विदेशका नेपालीलाई मतदानको अधिकारको दिन कांग्रेस महामन्त्रीद्वयको माग

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गरेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको बारेमा आदेश दिइसकेकाले सोहीअनुसार निर्णय गर्न आयोगको ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिमा समेत विदेशमा बसेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्नेबारे निर्णय भइसकेको भन्दै निर्वाचन आयोगले उक्त कार्यको लागि आवश्यक पर्ने ऐन, कानुन निर्माणमा अग्रसरताका लागि  विभिन्न राजनीतिक दल र सरकारसँग सहयोगमा अगाडि बढ्न आग्रह गरिएको महामन्त्री शर्माले जानकारी दिए ।

‘विदेशमा रहेका ४० लाख नेपालीको नोटमात्र नभएर भोट पनि प्रयोगमा ल्याउनका लागि हामीहरुले पार्टीका तर्फबाट निर्वाचन आयोगको ध्यानाकर्षण गरेका हौं,’ महामन्त्री शर्माले भने । निर्वाचन आयोगले असार १ गतेदेखि देशैभरि मतदाता नामावली संकलन कार्य अगाडि बढाएकाले मतदाता सङ्कलनको क्रममा देखिएको भीडलाई कम गरी सबै स्थानीय तहमा मतदाता नामावली संकलन केन्द्र स्थापना गर्न माग गरेको अर्का महामन्त्री थापाले बताए ।

‘काठमाडौंमा रहेका देशभरका मतदाताको नामावली संकलन काठमाडौंबाट गर्न मिल्ने व्यवस्था भएको छ, यो राम्रो कार्य हो, काठमाडौँमा भएको भीडभाडलाई कम गर्न काठमाडौँको अलग्गै र काठमाडौँ बाहिरका व्यक्तिको अलग्गै नामावली सङ्कलन गर्ने वातावरण निर्माण गर्न हामीले प्रमुख निर्वाचन आयुक्तसमक्ष अनुरोध गरेका छौं,’ थापाले भने ।

यस्तै, भेटमा निर्वाचनलाई कसरी स्वच्छ, पारदर्शी, मितव्यायी र कम खर्चिलो बनाउने भन्ने बारेमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *