प्रदेश र संघीय चुनावको दिशा मोड्ने काठमाडौं, ललितपुर र भक्तपुरमा कुन दलले जमाउला पकड ?

देशकै राजधानी काठमाडौं उपत्यकामा स्थानीय तहको निर्वाचनमार्फत कुन दलका जनप्रतिनिधि आउलान् भन्ने सर्वाधिक चासोको विषय छ । यहाँका पालिकामा जित्ने दलले प्रदेश र संघीय चुनाव पनि जित्ने आधार बलियो हुने भएकाले पनि यी पालिकाहरुमा आफ्नो पकड जमाउन दलहरु तीव्र प्रतिस्पर्धामा छन् ।

काठमाडौं उपत्यकामा कुल २१ पालिका छन् । तीमध्ये १२ गाउँपालिकामा पुरानै जनप्रतिनिधि प्रतिस्पर्धी छन् । स्थानीय तह निर्वाचन २०७४ भन्दा अहिले अवस्था केही फरक छ । पाँच दलीय सत्ता गठबन्धनसँग एमालेले एक्लै प्रतिस्पर्धा गरिरहेको छ । यद्यपि, सबै ठाउँमा गठबन्धन भने हुन सकेको छैन ।

अघिल्लो निर्वाचनमा काठमाडौंमा महानगर र नगरपालिकासहित ७ ठाउँमा एमालेले जितेको थियो । ललितपुरमा एक नगरपालिका र एक पालिकामा, भक्तपुरमा तीन नगरपालिकामा एमाले विजयी भएको थियो ।

कांग्रेसले काठमाडौंमा चार पालिका, ललितपुरमा महानगरसहित ३ पालिकामा जित हासिल गरेको थियो । माओवादी केन्द्रले ललितपुरको एक गाउँपालिका र नेमकिपाले भक्तपुर नगरपालिकामा जित प्राप्त गरेको थियो ।

काठमाडौं महानगर

स्थानीय तह निर्वाचन २०७४ मा काठमाडौंमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । तालमेलबाट मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका थिए भने उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्कीले बाजी मारेकी थिइन् । माओवादी केन्द्रका उम्मेदवार भने पाँचौं स्थानमा पुगेका थिए ।

मेयरमा विद्यासुन्दर शाक्य (एमाले) ले ६४ हजार ९१३, कांग्रेसका राजुराज जोशी (कांग्रेस) ले ४५ हजार २६९, रञ्जु दर्शना (विवेकशील नेपाल) ले २३ हजार ४३९ र किशोर थापा (साझा पार्टी) ले १८ हजार ४९६ मत पाएका थिए ।

उपमेयरमा हरिप्रभा खड्की (कांग्रेस) ले ४८ हजार ९५२, राजाराम श्रेष्ठ (राप्रपा) ले ३४ हजार ८५४ पाएका थिए । त्यतिबेला १ लाख ९७ हजार २२७ खसेकोमा ६ हजार १८३ मत बदर भएको थियो ।

यसपटक सत्ता गठबन्धन र एमालेबीच नै धेरै प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनबाट मेयरमा कांग्रेसकी सिर्जना सिंह, उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन् । एमालेबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनीता डंगोल छन् । राप्रपाबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र स्वतन्त्र उम्मेदवार बालेन शाह छन् ।

अघिल्लो चुनावमा जस्तै मुख्य दलका उम्मेदवारलाई यसपटक पनि स्वतन्त्र उम्मेदवार शाहले राम्रै चुनौती दिइरहेका छन् । तर, पनि यस क्षेत्रमा नेवार समुदायले समर्थन गर्ने उम्मेदवारलाई नै विजयी हासिल गर्ने निश्चित छ । कांग्रेस र एमाले दुवै दलका उम्मेदवार नेवार नै भएकाले कडा टक्कर देखिन्छ ।

दक्षिणकाली

काठमाडौं दक्षिणकाली नगरपालिकामा गएको चुनावमा कांग्रेसका उम्मेदवार मोहन बस्नेत ४ हजार ६९८ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शशि शर्मा अर्यालले ४ हजार २६८ र माओवादी केन्द्रका उर्गेन लामाले २ हजार ४८१ मत प्राप्त गरेका थिए ।

उपमेयरमा कांग्रेसकी बसन्ती तामाङ ४ हजार ७४९ मतसहित विजयी भएका थिइन् । यसपटक एमालेबाट श्रीराम आचार्य मेयरका उम्मेदवार छन् भने कांग्रेसबाट यसअघिका मेयर बस्नेत नै उम्मेदवार छन् । उपमेयरमा एमालेकी इन्दिरा न्यौपाने र कांग्रेसकी वसन्ती तामाङ उम्मेदवार छन् ।

कीर्तिपुर

कीर्तिपुरमा यसअघि एमालेका रमेश महर्जन ७ हजार ३६० मत प्राप्त गरी विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजकुमार नकर्मीले ६ हजार ६१६ मत प्राप्त गरेका थिए ।

उपमेयरमा पनि एमालेकै सरस्वती खड्का ७ हजार ६१४ मतका साथ विजयी भएकी थिइन् । उनको प्रतिद्वन्द्वी कांग्रेसकी विमला बिष्टले ५ हजार ११३ मत प्राप्त गरेकी थिइन् ।

यसपटक एमालेबाट केशरत्न बज्राचार्य, कांग्रेसबाट राजकुमार नकर्मी, माओवादी केन्द्रबाट शिवशरण महर्जन मेयर पदका उम्मेदवार छन् । उपमेयरमा एमालेकी विन्दु महर्जन, कांग्रेसकी शुभलक्ष्मी शाक्य, माओवादी केन्द्रकी सुशीला बस्नेत उम्मेदवार छन् ।

चन्द्रागिरि

चन्द्रागिरि नगरपालिकाको प्रमुखमा यसअघि कांग्रेसका उम्मेदवार घनश्याम गिरीले १३ हजार ३०९ मत प्राप्त गरी विजय हासिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रह्लाद बहादुर कार्कीले १० हजार ४२१ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका तर्फबाट चन्द्रागिरि नगरको मेयरपदमा उम्मेदवारी दिएका श्रीकृष्ण श्रेष्ठले ३ हजार ७ सय ८७ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी उम्मेदवार लिशा नकर्मीले विजय प्राप्त गरिन् ।

यस पटक कांग्रेसबाट प्रमुखमा घनश्याम गिरी, एमालेबाट उत्तमबहादुर राउत, उपप्रमुखमा एमालेकी वसन्ती श्रेष्ठ र जसपाबाट मैया महर्जन उम्मेदवार छन् ।

नागार्जुन

नागार्जुन नगरपालिकामा अघिल्लो निर्वाचनमा कांग्रेसबाट अहिलेकै उम्मेदवार मोहन बस्नेत ६ हजार ९६१ मतसहित विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका कृष्णहरि खत्रीले ६ हजार ७२६ मत ल्याएका थिए । राप्रपाका उद्धव थापा २ हजार ४९४ मतसहित तेस्रो भएका थिए । माओवादी केन्द्रका कुमार तामाङ एक हजार ६१९ मतसहित चौथो स्थानमा रहेका थिए ।

सत्ता गठबन्धनका प्रमुख दलहरूबीचमा तालमेल नहुँदा कांग्रेसबाट मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का उम्मेदवार छन् । नेकपा एसले देवकी भट्टराईलाई मेयर र कृष्णहरि खत्रीलाई उपमेयर उठाएको छ । माओवादी केन्द्रबाट मेयरमा सरस्वती सुनार र उपमेयरमा प्रताप दानी उम्मेदवार छन् । एमालेले नन्दनहरि गौतमलाई मेयर र सुशीला अधिकारीलाई उपमेयरको उम्मेदवार बनाएको छ । सुशीला अहिलेकै उपमेयर हुन् ।

कागेश्वरी मनहरा

अघिल्लो निर्वाचनमा कागेश्वरी मनहरा नगरपालिकामा एमालेका वर्तमान उम्मेदवार कृष्णहरि थापा ८ हजार ९६९ मतसहित विजयी भएका थिए । उनलाई कांग्रेसका अहिलेकै उम्मेदवार कार्कीले ८ हजार ४८७ मतसहित टक्कर दिँदा माओवादी केन्द्रका उम्मेदवार महेश्वर फुयाँलले २ हजार ५६७ मत पाएका थिए ।

यसपटक यहाँ कांग्रेस र माओवादी केन्द्रबीचमात्रै तालमेल भएको छ । मेयरमा कांग्रेसका उपेन्द्र कार्की र उपमेयरमा माओवादी केन्द्रका भोला चापागाईँ उम्मेदवार छन् ।

नेकपा एसबाट मेयरमा कृष्णहरि थापा र उपमेयरमा सरस्वती नेपाल प्रतिस्पर्धामा छन् । एमालेले मेयरमा रामशरण ढुंगाना र  उपमेयरमा शान्ता थापा उम्मेदवार छन् ।

तारकेश्वर

तारकेश्वर नगरपालिकामा यसअघि एमालेका अहिलेकै उम्मेदवार रामेश्वर बोहरा ९ हजार ३२६ मतसहित विजयी भएका थिए । कांग्रेसका श्रीराम थापा ७ हजार ७५७ मत ल्याएर दोस्रो भएका थिए । माओवादी केन्द्रका अहिले उपमेयर उम्मेदवार महर्जनले ३ हजार २२१ मत पाएका थिए ।

यसपटक नेकपा एस र माओवादी केन्द्रबीच तालमेल भएको छ । मेयरमा नेकपा एसका लवकुमार बस्नेत र उपमेयरमा माओवादी केन्द्रका धनलाल महर्जन उम्मेदवार छन् । कांग्रेसबाट मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सृजना बुर्लाकोटी उम्मेदवार छन् । एमालेले बोहरालाई मेयर र भवानी डोटेल धिताललाई उपमेयरको उम्मेदवार बनाएको छ ।

टोखा

टोखा नगरपालिकामा अघिल्लो निर्वाचनमा एमालेका अहिलेका उम्मेदवार प्रकाश अधिकारी ८ हजार ८९५ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका हरिहर अधिकारीले ७ हजार ५१४ मतसहित दोस्रो हुँदा माओवादी केन्द्रकी कल्पना शर्माले २ हजार ३९२ मत ल्याएर तेस्रो भएकी थिइन् ।

यहाँ सत्तारूढ दलहरूबीचमा तालमेल हुन नसकेपछि एक्ला एक्लै चुनावमा गएका छन् । कांग्रेसबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङ उम्मेदवार छन् । नेकपा एसले कविताकुमार गौतमलाई मेयर र उपमेयरमा जोगप्रसाद नेपाललाई खडा गरेको छ ।

एमालेबाट यसअघिकै अधिकारी मेयरमा र ज्ञानमाया डंगोल उपमेयरका उम्मेदवार छन् । माओवादी केन्द्रले मेयरमा शेखर श्रेष्ठलाई र उपमेयरमा यमुना पुडासैनी अधिकारीलाई उम्मेदवार बनाएको छ ।

बुढानीलकण्ठ

अघिल्लो चुनावमा बूढानीलकण्ठमा एमालेका उद्धवप्रसाद खरेल १३ हजार २४६ मतसहित विजयी भएका थिए । कांग्रेसका राजु श्रेष्ठ ८ हजार ९२७ मतसहित दोस्रो हुँदा माओवादी केन्द्रका रविन अधिकारीले ३ हजार ७९० मत पाएका थिए ।

यसपटक सत्तारूढ दलहरूबीच सहमति नजुटेपछि सबैका आआफ्नै उम्मेदवार छन् । कांग्रेसबाट मेयरमा विनोद चालिसे र उपमेयरमा रमिला वाग्ले उम्मेदवार छन् । नेकपा एसले मेयरमा बालकृष्ण श्रेष्ठ र उपमेयरमा प्रमीला सापकोटालाई खडा गरेको छ । माओवादी केन्द्रबाट डम्बरप्रसाद अधिकारी मेयर र कमला गौतम उपमेयर उम्मेदवार छन् । एमालेबाट मिठाराम अधिकारी मेयर र अनिता लामा उपमेयर उम्मेदवार छन् ।

गोकर्णेश्वर

अघिल्लो निर्वाचनमा गोकर्णेश्वर नगरपालिकामा कांग्रेसका सन्तोष चालिसे ९ हजार ९ मतसहित विजयी हुँदा एमालेका पुण्यप्रसाद चौलागाईं ७ हजार ५९५ मतसहित दोस्रो भएका थिए । माओवादी केन्द्रका तेजराज नेपालले २ हजार २६ मत पाएका थिए ।

अहिले माओवादी केन्द्र र नेकपा एसले तालमेल गरेका छन् । मेयरमा नेकपा एसका गोपालप्रसाद बराल र उपमेयरमा माओवादी केन्द्रका पेमाछिरि शेर्पा उम्मेदवार छन् ।

कांग्रेसले मेयरमा दीपककुमार रिसाल र उपमेयरमा शान्ति नेपाललाई उठाएको छ । एमालेबाट मेयरमा उद्धव विष्ट र उपमेयरमा सान्नानी लामा उम्मेदवार छन् ।

शंखरापुर

गत स्थानीय तहको चुनावमा शंखरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठ ४ हजार ८६९ मत ल्याएर मेयर विजयी भएका थिए । कांग्रेसका शंकर तिवारी २ हजार ९४७ मतसहित दोस्रो भएका थिए । माओवादी केन्द्रका कृष्णराज सुवेदीले २ हजार ४३६ मत पाएका थिए ।

यसपटक भने यहाँ कांग्रेस र नेकपा एसबीच गठबन्धन भएको छ । नेकपा एसबाट लक्ष्मीप्रसाद श्रेष्ठ मेयर र कांग्रेसकी समिता श्रेष्ठ उपमेयर उम्मेदवार छन् । माओवादी केन्द्रका मेयरमा मधु केसी र उपमेयरमा चण्डिका चौलागाईं छन् । एमालेबाट मेयरमा कृष्णलाल बजगाईँ र उपमेयरमा लक्ष्मी केसी उम्मेदवार छन् ।

ललितपुर महानगर

ललितपुरमा यसपटक पुरानै उम्मेदवारबीच भीडन्त हुने देखिएको छ । अघिल्लो स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गरेका कांग्रेसका चिरिबाबु महर्जन र एमालेका हरिकृष्ण व्यञ्जनकारबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको हो ।

त्यतिबेला महर्जन झिनो मतान्तरले मेयरमा विजयी भएका थिए । मेयमा महर्जन (कांग्रेस) ले २४ हजार ६४२, व्यञ्जनकार (एमाले) २४ हजार ३ सय १६, दिनेश महर्जन (माओवादी केन्द्र) ले १० हजार ६६१ मत ल्याएका थिए । उपमेयरमा सीता सत्याल (कांग्रेस) ले १९ हजार ८१९, शोभा शाक्य (साझा पार्टी) ले १४ हजार २४० र बाबुकाजी थापा (राप्रपा) ले १० हजार ५४७ मत पाएका थिए । त्यतिबेला एमाले र राप्रपाले गठबन्धन गरेका थिए ।

यसपटक ललितपुरमा गठबन्धनबाट महर्जनले टिकट पाएका छन् । माओवादी केन्द्र, नेकपा एस लगायतको समर्थनका कारण उनी विजयी हुने सम्भावना पनि बलियो छ । यसपटक मेयरका अन्य उम्मेदवारमा राप्रपाबाट अष्टबहादुर महर्जन, नेमकिपाबाट अशोक महर्जन र विवेकशील साझाबाट उज्ज्वलकृष्ण श्रेष्ठ उम्मेदवार छन् ।

ललितपुरका पालिका

गत चुनावमा कांग्रेसले जितेको गोदावरी नगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका गजेन्द्र महर्जन, नेकपा (एमाले) का गम्भीरबहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजकुमार महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसबाट मुना अधिकारी, नेकपा (एमाले) बाट रमी प्रधानाङ्ग, नेकपा (एकीकृत समाजवादी) बाट श्यामकृष्ण सिलवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जिता श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेको जितेको महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेबाट हरिगोविन्द श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट शिव कट्टेल, नेकपा (एकीकृत समाजवादी) बाट नकुल थापाले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन, नेकपा एमालेबाट वीना सुवेदी केसीले उम्मेदवारी दिएका छन् ।

कांग्रेसले जितेको वाग्मती गाउँपालिका अध्यक्षमा कांग्रेसबाट वीरबहादुर लोप्चन, नेकपा (एमाले) बाट नमराज सञ्जेल, नेकपा (एकीकृत समाजवादी) बाट केशवप्रसाद बजगाइँले उम्मेदवारी दिएका छन् । गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) बाट नमूना दोङ र नेकपा (माओवादी केन्द्र) बाट भक्तकुमारी दर्लामीले उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रले गत चुनावमा जितेको कोञ्ज्योस्योम गाउँपालिकामा अध्यक्षमा एमालेबाट कृष्णमान लामा, माओवादी केन्द्रबाट गोपीलाल सिङ्तानले उम्मेदवारी दिएका छन् । गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट राजनप्रसाद घिमिरे, नेकपा (एमाले) बाट रणिता तामाङले उम्मेदवारी दिएका छन् ।

अघिल्लो चुनावमा एमालेले जितेको महांकाल गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट गणेश केसी, नेकपा (एमाले) बाट कमला तामाङ, नेकपा (एकीकृत समाजवादी) बाट राजनप्रसाद बञ्जाराले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, उपप्रमुखमा नेकपा (एमाले) बाट पुरुषोतम हुमागाइँ, नेकपा (माओवादी केन्द्र) बाट डोल्मा लामा र नेकपा (एकीकृत समाजवादी) बाट रोजिना दुलालले उम्मेदवारी दर्ता गराएका छन् ।

भक्तपुरका पालिका

भक्तपुरमा एमालेबाट सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई, मध्यपुरथिमि नगरप्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा उत्तरा नेपाल, चाँगुनारायण नगरपालिका प्रमुखमा विना बास्तोला र उपप्रमुखमा रमेश बुढाथोकी, भक्तपुर नगरपालिकाको प्रमुखमा रवीन्द्र लाछिमस्यु र उपप्रमुखमा रञ्जना खर्बुजाले मनोनयन दर्ता गराएका छन्।

सूर्यविनायकका थापा, मध्यपुरका श्रेष्ठले यस पटक पनि प्रमुखमा दोहो¥याएर उम्मेदवारी दिएका हुन् भने चाँगुनारायणमा उपप्रमुख बास्तोलाले प्रमुखमा उम्मेदवारी दिएकी छन् ।

गठबन्धन तोडिएपछि कांग्रेसबाट चाँगुनारायणको प्रमुखमा जीवन खत्री, उपप्रमुखमा सुभद्रा काफ्ले, भक्तपुर नगरपालिका प्रमुखमा कांग्रेसबाट रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) बाट ओमचरण श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा कांग्रेसबाट निशान ढुंगेल, उपप्रमुखमा एकीकृत समाजवादीबाट श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगरपालिका प्रमुखमा कांग्रेसबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट विजय श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट भक्तपुर नगरपालिका प्रमुखमा तुलसीभक्त सुवाल, उपप्रमुखमा इन्द्रमाया सुवाल, सूर्यविनायक नगरपालिकाको प्रमुखमा कल्पदीप राई र उपप्रमुखमा पवित्रा चौलागाईं र चाँगुनारायण नगरपालिकाको प्रमुखमा नरेश खड्का र उपप्रमुखमा चण्डिका पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल मजदुर किसान पार्टीले पनि यसपालि भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार दोहो¥याएको छ । नेमकिपाबाट भक्तपुरको प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सूर्यविनायक प्रमुखमा श्याम बिशंखे र उपप्रमुखमा चनमति खुलीमुली, चाँगुनारायणको प्रमुखमा केशव तिमिल्सिना, उपप्रमुखमा कल्पना लामा र मध्यपुरथिमिको प्रमुखमा आशाहरि प्रजापति र उपप्रमुखमा दीक्षा बाडेले मनोनयन दर्ता गरेका छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँगुनारायण नगरपालिकाको प्रमुखमा रवीन्द्रप्रताप शाह, उपप्रमुखमा मञ्जु कार्की, भक्तपुर नगरको प्रमुखमा बद्री लाखाजु, उपप्रमुखमा लक्ष्मी छुस्याबाग, मध्यपुरथिमिको प्रमुखमा भुवन बागश्रेष्ठ, उपप्रमुखमा शान्ति श्रेष्ठ, सूर्यविनायकको प्रमुखमा राधिका रानाभाट र उपप्रमुखमा प्रविण ढुंगेलले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर