अमृताको शव अन्त्येष्टीको सहमती, श्रीमान कारागारमा, सासु र ससुरा रिहा

शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २, जानकी नगरकी अमृता खत्री टण्डनको ७३ दिनपछि आज अन्त्येष्टि गर्न लागिएको छ ।

घर पक्षले अमृताको नाबालक छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष स्थापना गर्ने सहमति गरेपछि माइती पक्ष अन्त्येष्टिको निम्ति सहमत भएको हो ।

गत चैत ३० गते राति शंकास्पद मृत्यु भएपछि अमृताको शव ७३ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको शवगृहमा राखिएको थियो । मृतकका दाजु पुष्प खड्काले माइती पक्षले राखेका माग पूरा गर्न घरपक्ष सहमत भएकाले आज अन्त्येष्टी गर्न लागिएको बताए ।

अमृताको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा जाहेरी दिँदै सडक आन्दोलन गरेको थियो ।

अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रूपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू–ससुरा दुवैलाई प्रमाण नपुगेको भन्दै रिहा गरेको थियो ।

बुटवल इलाका प्रहरी कार्यालयका अनुसार खत्रीले विष सेवन गरेपछि उपचारका लागि लुम्बिनीस्थित प्रादेशिक अस्पताल ल्याइएकामा उपचारको क्रममा उनको मृत्यु भएको थियो । खत्रीका माइती पक्षले श्रीमान् र सासू मिलेर हत्या गरेको आशङ्का गर्दै कारबाहीको मागसहित अमृताको घर घेराउ गर्दै लामो समय आन्दोलन गरेका थिए ।

घरमा श्रीमानसँग मनमुटाव भएपछि माइत गएकी खत्रीलाई बारम्बार फोन गरेर बोलाई कुटपिट गरेर विष खुवाई हत्या गरेको माइती पक्षको आरोप छ ।

मृतकका दाजु पुष्पक खत्रीले अमृताले घटनाको दिन राति ९ः३० बजे आफूलाई बचाउन आग्रह गर्दै म्यासेज गरेको बताएका थिए । म्यासेज आएको १५ मिनेटपछि अमृताको अस्पतालमा मृत्यु भएको खबर आएको गुनासो गर्दै उनले अमृताले आफैँ विष सेवन गरेकी होइनन् घरमा उनलाई मार्ने षडयन्त्र भएपछि बचाउन आग्रह गर्दै मलाई म्यासेज गरेकी थिइन्, एकैछिनमा अस्पतालमा मृत्यु भयो भन्ने खबर आयो, खत्रीले पत्रकारसँगको कुराकानीमा भनेका छन् ।

घटनापछि प्रहरीले घटनास्थल तथा शवको जाँच मुचुल्कासमेतको प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको थियो ।

मृतककी श्रीमान् प्रेम टण्डन, ससुरा टहलसिंह र सासू दीपा विरुद्ध कर्तव्य ज्यान मुद्दामा मृतकका दाजु पुष्पक खत्रीले जाहेरी दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर