अमेरिकी उच्च अधिकारीको भ्रमण : के बदलिँदै छ नेपाल–अमेरिका सम्बन्ध ?

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला अमेरिकी सेनाका एक उच्च अधिकारीको जारी नेपाल भ्रमण अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय अमेरिकाबाट नेपालमा भइरहेको उच्च अधिकारीको भ्रमणको सिलसिलाको रुपमा बिहीबार अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चार दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

नेपाली सेनाका अनुसार फ्लिन सद्भावना भ्रमणका लागि आए पनि पछिल्लो समय अमेरिकी चासो नेपालमा पनि बढ्दै गएको यसले पुष्टि गरेको छ । साथै एमसीसी अनुदान पारित र नेपाल–अमेरिका सम्बन्ध ७५ औं वर्षमा पुगेको अवसरले पनि दुई देशलाई अझ नजिक ल्याएको छ ।

यही क्रममा प्रधानमन्त्री देउवासँग फ्लिनले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो ।

प्रमुख फ्लिनले सैनिक मुख्यालय जंगी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरेका छन् । नेपाल बसाइँका क्रममा उनले नेपालले राष्ट्रसङ्घीय शान्ति सेनामा पु¥याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफलको कार्यक्रम छ ।

के भन्छन् विज्ञ ? 

त्रिभूवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक खड्ग केसी भने नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा केही बदलाव आएको बताउँछन् । उनले एमसीसीपछि नेपाल र अमेरिकीबीच भ्रमण बाक्लिँदै गएको र स्वभाविक रुपमा एमसीसी इण्डोप्यासिफिकको अंग होइन भने पनि यसले रणनीतिक महत्व राखेको पुष्टि हुँदै गएको बताए ।

एमसीसी विशुद्ध विकास परियोजना भएको भए यो तहको बाक्लो राजनीति अन्तरसम्बन्धको तहमा पुग्ने अवस्था नहुँदा पनि फरक नपर्ने उनको भनाइ छ । प्राध्यापक केसीले छिमेकसँगको सम्बन्ध नेपालको सुरक्षाको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने र त्यसपछि मात्रै समृद्धिको सपना देख्ने र अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई पनि घनीभूत बनाउने कुरा रहेको बताए ।

राष्ट्रिय सुरक्षाका हिसावले मुलुकको भौगोलिक अखण्डता जोगाउन पनि छिमेकीहरुलाई चित्त दुखाउने काम गर्नु नहुने उनको भनाइ छ । ‘राष्ट्रिय सुरक्षाका हिसावले मुलुकको भौगोलिक अखण्डता जोगाउन पनि छिमेकीहरुलाई चित्त दुखाउने काम गर्नुहुँदैन । यस्तो काममा कुनैपनि सरकारले प्रोत्साहन गर्छ भने त्यो सरकारले गरेको कामलाई बुद्धिमतापूर्ण हो भन्न सकिँदैन । अमेरिका एउटा विश्व शक्ति हो । संसार घुमिरहनु हुन्छ । हाम्रोमा आउने कुरालाई हामीले स्वागतै गर्नुपर्छ । तर कति कुरा ग्रहण गर्ने भन्ने कुरा राष्ट्रिय महत्वको प्रश्न हो । त्यसमा सत्तारुढ दलका नेताहरुले ख्याल गर्नुपर्ने हो तर नगरेजस्तो छनक देखिएको छ,’ केसीले भने ।

प्राध्यापक केसीले एमसीसीपछि इण्डोप्यासिफिकमा लैजाने प्रयत्न हो कि भनेर शंका गर्न सकिने घटनाक्रम बढिरहेको बताए । उनले नेपालमा गठबन्धन कायम रहेको उल्लेख गर्दै अहिले नेपालको धमिलो पानीमा माछा मार्ने काम भइरहेको बताए । प्राध्यापक केसीले सत्तारुढ दलका नेताले अमेरिकी उच्च पदस्थ व्यक्तिहरुको नेपाल भ्रमणलाई लिएर विशेष चासो र चिन्ता नगरेको बताए ।

नेपाललाई ल्यान्डपावरको संज्ञा

नेपाल भ्रमणमा रहेका अमेरिकाका इन्डो–प्यासिफिक क्षेत्रका प्रमुख फ्लिनले भने नेपाल ल्यान्डपावर भएको बताएका छन् । शुक्रबार कान्तिपथस्थित फोहोरा दरबारमा नेपालका सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीहरुसँगको शनिबार आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

उनले त्यसक्रममा नेपाली सेना विश्वकै एक उत्कृष्ट सेना भएको उल्लेख गर्दै नेपाली सेनाको क्षमता अभिवृद्धिमा अमेरिकी सेनाले सघाउने पनि बताएका थिए । फ्लिनले इन्डो–प्यासिफिक भित्र ३६ मुलुकहरु रहेको जनाउँदै अमेरिकाका लागि यो क्षेत्र महत्वपूर्ण पनि जनाए ।

एमसीसी पास भएपछि उच्च पदस्थ अमेरिकी पदाधिकारीको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया नेपाल आएकी थिइन् ।

त्यसअघि सिनेटर क्रिस्टन जिलिब्राण्डको नेतृत्वको सांसदको ५ सदस्यीय टोली, दक्षिण तथा मध्य एशिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथामध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *