भ्युटावरमा विकास र समृद्धि देख्ने जनप्रतिनिधि यो निर्वाचनमा जनताबाट बहिष्कार कि स्वीकार ?

अघिल्लो चुनावमा निर्वाचित धेरै जनप्रतिनिधिहरु भ्युटावरलगायत अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गरेका कारण आलोचनामा परे । त्यसपछि पनि देशभर यस्तो भ्युटावर निर्माण गर्न तँछाडपछाड नै चल्यो ।

स्थानीय तह मात्र नभई प्रदेश र संघ सरकारले पनि भ्यु टावर बनाउन बजेट विनियोजन गरेका थिए । ठूल्ठूला डाँडाकाँडा रहेको मुलुकमा यस्ता भ्युटावरको खासै आवश्यकता नरहेको र यसमा खर्च हुने बजेट, कृषि, रोजगारी, सिंचाइलगायत उत्पादनसँग जोडिने क्षेत्रमा खर्च गर्नुपर्ने विश्लेषकहरुको भनाइ थियो ।

आलोचना भइरहँदा पनि देशभर भ्युटावर निर्माण भने रोकिएन । अझ प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले नै यसको निर्माणलाई प्रश्रय दिए । आफै शिलान्यास गर्नेदेखि उद्घाटनसम्मका कार्यक्रममा सरिक भए ।

केही समयअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा सदरमुकाम लिबाङस्थित नवनिर्मित जनयुद्ध स्मृति भ्यू टावर उद्घाटन गर्दै यो निर्माणले माओवादीले मात्रै देश विकास गर्न सक्छ भन्ने देखाएको उद्घोष गर्न भ्याए ।

रुपन्देहीको तिलोत्तमास्थित शंकरनगरमा साढे ११ करोडको भ्यु टावर उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली नै पुगे । ओलीले आफ्नै निर्वाचन क्षेत्र दमकमा पनि १८ तले भ्यु टावर बनाउन थालेका थिए ।

तिलोत्तमामा वन वाटिकाको जंगल क्षेत्रमा १० तले टावर बनाउँदा एक सय रूख काटिएको थियो । स्थानीय भने साढे ११ करोड खर्चे भ्यु टावर बनाउनुको साटो नहरमा प्रयोग गरेको भए सयौं बिघा खेत सिँचाइ हुने बताउँदै आएका छन् ।

केही वर्षयता देशभर दर्जनौं भ्युटावर निर्माण भएका छन् । तर, एकाधबाहेक तिनको खास उपयोग भने हुन सकेको छैन । अर्बौं खर्चेर निर्माण भएका भ्युटावरले न जनताको दैनिकी जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ न उत्पादनमा टेवा नै । केही स्थानमा पर्यटक तान्ने अपेक्षा गरिए पनि त्यस्तो उपलब्धि देखिँदैन । बजेट खर्च गर्न र अनियमितताका लागि पनि सहज हुने देखिएपछि यस्ता भ्युटावर देशैभर निर्माण भएको देखिन्छ ।

यसपटकको स्थानीय तह निर्वाचनमा पुनः उठेका ती जनप्रतिनिधि र तिनका दललाई जनताको साथ कस्तो रह्यो त ? पर्दाफासले देशैभरका डेढ दर्जन प्रतिनिधि जिल्ला र पालिकामा गरेको अध्ययनअनुसार भ्युटावर निर्माणमा संलग्न जनप्रतिनिधि र तिनको दलमध्ये अधिकांशले यसपटक पराजय भोगेका छन् ।

पुनः दोहोरिएका ती जनप्रतिनिधि धेरैजसो हारेका छन् भने उनका दलबाट उम्मेदवार बनेका अर्का उम्मेदवार पनि पराजित भएका छन् ।

को को भए पराजित ?

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले एक करोड ५० लाख बजेटमा थामडाँडामा भ्यु टावर बनाएको थियो । त्यहाँ यसअघि कांग्रेसका श्रवणकुमार जिसी अध्यक्ष थिए । तर, यसपटक उनलाई पराजित गर्दै एमालेका टपिन्द्रप्रसाद तिमल्सिना विजयी भएका छन् ।

काभ्रेको पनौती नगरपालिकाले पनि करिब ३ करोड लगानीमा नागीडाँडामा भ्यु टावर बनाएको थियो । त्यहाँ एमालेका भीम न्यौपाने मेयर थिए । पुनः उम्मेदवार बनेका उनी यसपटक भने कांग्रेसका रामशरण भण्डारीसँग पराजित भए ।

रामेछापको गोकुलगंगा गाउँपालिकामा एमालेका खड्गबहादुर सुनुवारले आफ्नो कार्यकालमा भ्युटावर निर्माण गरेका थिए । यसपटक भने उनी कांग्रेसका काजीबहादुर खड्कासँग पराजित भएका छन् ।

झापाको बाह्रदशी गाउँपालिका–६ मा ११ तलाको भ्यु टावर निर्माण भइरहेको छ । यसमा १७ करोड १८ लाख लागत रहनेछ । यहाँ कांग्रेसका खड्गप्रसाद राजवंशी अध्यक्ष थिए । यसपटक पनि उम्मेदवार बनेका उनलाई हराउँदै एमालेका देवीन्द्रप्रसाद चम्लागाईं विजयी भएका छन् ।

झापाकै मेचीनगर नगरपालिका–६ को शिवालय मन्दिर परिसरमा ३३ मिटर अग्लो भ्यु टावर निर्माणाधीन छ । प्रदेश सरकारको उद्योग, वन तथा वातावरण मन्त्रालयको ७० र मेचीनगर नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता उक्त टावर निर्माण हुन लागेको हो । ४ करोड ५३ लाख लागतमा निर्माण सुरु भएको टावरको काम केही महिनादेखि ठप्प छ । त्यहाँ कांग्रेसका विमल आचार्य मेयर थिए । यसपटक उनी उम्मेदवार नभए पनि कांग्रेसका अर्को उम्मेदवारलाई पराजित गर्दै एमालेका गोपालचन्द्र बुढाथोकी निर्वाचित भएका छन् ।

इलाम नगरपालिकाले ५१ फिटको पाँचतले टावर बनाउन ९० लाख खर्च गरेको थियो । यहाँ पहिले एमालेका महेश बस्नेत मेयरमा निर्वाचित थिए । यसपटक भने एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसका केदार थापा निर्वाचित भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले अध्यक्ष ओलीले भ्युटावर उद्घाटन गरेका थिए । त्यहाँ पहिले एमालेका वासुदेव घिमिरे नगरप्रमुख थिए, । अहिले कांग्रेसका रामकृष्ण खाण मतगणनामा अघि छन् भने एमालेका मोहन चापागाईंले पछ्याइरहेका छन् । खाण कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार हुन् ।

यस्तै, १८ तले भ्युटावर निर्माण भइरहेको दमक नगरपालिका एमालेबाट खोसिएको छ । पहिले एमालेका रोमनाथ ओलीले जितेको यस स्थानमा यसपटक राप्रपाका रामनाथ थापा निर्वाचित भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा पनि भ्यूटावर निर्माणमा अग्रसर भएका निवर्तमान एमालेका मोहनकुमार श्रेष्ठ यसपटक पराजित भएका छन् । उनी अहिले कांग्रेसका तेजन खनालसँग हारेका हुन् ।

बाँकेको कोहलपुर नगरपालिकामा पनि आकर्षक भ्युटावर निर्माण भइरहेको छ । यहाँ अघिल्लो निर्वाचनमा एमालेका लुटबहादुर रावत निर्वाचित भएका थिए । तर, यसपटक उनले टिकट पाएनन् । हाल एमालेले भने यहाँ हारिसकेको छ । यसपटक कांग्रेसका पूर्णप्रसाद आचार्य नगरप्रमुखमा निर्वाचित भइसकेका छन् । एमालेका खिलप्रसाद भूसाललाई उनले हराएका हुन् ।

दाङकै लमही नगरपालिकामा लाखौं लगानीमा भ्युटावर निर्माण गरिएको थियो । त्यहाँ एमालेका कुलबहादुर केसी मेयर थिए । तर, यसपटक एमाले तेस्रो स्थानमा झरेको छ । मेयर उपमेयर नै कांग्रेसका जोगराज चौधरी र लक्ष्मी योगीले जितेका छन् ।

भोजपुरको टेम्केमैयुङमा टेम्के भ्यु टावर १३ करोड ६२ लाख ८ हजारको लागतमा निर्माण गरेका एमालेका ध्रुवराज राई यसपटक भने हार व्यहारेका छन् । उनलाई कांग्रेसका सरोज बस्नेतले पराजित गरेका हुन् ।

इलामको सन्दकपुर–५ मावुथाममा भ्यु टावर निर्माणाधीन छ । हालसम्म करिब २० लाख खर्च भएको छ । यहाँका अध्यक्ष एमालेका उदयबहादुर राई यसपटक पनि उम्मेदवार बनेका थिए । तर, उनी कांग्रेसका तुलाराम गुरुङसँग पराजित भएका छन् ।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई वटा भ्यु टावर निर्माण गरिएको छ । नेर्पाको बगरेभन्ज्याङ र रूपाकोटमा निर्माण गरिएको हो । बगरेभन्ज्याङमा करिब ६५ लाखको लागतमा बनेको संरचनालाई ‘पेन टावर’ नाम दिइएको छ । उक्त टावरभन्दा वरिपरिका डाँडाहरू छन् । रूपाकोटमा पनि करिब २७ लाख लागतमा त्यस्तै टावर बनाइएको छ ।

यहाँ पहिले एमालेका दीपनारायण रिजाल मेयरमा निर्वाचित थिए । उनी यसपटक उम्मेदवार बन्न पाएनन् । तर, एमालेका अर्का उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका तीर्थराज भट्टराई निर्वाचित भएका छन् ।

यी उम्मेदवार र दल पुनः विजयी

काभ्रेका मण्डनदेउपुर नगरपालिकामा भ्युटावर निर्माण गर्ने नगरप्रमुख टोकबहादुर तामाङ यसपटक पनि विजयी भएका छन् । यसअघि एमालेबाट निर्वाचित उनी फेरि नेकपा एकीकृत समाजवादीबाट नगरप्रमुख बनेका हुन् ।

रोल्पा नगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्युटावरको उद्घाटन गरेका थिए । त्यहाँ पहिले माओवादीबाट निर्वाचित नगप्रमुख थिए पूर्ण केसी । अहिले पनि माओवादी केन्द्रकै सुरेन्द्र थापा घर्ती विजयी भएका छन् ।

तनहुँको मानहुँकोट डाँडामा व्यास नगरपालिकाले ३५ लाख ५९ हजाररुपैयाँ लगानी गरेर भ्यु टावर निर्माण गरेको थियो । यहाँ कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपाने मेयरमा निर्वाचित भएका छन् । उनी पहिले पनि नगरप्रमुख थिए ।

दाङको बंगलाचुली गाउँपालिकामा तीनवटा भ्यु टावर निर्माण गरिएको छ । यहाँ पहिले माओवादी केन्द्रका भक्तबहादुर वली विजयी थिए । अहिले माओवादीकै तुल्सीराम पुन मगर निर्वाचित भएका छन् । पाल्पाको रामपुर–२ मा भ्युटावर निर्माण गर्ने कांग्रेसबाट निर्वाीचत मेयर रमणबहादुर थापा यसपटक पनि निर्वाचित भइसकेका छन् ।

अर्घाखाँचीमा सन्धिखर्क नगरपालिकाले गत वर्ष ४० लाख रुपैयाँ खर्चेर चार तलाको शंखेटारीमा भ्यु टावर बनाएको थियो । त्यहाँ कांग्रेसबाट निर्वाचित मेयर कमलप्रसाद भुसाल थिए । हाल कांग्रेसका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ नै निर्वाचित भएका छन् ।

धनकुटाको धनकुटा नगरपालिकामा आफ्नो कार्यकालमा भ्यु टावर  निर्माण गर्ने एमालेका चिन्तन तामाङ नै दोहोरिएका छन् । यस्तै, धनकुटाको सहिदभूमि गाउँपालिकामा पनि एमालेका मनोज राईले नै जितेका छन् । उनले पनि कार्यकालमा पालिकामा भ्युटावर निर्माण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर