नेपाली सेनाको ‘अभ्यास हातेमालो–४’ सम्पन्न

नेपाली सेनाले विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिलाई सहभागी गराई सञ्चालन गरेको ‘अभ्यास हातेमालो–४’ सम्पन्न भएको छ ।

मंगलबार जंगी अड्‍डामा प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा उक्त अभ्यासको समापन भएको हो ।

उक्त समापन कार्यक्रममा मन्तव्य दिँदै प्रधानसेनापति शर्माले विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मुल्याङ्कन, विपद्सँग सम्बन्धित विभिन्न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न अभ्यास/गतिविधि सञ्चालनको मुख्य उद्देश्य सहित सञ्चालन भएको सो अभ्यास उपलब्धिमूलक रहेको विश्वास व्यक्त गरे ।

सोही क्रममा उनले विभिन्न समयमा आईपर्ने प्राकृतिक प्रकोपको बेला व्यवस्थापकीयका साथै सुरक्षा चुनौतीसमेत रहने हुँदा कुनै एक संस्थाको एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नहुने बताए । त्यसका लागि एक आपसको समन्वय तथा सहकार्यमा एकीकृत ढंगले अघि बढे मात्र लक्षित उद्देश्य प्राप्त हुने बताए ।

उनले विपद् व्यवस्थापनका निमित्त दक्ष जनशक्ति उत्पादनको लागि सेनाले विपद् व्यवस्थापन शिक्षालय स्थापना गरेको तथा विपद् व्यवस्थापन कार्यलाई थप टेवा पुर्‍याउन मापदण्ड बमोजिमको एउटा उद्धार टोलीको राष्ट्रिय प्रमाणीकरण प्रक्रियाको सुरुवात भएको जानकारी दिए ।

सेनाले सञ्चालन गरेको अभ्यासमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथी तथा अधिकृत, विभिन्न मन्त्रालय, प्राधिकरण, विभाग र कार्यालयका सह सचिव, प्रदेशस्थित विभिन्न निकायका प्रमुख एवं प्रतिनिधि, गैह्र सरकारी संघरसंस्थाका प्रमुख एवं प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिलगायत सरोकारवाला विभिन्न निकायका प्रतिनिधिको उल्लेख्य सहभागिता थियो ।

विपद्‍ व्यवस्थापन कार्यमा प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न सरकारी एवं गैर सरकारी निकायहरुलाई सहभागी गराई संचालन हुने यस किसिमका संयुक्त अभ्यासले विपद् प्रतिकार्यमा परिचालन हुने सम्पूर्ण निकायको क्षमता अभिवृद्धि भई विपद् व्यवस्थापन कार्य थप प्रभावकारी हुने सेनाको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर