कहिलेसम्म नेपाल ‘ड्रग ट्रान्जिट’ भइरहने ? आउन सक्छन् यस्ता समस्या

नेपालमा लागूऔषध खैरो हेरोइन, सेतो हेरोइन र कोकिन यहाँको खपतका लागि भन्दा भारतसहित विकसित देशमा पठाउन नेपाली भूमि प्रयोग हुने गरेको छ ।

नेपालमा रहेका कानूनी र प्रशासनिक छिद्र तथा यहाँको कैदसजाय अनि कारागारको अवस्थालाई हेरेर माफियाहरुले नेपाललाई सजिलो ‘ट्रान्जिट’ का रुपमा उपयोग गर्दै आएका छन् ।

जानकारको भनाइ र सरकारी तथ्यांकले देशभरका कारागारमा विदेशी कैदीबन्दीको संख्या बढ्दै छ । यसले सरकारी खर्च बढाउनुका साथै अपराध सञ्जाल विस्तारमा सहयोग पुगिरहेको छ ।

यसरी विदेशबाट आउने सूचनालाई नेपालका नियमन निकायले पच्छयाउने र त्यसैलाई उपलब्धि ठानेर प्रचारप्रसार मात्र गरिरहेका हाम्रा कारागार यस्तै कैदीबन्दीले भरिनेछ ।

अर्को विषय भनेको नेपालको विमानस्थल सुरक्षा, जाँच र जघन्य अपराधमा राष्ट्रिय तथा विदेशी नागरिकका हकमा एउटै कानूनी व्यवस्था नगर्दा हामी अर्को ठूूलो समस्या भविष्यका लागि निम्ताइरहेका छौं ।

नेपाललाई ट्रान्जिट बनाउँदै लागुऔषध ओसारपसारमा संलग्न रहेका सात जना अफ्रिकी महिलालाई ५१ किलोग्राम सेतो हेरोइनसहित पक्राउ गरी नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले बिहीबार सार्वजनिक ग¥यो  ।

नेपाल हुँदै भारत र त्यहाँबाट अन्य विकसित मुलुकहरुमा समेत पठाउने उद्देश्यका साथ भित्र्याइएको लागुऔषध र ती महिलालाई २६ जेठदेखि ३१ गतेको बीचमा नियन्त्रणमा लिइएको थियो ।

एक साताको अप्रेसनमा बरामद उक्त लागुपदार्थको मूल्य करिब १ अर्ब २ करोड रुपैयाँ बराबर रहेको ब्युरोले जनाएको छ । ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गर्दै ५१ किलो सेतो हेरोइनसहित ७ जना अफ्रिकी नागरिक पक्राउ गरेको जानकारी दिएको हो ।

ब्यूरोका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले नेपाललाई ट्रान्जिट बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उदेश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेलाई पक्राउ गरिएको बताए । उनले विगतमा पनि लागूऔषध कारोबारीहरु पक्राउ गरिएको आधारमा निगरानी राख्दै जादाँ ५१ केजी हेरोइन फेला परेको जनाए ।

पक्राउ परेका सातैजना दक्षिण अफ्रिकाका महिला हुन् । उनीहरू विभिन्न मितिमा फ्लाइटबाट दुबई हुँदै नेपाल आएको खुलेको छ । प्रहरीले उक्त गिरोह नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिनभित्रमा नियन्त्रणमा लिएको हो ।

ब्युरोका अनुसार पक्राउ पर्नेमा २९ वर्षीया सीबीसी थान्देकिले, ४६ वर्षीया मुरायल केडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीया टिसावालाला खानयिजिले एम्भोने, ३६ वर्षीया रोजिना नोन्केले जन्जे, २९ वर्षीया मल्हाको मौरिन मथिबा, ३७ वर्षीया मोरोएसी सुजान कोफु र ३० वर्षीया मोर्लेस बाडेनहोर्स्ट छन् ।
ब्युरोले सबैभन्दा पहिले सीबीसी र मुरायललाई २९ जेठमा पक्राउ गरेको थियो । उनीहरु दुबईबाट नेपाल आएका थिए । उनीहरूको साथबाट १६ केजी सेतो हेरोइन बरामद गरिएको छ । त्यसपछि दक्षिण अफ्रिकाबाट दुबई हुँदै आएका टिसावालाला र रोजिनालाई ३० जेठमा ८–८ केजी सेतो हेरोइनसहित पक्राउ गरिएको थियो ।

यस्तै, २६ जेठमा नेपाल आएकी मल्हाको, ३१ जेठमा आएकी मोरोएसी र मोर्लेस पनि विमानस्थलबाट पक्राउ परेका हुन् । मल्हाकोबाट ७ केजी सेतो हेरोइन, मोरोएसीबाट ४ केजी सेतो र २ केजी खैरो तथा मोर्लेसबाट ६ केजी सेतो हेरोइन बरामद भएको ब्युरोले जनाएको छ । लगेजमा फल्स बटम लगाएर भित्र्याइएको हेरोइन केही दिनभित्रै भारत लैजाने तयारी थियो ।

ब्युरोका अनुसार उनीहरुलाई दक्षिण अफ्रिकाको जोहानेसवर्गमा रहेका एक व्यक्तिले व्यक्तिले हेरोइन दिएर पठाएको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकास्थित नेपाली नियोगबाट भिसा लगाएर नेपाल आएका थिए । साथै, भारतस्थित गिरोहसँग सम्पर्क गर्न नेपाली सिमकार्ड लिनुका साथै नेपाली रुपैयाँ पनि साटिसकेका थिए । उनीहरु दुई साताको भिजिट भिसामा नेपाल आएका थिए ।

फेरि सल्बलाउँदै तस्करः एआईजी देवेन्द्र सुवेदी (अवकाश) 

नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीले तस्करहरुले नेपाल सहज रुट मानेर लागुऔषध तस्करीको प्रयास गरिरहेको बताए । विमानस्थलदेखि प्रशासनसम्म प्रभावमा पार्न सक्ने भएकाले नेपाललाई ट्रान्जिट रुट बनाउने र यहाँबाट भारत हुँदै अन्य देशमा लागूऔषध तस्करी गर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ ।

‘विगतमा कोरोना संक्रमणका कारण विश्वव्यापी रुपमा हवाई सञ्जालमा अवरोध आएको थियो । पछिल्लो समय अवस्था सामान्य बन्दै गएपछि तस्करहरु फेरि सल्बलाएको अनुमान गर्न सकिन्छ । त्यसको एउटा उदाहरण हालै लागुऔषध नियन्त्रण ब्युरोले सेतो हेरोइन बरामद गर्नुलाई मान्न सकिन्छ,’ उनले भने ।

उनका अनुसार संयुक्त राष्ट्र संघसँगै सार्कमा पनि लागुऔषध नियन्त्रणका लागि संयन्त्र खडा गरिएको छ, जससँग नेपालले पनि समन्वय गर्दै आएको छ । त्यसका साथ ब्युरोमा रहेका अनुभवी जनशक्तिका कारण पनि लागुऔषध तस्करहरु पक्राउ गर्न सहज भएको उनले बताए ।

संगठित कारोबार चुनौतीपूर्णः डीआईजी हेमन्त मल्ल (अवकाश)

लागुुऔषध बरामद र तस्करहरु पक्राउ राम्रो उपलब्धि भए पनि कतै संगठित रुपमा यसको कारोबार बढिरहेको त छ भन्ने चुनौती थपिएको बताउँछन् नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ।

‘अहिलेको बरामद परिमाण हेर्दा यसमा सीमित व्यक्तिको मात्र नभई संगठित गिरोहको संलग्नता पुष्टि हुन्छ । अर्कोतर्फ नेपालीहरु यसमा संलग्न भएको पुष्टि भएको छैन । तर, त्यता पनि आशंका गर्ने ठाउँ छ,’ मल्लले भने, ‘त्यसकारण संगठित रुपमा नै नेपालमा यस्तो गतिविधि भइरहेको छ भने यो चुनौतीपूर्ण हो । प्रहरीले त्यतातर्फ ध्यान दिनुपर्ने देखिन्छ ।’

अर्कोतर्फ पक्राउ परेका विदेशीहरुलाई कारागारमा राख्दा अझ सम्पर्क बढाउने र भित्रभित्रैबाट कारोबार गर्न सक्ने समस्या पनि रहेको उनले बताए । ‘हाम्रो कारागार सुधारात्मक भन्दा बढी दण्डात्मक छ । त्यसकारण पनि उनीहरुले भित्रभित्रै सञ्जाल बनाउने समस्या छ । यो समस्या पनि समाधान गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

नाकाहरुमा कडाइ, नयाँ र आधुनिक प्रविधि प्रयोगमा जोड र सही व्यक्तिलाई सही ठाउँमा खटाएमा नेपाल हुँदै लागुऔषध कारोबारको घटना न्यूनीकरण गर्न सकिने मल्लको भनाइ छ ।

कति छन् विदेशी कैदी ?
नेपालका कारागारमा विशेषगरी लागुऔषध कारोबारमा संलग्न विदेशीहरु नै कैदीबन्दीका रुपमा सजाय काटिरहेका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ललितपुरस्थित नख्खु कारागारमा भारतीय ८७, दक्षिण अफ्रिकाका १, इरानका १, चिनियाँ ४, जर्मन १, डेनमार्क १, तान्जानियाका २, नाइजेरियाका २, पपुवा न्युगिनीका १, पाकिस्तानी १, फ्रान्सका १, बेलायतका २, भुटानका १, रोमानियाका ४, सेनेगलका १, सिंगापुरका १ जना छन् ।

यस्तै, काठमाडौंको जगन्नाथदेवलस्थित कारागारमा भारतीय १२६, पाकिस्तानी १५, बंगलादेशी ५, फ्रान्सका ४, मालीका १, भुटानी १, सिंगापुरका १, नाइजेरियाका ३, रसियाका १, बोलिभियाका ८, नेदरल्यान्डका २, जोर्डन १, अस्ट्रियाका १, म्यानमारका १, आइभरिकोस्टका २, टोगोका १, सर्वियाका १, इरानका १, साउदी अरबका १, जाम्बियाका १, पोर्चुगलका १, ब्राजिलका १, दक्षिण अफ्रिकाका २ जना छन् ।

देशभरका कारागारमा गरी १ हजार ३ हजार ३८ जना विदेशी कैदीबन्दी रहेको कारागार विभागको तथ्यांक छ ।

यसरी हुन्छ बरामद 
नेपालमा बरामद हुने कोकिन, सेतो हेरोइन छिमेकी मुलुकहरुका उत्पादन होइनन् । कोकिन ल्याटिन अमेरिकी मुलुकहरुमा र सेतो हेरोइन अफ्रिकी मुलुकहरुबाट नेपाल भित्रिने गरेको छ । तर, यी लागुऔषध नेपालमा खपत भने खासै हुँदैन । विशेषगरी भारत र त्यहाँबाट पनि युरोपेली मुलुकहरुमा पुग्ने अनुमान छ ।

तर, नेपालमा ट्रान्जिट बनाई तस्करी गर्न सहज हुनसक्ने भएकाले पनि तस्करहरुले नेपाललाई प्राथमिकतामा राखेको देखिन्छ । लागूऔषधको अवैध उत्पादन, ओसारपसार र कारोबार रोक्न विश्वका शक्तिशाली राष्ट्रहरुको ठूलो चासो छ । उनीहरु वर्षेनि खर्बौं रुपैयाँ यसका लागि खर्चिन्छन् ।

ल्याटिन अमेरिकी देशमा उनीहरुको खासै प्रभाव र कारबाहीको आधार नभएकाले त्यहाँबाट बाहिरिने लागूऔषधका विषयमा नियमित सूचना अन्य देशका प्रहरीलाई दिने गर्छन् । नेपाल संयुक्त राष्ट्रसंघको लागुऔषध नियन्त्रणसम्बन्धी च्याप्टरको सदस्य पनि छ । त्यसकारण सम्बन्धित मुलुकबाट शंकास्पद लागुऔषध कारोबारीको बारेमा विवरण नेपाल प्रहरीलाई उपलब्ध हुने गरेको छ । त्यसैको आधारमा प्रहरी अनुसन्धानमा तस्करीमा संलग्न विदेशीहरु पक्राउ पर्दै आएका छन् ।

यस्ता छन् पुराना घटना 
नेपाललाई ट्रान्जिट बनाई लागूऔषध तस्करी गर्न खोज्ने विदेशीहरु यसअघि पनि बेलाबेलामा पक्राउ पर्दै आएका थिए । गत वैशाख पहिलो साता कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाको जोहानेसवर्गबाट कतारको दोहा हुँदै काठमाडौँ आएका जिम्बाबेका नागरिक कपुतुला अभिसर्गले ल्याएको सुटकेट जाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो । उनले सुटकेसमा फल्स बटम बनाई लुकाएर ल्याएको अवस्थामा सात किलो सेतो हेरोइन फेला परेको थियो ।

उक्त लागुऔषध लिन आएका भारतका ललनुन्पुइलाई पनि पक्राउ गरिएको थियो । बरामद लागूऔषधको बजार मूल्य १४ करोड रुपैयाँ रहेको ब्युरोले जनाएको थियो ।

३ भदौ २०७८ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट कतार हुँदै नेपाल आएकी सर्ली गामाको साथबाट प्रहरीले करिब ३ केजी कोकिन बरामद गरेको थियो । ब्युरोको टोलीले ३० वर्षीया गामालाई कमलादीस्थित होटलबाट २ केजी ९ सय ६६ ग्राम कोकिनसहित पक्राउ गरेको हो । उनी सोही दिन कतार एयरलाइन्समार्फत नेपाल आइपुगेकी थिइन् ।

गामाले ल्याएको लागुऔषध लिन आएका भारतको बैंगलोरका ३३ वर्षीय विजय सिंह, कारोबारमा संलग्न तान्जानियाकी २६ वर्षीया गर्ट्रुड लियोनार्द किमारोलाई पनि ब्युरोले ८ भदौमा पक्राउ गरेको थियो ।

१५ जेठ २०७३ मा ३ किलो १७७ ग्राम कोकिन सहित पक्राउ परेका चिनियाँ नागरिक चुन मान हो मलेशियन एयरद्धारा हङकङ जानेक्रममा विमानस्थलबाट पक्राउ परेका थिए ।

यस्तै २०७३ जेठमै ब्युरोले गरेको अर्को कारबाहीमा नेपाली नागरिक दिलबहादुर गुरुङ र भारतीय नागरिक तौहिद खान पक्राउ परे । उनीहरु कोकिन हङकङ तस्करीमा संलग्न थिए । यही घटनामा ब्युरोले कोकिन तस्करीमा दाउद इब्राहिम समुहको संलग्नता पुष्टि गरेको थियो । घटनामा भेनेजुएलाकि यमरिस कारमेन नारभेज र गिनीका मोहम्मद लामिनी डाबो पक्राउ परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर