कार चालकलाई कुटपिट गरी लुट्ने तीन भारतीय पक्राउ

कैलालीमा कार चालकलाई कुटपिट गरी लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कारका चालक कञ्चनपुर बेदकोट नगरपालिका–३ बस्ने ३७ वर्षीय लोकेन्द्र भण्डारीलाई कुटपिट र लुटपाट गरी कार लिएर फरार भएका थिए ।

कञ्चनपुर भिमदत्त नगरपालिकाबाट डडेलधुरा आलितालतर्फ जाँदै गरेको उक्त कार कैलाली गोदावरी नगरपालिका–४ गाईमारेमा आईपुग्दा भिमदत्त नगरपालिकाबाटै सोही कारमा खानीडाँडासम्मको लागि लिफ्ट मागी आइरहेका ती ३ जनाले चालकलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगेर कुटपिट समेत गरी उनको मोबाइल, पर्स र कार समेत लिएर फरार भएका थिए ।

खोजी गर्ने क्रममा उक्त कार गोदावरी नगरपालिका–४ स्थित शान्तिनगर जाने भित्री सडकमा फेला परेको थियो ।

प्रहरीले यो घटनामा संलग्न तीनजनालाई भने गोदावरी नगरपालिका–१ मा पर्ने जंगल क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ घर भएका १८ वर्षीय साहिल बादलिसे, २० वर्षीय सन्नी जोट र २१ वर्षीय भगत सिंह छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर