेसकै रहिना खातुन १० हजार ५३८ मत र एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत पाएका थिए । यसपटक पनि कलैयामा राजेश राय यादव नै मेयरका उम्मेदवार छन् । उपमेयरमा जसपाका प्रमोद गुप्ता उम्मेदवार छन् । एमालेबाट पनि मेयरमा साह र उपेयरमा रोशन प्रविन उम्मेदवार छन् । यसपटक गठबन्धनका उम्मेदवारलाई झनै सहज हुने देखिन्छ ।

जनकपुरधाम

अघिल्लो चुनावमा जनकपुर उपमहानगरमा राजपाका उम्मेदवार लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४, एमालेका उम्मेदवारले ४ हजार ८६५ मत पाएका थिए । उपमेयरमा पनि राजपाकै रीता झा १७ हजार १४७ मत पाएकी थिइन् ।

साह अहिले जसपामा प्रवेश गरेर गठबन्धनबाट मेयरका उम्मेदवार बनेका छन् । त्यतिबेला पहिलो र दोस्रो भएका दल र अन्य दलको पनि गठबन्धन भएकाले साहलाई यसपटक झनै सहज भएको छ । गठबन्धनबाट उपमेयरमा कांग्रेसका किशोरी साह उम्मेदवार छन् । एमालेबाट शिवशंकर साह (मेयर) र रूना झा (उपमेयर) उम्मेदवार छन् ।

इटहरी

इटहरी उपमहानगरमा गत चुनावमा एमालेका द्वारिकलाल चौधरी मेयर र उपमेयरमा लक्ष्मी गौतम विजयी भएका थिए । चौधरीले २२ हजार ६८९ र गौतमले २१ हजार ८४२ मत ल्याएका थिए ।

चौधरीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ र गौतमकी प्रतिद्वन्द्वी कांग्रेसकी बिमला ढकालले १८ हजार ३५२ मत ल्याएकी थिइन् ।

यसपटक भने इटहरीमा गठबन्धनबाट हेमकर्ण पौडेल (मेयर, कांग्रेस) र केशवकुमार बिष्ट (उपमेयर, एकीकृत समाजवादी) उम्मेदवार छन् । एमालेबाट याम सुब्बा (मेयर), संगीता चौधरी (उपमेयर) उम्मेदवार छन् ।

धरान
गत निर्वाचनमा सुनसरीको धरान उपमहानगरको मेयरमा एमालेका तारा सुब्बा निर्वाचित भएका थिए । तर उनको निधनपछि भएको निर्वाचनमा कांग्रेसका तिलक राई विजयी भएका थिए ।

सुब्बाले राईलाई ४ हजार बढी मत अन्तरले पराजित गरेका थिए । पुनः निर्वाचनमा भने राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले हराएका थिए ।

यसपटक धरानमा किशोर राई (मेयर, कांग्रेस) र अइन्द्र बिक्रमा बेघा (उपमेयर, माओवादी केन्द्र) उम्मेदवार छन् । एमालेबाट मञ्जु भण्डारी सुवेदी (मेयर) र  पदम इस्वो (उपमेयर) उम्मेदवार छन् । भण्डारी यसअघिको निर्वाचनमा उपमेयर विजयी भएकी थिइन् । धरानमा गठबन्धन र एमालेबीच कडा टक्कर देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर