नेपालमा चिनियाँ अधिकारीको सक्रियता बढ्यो, एमाले र माओवादी अध्यक्षसँग भिडियो संवाद

स्थानीय चुनावपछि वामपन्थी दलहरुबीच एकता हुन पर्ने माग उठिरहेको समयमा चिनियाँ अधिकारीहरुको सक्रियता नेपालमा बढेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभागका प्रमुख लिउ जियानचाओले बिहीबार र शुक्रबार नेपालका दुई मुख्य कम्युनिष्ट पार्टीहरु नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भिडियो संवाद गरेका छन् ।

लिउले एमाले अध्यक्ष ओलीसँग शुक्रबार र माओवादी अध्यक्ष दाहालसँग बिहीबार भिडियो वार्ता गरेका हुन्।

अमेरिका र नेपाली सेनाबीच भएको स्टेट पाटनर्रसिप प्रोग्राम(एसपीपी) साझेदारीलाई अघि नबढाउने सरकारले निर्णय गरेको समयमा सत्ता गठबन्धनको एउटा महत्वपूर्ण घटक माओवादी केन्द्र र विपक्षी दल नेकपा एमालेसँग उच्च चिनियाँ अधिकारीले संवाद गरेका हुन् । बेइजिङले एसपीपी सम्बन्धी नेपाली निर्णयको प्रसंशा गरेको छ ।

विभाग विभागको प्रमुखमा लेउलाई सोङ ताओको स्थानमा केही साताअघि नियुक्त गरिएको थियो । सोङ नेपाली नेताहरुसँग निरन्तर संवादमा रहने चिनियाँ नेता हुन्।

एमाले र माओवादी दुवैले चिनियाँ अधिकारीसँग भएको संवादको बारेका कुनै जानकारी गराएका छैनन् । शुक्रबार बेलुकी सीपीसीको विदेश विभागले संवादको विषयमा सूचना जारी गरेको थियो। संवादमा लिउले चीन र नेपाल हिमाल र नदीले जोडिएको मित्रवत् छिमेकीका साथै साझा भविष्यका विकास साझेदार भएको बताएका थिए।

सन् २०१९ को अक्टोबरमा सीपीसीका महासचिव तथा राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गरेको बताएका थिए।

एमाले र माओवादीका अध्यक्षहरुले भने चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताएका थिए । ओली र दाहालले कुनै पनि शक्तिलाई चीनविरोधी गतिविधिमा संलग्न हुन नेपाली भूमि प्रयोग गर्न कहिल्यै पनि अनुमति नदिने प्रतिवद्धता व्यक्त गरेका थिए।

दुवैले चीन र नेपालको कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै अघि बढ्ने बताएका थिए ।

संवादको क्रममा ओली र दाहालले कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको अपेक्षा र कामना समेत गरेका थिए। संवादपछि एमाले र माओवादीले छुट्टाछुट्टै सीपीसीका प्रतिनिधिसँग दुई पार्टीबीच आदानप्रदान र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर