प्रधानसेनापति शर्माले गरे शान्ति सेनाको सिरिया मिसनको भ्रमण

संयुक्त राष्ट्रसंघको  यूनिफिल मिसन लेबनानको भ्रमण सकेर बुधबारबाट सिरियाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार सिरियाको अनडोफ मिसनको भ्रमण गरेका छन् ।

सो क्रममा प्रधानसेनापति शर्मा र उनको भ्रमण टोलीले अनडोफ अन्तर्गतका सुरक्षा पोस्टहरुको भ्रमण गरेका हुन् ।

भ्रमणको क्रममा, उक्त भ्रमण टोलीले माउण्ट हर्मन कम्प्लेक्सस्थित श्री फोर्स हेडक्वार्टर ईन्फेन्ट्री सपोर्ट युनिट (शान्ति सेना) दशौं डफ्फाको भ्रमण गरेको थियो । साथै उक्त ईलाकाको वस्तुस्थिति लगायत विविध पक्षका बारेमा समेत जानकारी लिएको थियो ।

सोही अवसरमा प्रधान सेनापति महारथी शर्माले उक्त शान्ति सेना युनिटमा उल्लेखनीय कार्य गर्ने चार नेपाली शान्ति सैनिकलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेका थिए ।

सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले फोर्स हेडक्वार्टर इन्फेन्ट्री सपोर्ट युनिटका सकलदर्जालाई सम्बोधन गर्दै भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्वपूर्ण स्थानको रुपमा रहेको माउण्ट हर्मन इलाकामा तैनाथ रहेर शान्ति स्थापनार्थ आफ्नो योगदान दिई नेपाल, नेपाली सेना र संयुक्त राष्ट्र संघको विश्वसनीयता बढाएकोमा धन्यवाद दिएका थिए ।

साथै, माउण्ट हर्मन कम्प्लेक्सको निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति सहितको टोलीले राजधानी सहर दमास्कसमा सिनियर सिरियन अरब डेलिगेसन (एसएसएडी) का सैनिक अधिकृत तथा परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेटघाट गरी ओल्ड दमास्कस कास्टलको अवलोकन गर्ने योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *