नेपाल प्रहरीका एसपीमाथि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा बढुवा भएको आरोप

नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्राविधिक प्रहरी उपरीक्षक गोपालबहादुर रेग्मीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा प्राविधिक सईबाट प्राविधिक इन्स्पेक्टरमा बढुवा पाएको आरोप लागेको छ ।

उनी हाल संचार निर्देशनालयको नेतृत्व गरिरहेका छन् ।

यतिबेला प्राविधिक तर्फ समेत बढुवाको तयारी भइरहेको छ । यस्तो अवस्थामा प्रहरी अधिकारीहरु एकआपसमा बेनामे उजुरी र मिडियाबाजीमा अभ्यस्त भएका छन् ।

निर्देशनालयमा उनी जस्तै कृष्णबहादुर धिताल र दामोदर कँडेल समेत हाल एसएसपी बढुवाको दौडमा रहेका बेला एसपी रेग्मीका शैक्षिक प्रमाणपत्र सहित एउटा बेनामे पत्र संचारमाध्यमहरुमा पुगेको हो । यो बेनामे उजुरीमा उपलब्ध केही तथ्यप्रमाणले भने यो घटनामा बल पुग्ने पुष्टि भएपछि पर्दाफासले आरोपी एसपी रेग्मीलाई समेत सम्पर्क गरेर समाचार बनाएको छ ।

पर्दाफासको आधिकारीक इमेलमा प्राप्त ‘मिडिया उजुरी’ शिर्षकको पत्रमा एसपी रेग्मीले नेपालबाट इलेक्ट्रिकल ओभरसियर उर्तिण गरेपछि २०५३ मा प्रहरी सेवामा प्राविधिक सई भएर प्रवेश गरेका थिए ।

उनले त्यसपछि २०६२ मा भारतको दरभंगास्थित मिथिला विश्व बिद्यालयको बीए प्रमाणपत्रका आधारमा कर्मचारी प्रशासनमा अभिलेख जनाएर सईबाट इन्स्पेक्टर बढुवा भएका थिए । प्राप्त बेनामे पत्रमा उनले प्राप्त गरेको बीएको शैक्षित्र प्रमाण पत्र नक्कली थियो ।

त्यसबेला समेत यस विषयमा अनुसन्धानको कुरा उठेपछि उनले ग्रामिण आदर्श बहुुमुुखी क्याम्पस नेपालटारबाट एक वर्षे बीएड गरेको प्रमाणपत्र पेश गरेका थिए । पत्रमा उनले प्रहरी कर्मचारीलाई प्रलोभनमा पारेर भारतबाट ल्याएको बीएको सर्टिफिकेट हटाउन सफल भएको आरोप समेत लगाइएको छ ।

यस विषयमा एसपी रेग्मीसँग सम्पर्कगर्दा उनले सबै विषय गलत भएको दाबी गरे । उनले आफू इन्जिनियर भएको बताए ।

‘सबै नक्कली हुनसक्छ, कसले के लेख्छ मलाई थाह छैन्,’ एसपी रेग्मीले पर्दाफाससँग भने, ‘म इन्जिनियर हो, अहिले संचार निर्देशनालयको प्रमुख छु ।’

यस विषयमा पर्दाफासले संचार निर्देशनालयको नेतृत्व गरिसकेका पुराना अधिकारीहरुसँग सोधखोजगर्दा एसपी रेग्मी बिरुद्ध आएको ‘मिडिया उजुरी’ मा केही सत्यता भेटिएको छ । त्यस्तै दुई वर्षअघि (२ जेठ २०७६) मा समेत प्रहरी प्रधान कार्यालय, मानव स्रोत तथा प्रशासन विभागले एसपी रेग्मीकै नाममा पत्र लेख्दै उनको शैक्षिक प्रमाणपत्रका विषयमा सोधखोज गरिएको छ ।

संचार निर्देशनालयका पुराना अधिकारीहरुमा अनुसार उनको शैक्षिक प्रमाणपत्रका विषयमा अवकाशप्राप्त डीआईजी अमृतकाजी श्रेष्ठको कार्यकालमा ठुलो विवाद भएको थियो ।

यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेर अनुसन्धान भएको थियो । हाल रेग्मी बिरुद्धको उजुरी तामेलीमा राखिएको छ ।

‘त्यसबेला अख्तियारमा उजुरी परेर अनुसन्धान सुरु भएपछि उनी निलम्बनमा समेत परेका थिए, ’ संचार निर्देशनालयमा लामो समय बिताएका एक अवकाशप्राप्त वरिष्ठ अधिकारीले भने, ‘त्यसपछि मुद्दा तामेलीमा गएपछि पनि डीआईजी अमृतकाजीको कार्यकालमा उनलाई सुदुरपश्चिम पठाइएको थियो । ’

उनी २५ वर्षदेखि संचारमा कार्यरत छन् ।

नेपाल प्रहरीले देशभरका युनिटहरुमा अति गोप्यदेखि गोप्य र आवश्यक सूचना, परिपत्र तथा निर्देशन लिन र दिन यही निर्देशनालयको प्रयोग गर्छ ।

यस्तो अवस्थामा आफै नक्कली प्रमाणपत्रका आधारमा बढुवा भएका ब्यक्तिबाट निर्देशनालय संचालन हुँदा कुनै पनि समय दुर्घटना हुनसक्ने समेत पत्रमा सचेत गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *