मन्त्रीहरुको सपथग्रहण ११ बजे, को हुन नवनियुक्त मन्त्रीहरु ?

नेकपा एकीकृत समाजवादीका ४ मन्त्री र एक राज्यमन्त्रीको सपथ ग्रहण बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाउने छिन् ।

एकीकृत समाजवादीको जेठ २२ गतेको सचिवालय बैठकले गरेको निर्णयअनुसार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रीमा भवानीप्रसाद खापुङ, पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी र श्रम मन्त्रीमा शेरबहादुर कुँवरलाई सिफारिस गरेका थिए । प्रधानमन्त्री देउवाको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेकी हुन् । पार्टी निर्णयअनुसार मन्त्रीहरुको नियुक्ति हुन नसक्दा गठबन्धन र एकीकृत समाजवादीमा समेत विवाद देखिएको थियो ।

भवानीप्रसाद खापुङ
गत असोजमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका भवानीप्रसाद खापुङ मन्त्रीमा पदोन्नती भएका हुन्। २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालको आम निर्वाचनमा खापुङ तेह्रथुमबाट निर्वाचित भएका हुन् । २०६४ सालको पहिलो संविधानसभा चुनावमा भने उनी पराजित भएका थिए । ६० वर्षे खापुङ एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हुन् ।

जीवनराम श्रेष्ठ
पर्यटनमन्त्री नियुक्त भएका जीवन श्रेष्ठ एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक हुन् । ०४२ मा नेकपा (माले) को वडा सचिवबाट राजनीतिमा प्रवेश गरेका श्रेष्ठ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट काठमाडौं ८ मा निर्वाचित भएका थिए । २०४९ सालको स्थानीय चुनावमा उनी श्रेष्ठ काठमाडौं महानगरपालिका वडा नम्बर १५ का बडाध्यक्षमा निर्वाचित भएका थिए।
०५३ देखि ०६३ सम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव थिए । अहिले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् । श्रेष्ठ एकीकृत समाजवादीका सचिव हुन् । उनी पहिलो पटक मन्त्री भएका हुन् ।

मेटमणि चौधरी
सहरी विकासमन्त्री चौधरी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हुन् । उनले ०४५ मा मालेबाट राजनीति सुरु गरेका थिए । उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट दाङ १ मा प्रत्यक्ष निर्वाचित भएका थिए । उनी पनि पहिलो पटक मन्त्री भएका हुन् ।

शेरबहादुर कुँवर
श्रममन्त्री शेरबहादुर कुँवर गैरसांसद हुन् । राष्ट्रिय सभा सदस्य रहेका कुँवरको गत फागुनमा कार्यकाल सकिएको थियो । ०३८ सालमा अनेरास्ववियुमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका उनी एमालेका तर्फबाट ०६४ को संविधानसभा सदस्य निर्वाचनमा अछाम १ मा निर्वाचित भएका थिए । त्यसैगरी २०७४ सालमा भएको राष्ट्रियसभा चुनावमा सुदुर पश्चिमको खुला निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

हिराचन्द्र केसी
राज्यमन्त्री हिराचन्द्र केसी प्रतिनिधिसभा निर्वाचन ०७४ मा दाङ ३ बाट निर्वाचित भएका थिए । २०४९ सालबाट राजनीतिमा सक्रिय रहेका केसीको जन्म २०३२ सालमा सल्यानमा भएको थियो । २०४९ सालमा अनेरास्ववियु सल्यान जिल्ला कमिटीका सदस्य बनेका केसीको राजनीतिक यात्रा शुरु भएको थियो । केसी २०५४ साल घोराहीको महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सचिवमा निर्वाचित भएका थिए । केसी अहिले एकीकृत समाजवादीका केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर