नेपाली सेना राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको टिम च्याम्पियन बन्यो

नेपाली सेना ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । सेनाले १८ स्वर्ण, १२ रजत र पाँच कास्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।

नेपाल एथलेटिक्स सङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको प्रतियोगितामा एपिएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कास्यका साथ दोस्रो भयो । तेस्रो स्थानको बाग्मती प्रदेशले ३ स्वर्ण, २ रजत र ६ कास्य हात पार्याे ।

३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी २ स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो । प्रहरीले ३ रजत र ४ कास्य पनि हासिल गर्यो ।

सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे । प्रतियोगिताको पुरुषमा एपिएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली सेनाकी जयरानी थारू उत्कृष्ट खेलाडी घोषित भए ।

शिवराजले ३ स्वर्ण र १ रजत जिते । जयरानीले २ कीर्तिमानीसहित ४ स्वर्ण कब्जा गरिन् । जयरानीको नाममा थप १ रजत पनि रह्यो । जयरानीले १०० र ४०० मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन् ।

प्रतियोगितामा कूल तीन राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान सेनाका जीवन थारूले पुरुष ११० मिटर हर्डल्समा बनाएका थिए । जीवनले एक कीर्तिमानीसहित दुई स्वर्ण र उत्तिनै रजत हात पारे । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि पाँच हजार नगद पुरस्कार प्रदान गरियो ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेका थिए

तीनदिने उक्त प्रतियोगितामा २४० खेलाडीको सहभागिता रहेको आयोजक सङ्घका सचिव आरके विष्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर