महानिरीक्षक सिंहको टिममा अटाएका यी हुन् ‘टप सेभेन जर्नेल’

त्यसो त, म वरीयतामा एक नम्बर भनेर अब केही नहुँदो रहेछ भन्ने दाबी एआईजी विश्वराज पोखरेलको सर्वोच्च कुदाइबाट छताछुल्ल भएको छ ।

अब, एसएसपी वा सोभन्दा तल कुनै पनि पदमा बढुवा वरीयता भन्दा कार्यक्षमता, कार्य दक्षता तथा टिम परिचालन महत्वपूर्ण रहेछ भन्ने बुधबार छिप्पिएको रातमा भएको डीआईजी बढुवा सिफारिसले थप छर्लङ्ग बनाएको छ ।

प्रहरीभित्र यो बढुवा सिफारिसमा अघिका धेरै पछि, पछिका अझै पछि र पछिका धेरै अघि आए ।

नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गर्दा यसो गरिएको हो ।

बढुवा सिफारिस अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी बसन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस भयो ।

बढुवा हुनेमा दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौंमा श्यामलाल ज्ञवाली छन् । यस्तै किरण बज्राचार्य छैठौं, सातौंमा यसअघिको बढुवामा पहिलो नम्बरमा रहेका सन्दीप भण्डारी रहेका छन् ।

बढुवा सिफारिस हुनेमा क्रमशः सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र अन्तिममा किरण राणा छन् ।

यो बढुवा सिफारिस सदर भएसँगै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आफ्नो टप सेभेनको टिम बनाएर अघि बढने संकेत देखिएको छ ।

महानिरीक्षक धिरजप्रताप सिंह आफ्नो कार्यकाल सकिन केही महिना बाँकी रहँदा वा एआईजी पोखरेलको मुद्दा किनारा लागेसँगै अझ हुनसक्छ उनी घर गएपछि प्रहरीको पदावधि र सेवाअवधि समायोजनको तयारीमा छन् ।

यस्तै महानिरीक्षक सिंहले अब हुने प्रदेश र महत्वपूर्ण विभागको पोष्टिङका आधारमा आफ्नो कार्यकाललाई सफल र अब्बल बनाउने रणनीति अपनाएका छन् । यसकै लागि उनले कसैलाई काखा र कसैलाई पाखा नगरी बढुवा सिफारिसमा आफ्नो स्पष्ट अडान राखे । जसमा बालुवाटार र सिंहदरबार सकारात्मक बन्यो ।

यसका लागि उनले आफ्ना सात जर्नेलमा ‘मिलाउने, बिसाउने, चाकडी चाप्लुसीदेखि ठोक्ने’ सम्मको टोलीलाई एकसाथ अघि लगेका छन् ।

यसअघिका बढुवा वरीयतामा सेवा प्रवेशको एक नम्बर इन्स्पेक्टरको साख जोगाउन हम्मेहम्मे परेका बसन्तबहादुर कुँवरलाई उनको कामकै आधारमा बढुवा सिफारिस गरिएको छ । यस्तै दुई नम्बरमा यथावत रहँदै आएका टेकप्रसाद राई सशस्त्र द्वन्द्व, विध्वंसकारी गतिविधि र अन्तर्राष्ट्रिय आतंकवादविरुद्धको अनुसन्धान र कारबाहीका लागि ‘पायोनियर अफिसर’ हुन् ।

प्रहरीमा विवादसँगै काम परेका बेला जब्बर अधिकृतको परिचय बनाएका अशोक सिंह तीन नम्बरमा आएका छन् । उनलाई महानिरीक्षक सिंहले अब आउने दिनमा देखाउने कार्य प्रगतिका आधारमा अगामी बढुवामा मूल्यांकन गर्नेछन् । यस्तै चार नम्बरमा आएका दिपक थापा प्रहरीभित्र सरकारी अड्डा र कागजी कामका किरो भनिन्छन् । उनलाई सुम्पेको काम अहिलेसम्म नभएको भन्ने रेकर्ड छैन् । उनी प्रहरीभित्र सबैका सहयोगी र सबै कोणमा मिलाउने अघिकृत मानिन्छन् ।

बढुवा सिफारिसको पाँच नम्बरमा अटाएका श्यामलाल ज्ञवाली यसअघिसम्म विश्वराज पोखरेलको टिममा थिए । तर ‘राइट टाइम राइट डिसिजन’ गरेका उनी एकाएक महानिरीक्षक सिंहलाई कन्भिन्स गर्ने अधिकृत बने । उनलाई पनि महानिरीक्षक सिंहले नजिक राखेर उनको यही खुबी उपयोग गर्ने दाउमा छन् ।

प्रहरीको ललितपुर र भक्तपुरदेखि तत्कालीन प्रदेश २ ट्राफिकसम्मको सफल नेतृत्व गरेकी अन्तर्राष्ट्रिय छवि बनाउन सफल किरण बज्राचार्य छैठौं नम्बरमा बढुवा सिफारिस भएकी छन् । महानिरीक्षक सिंहले उनलाई नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय निकायसँग जोडेर अघि बढाउन एसएसपी किरणलाई जिम्मेवारी दिने सम्भावना छ । उनको बढुवा रोक्न वा तल झार्न भएका हरसम्भव प्रयासलाई महानिरीक्षक सिंहले रोकेका थिए ।

यस्तै महानिरीक्षक सिंहको सातौ जर्नेल बनेका छन् यसअघिका एक नम्बर एसएसपी रहेका सन्दीप भण्डारी । उनलाई समेत साथ लिएर महानिरीक्षक सिंह अघि बढने दाउमा छन् ।

प्रहरीमा एकपछि अर्को गर्दै हुने एआईजीको रिक्ततामा यी सातजनालाई पालैपालो अघि बढाएर महानिरीक्षक सिंह ढुक्कले आफ्नो कार्यकाल पूरा गर्ने दाउमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *