अपराध अनुसन्धान र सुरक्षामा विशेष महत्व राख्ने दुई ‘युनिट’ मा महानिरीक्षक सिंह

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीको अपराध अनुसन्धान र सुरक्षामा विशेष महत्व राख्ने दुई इकाईको निरीक्षण भ्रमण गरेका छन् ।

महानिरीक्षक सिंहले प्रहरीको केनाइन कार्यालय (तालिमप्राप्त कुकुर) र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगंजको शुक्रबार छुट्टाछुट्टै निरीक्षण गरेका हुन् ।

प्रहरीले अपराध अनुसन्धान र अति विशिष्ठ सुरक्षामा प्रयोगगर्ने तालिमप्राप्त कुकुरहरुको तालिमदेखि सातै प्रदेशमा व्यवस्थापनको कार्य केनाइन कार्यालयले गर्नेगर्छ ।

केनाइन कार्यालय निरीक्षणको क्रममा महानिरीक्षक सिंहले कार्यालय व्यारेक, मेश, डग क्यानन, प्रयोगशाला र हर्श स्टेबल अवलोकन गर्नुका साथै कार्यालयबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएको प्रहरीको समाचार शाखाले जनाएको छ ।

महानिरीक्षक सिंहले जटिल अपराधहरुको सफल अनुसन्धानमा केनाइन कार्यालयले दिँदै आएको योगदान महत्वपूर्ण रहेको बताएका थिए । उनले अपराध अनुसन्धानमा मात्र होइन भीआइपी सुरक्षा, विमानस्थल सुरक्षा, विपद्को समयमा हुने उद्दार व्यवस्थापन लगायतमा केनाइन कार्यालयको काम र योगदान महत्वपूर्ण रहेको बताएका थिए । पुउनले कार्यालयको निरीक्षणको उद्देश्य यहाँको भौतिक पूर्वधारको साथै कर्मचारीको वृत्ति विकास, क्षमता अभिवृद्धिलाई अझ उन्नत बनाउन पहल गर्नु भएको जानकारी मातहतलाई दिए ।

केनाइन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा देउती गुरुङले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी सेवामा सेवारत विभिन्न विषयका कुकुरहरुबाट प्रहरी कार्यमा हुने सहयोग सम्बन्धी प्रदर्शनी समेत गरिएको थियो ।

यसैगरी नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालाको निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले विविध विषयका प्रयोगशालाहरु अवलोकन गर्नुका साथै प्रयोगशालाबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएका थिए ।

निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराधका नयाँ तरिका वृद्धि भइरहेको अहिलेको अवस्थामा सबुद प्रमाणित गर्न प्रयोगशालाको योगदान महत्वपूर्ण हुने बताए । प्रयोगशालालाई आधुनीकिकरण गर्न नयाँ प्रविधि र जनशक्ति विकासमा जोड दिइने उनले उल्लेख गरे।

कार्यक्रममा उक्त प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश कुमार सिंहले प्रयोगशालाको गतिविधि, चुनौती तथा समस्याहरु एवं आगामी योजना सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

दुवै कार्यालय निरीक्षणका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर