भारतीय राष्ट्रपतिका लागि एनडीएकी उम्मेदवार बनिन् आदिवासी नेतृ द्रौपदी मुर्मु

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले आगामी चुनावको लागि आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ ।

भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिस गरेको बताए । आदिवासी नेतृ द्रौपदी मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र देशको दोस्रो महिला राष्ट्रपति बन्नेछिन् ।

‘पहिलोपटक महिला आदिवासी उम्मेदवारलाई प्राथमिकता दिइएको छ । हामी आगामी राष्ट्रपति चुनावका लागि द्रौपदी मुर्मुलाई एनडीएको उम्मेदवारको रूपमा घोषणा गर्छौं’, बीजेपी प्रमुख नड्डाले भने ।

मुर्मुले आफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तिकरण गर्न समर्पित गरेको उनले बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुसँग राम्रो प्रशासनिक अनुभव भएको र उनी राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू ढुक्क भएको बताएका छन् ।

‘ उनीसँग राम्रो प्रशासनिक अनुभव छ । उनी हाम्रो देशको महान राष्ट्रपति हुनेछिन् भन्नेमा म ढुक्क छु’, प्रधानमन्त्री मोदीले भनेका छन् ।
पछिल्लो २० वर्षदेखि भाजपामा आबद्ध उनी भाजपा महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्षसमेत थिइन् ।

द्रौपदी मुर्मु विजयी भएमा भारतको पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति हुनेछिन् । यस्तै ओडिशाबाट पहिलो पटक राष्ट्रपति उम्मेद्वार अघि सारिएको छ । उनी झारखण्डको पहिलो महिला राज्यपाल समेत हुन्। उनी राज्यपाल नियुक्त हुने ओडिशाबाट पहिलो महिला र आदिवासी नेता थिइन ।

गरिब परिवारको व्यक्तिगत पृष्ठभूमि र सार्वजनिक सेवाको इतिहास नै उनको विशेषता हो ।  उनले आफ्नै गृह जिल्लाको रैरङपुरमा बिना तलब लामो समय अध्यापन गराएकी थिइन।

उनले प्रशासनिक कार्य र राजनीति दुबै अनुभव राख्ने नेताका रुपमा चर्चा कमाएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *