एकीकृत समाजवादी पछि जसपामा मन्त्री फेरबदलको निर्णय

नेकपा एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री फेरबदल गर्ने निर्णय गरेको छ ।

सोमवार साँझ बसेको अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी बैठकले सरकारमा रहेका चार वटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ सामान्य प्रशासन तथा संघीय मामिला, रेणु यादव भौतिक पूर्वाधार तथा यातायात, महिन्द्र राय यादव कृषी र रामसहाय प्रसाद यादव वन मन्त्री रहेका छन् ।

उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूले नयाँ मन्त्रीको नाम सिफारिस गर्ने अधिकार पनि अध्यक्ष यादवलाई दिने निर्णय गरेको स्रोतले जनाएको छ ।

कार्यकारिणीको बैठकमा संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई निकट रहेका सदस्यहरुले बोलाइएको थिएन । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कार्रवाही गर्ने अधिकार पनि अध्यक्ष यादवलाई दिएको छ ।

सोमबार बिहान पुष्पकमलल दाहाल प्रचण्डसंग भेटेका अध्यक्ष यादवले नेकपा एसले मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई शपथग्रहण गराए पछि अब आफ्नो पार्टीमा पनि मन्त्रीहरू फेरबदलको लागि सहयोग गर्न आग्रह गरेका थिए ।

दाहालले पार्टीबाट औपचारिक निर्णय गर्न सुझाव दिएपछि सोमबार साँझमा बसेको कार्यकारिणी बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।
यसअघि एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री परिवर्तन गरेको थियो ।नयाँ  मन्त्रीहरुले सोमबार नै सपथग्रहण गरेका छन् । भवानीप्रसाद खापुङले स्वास्थ्य, जीवनराम श्रेष्ठले पर्यटन, मेटमणि चौधरीले शहरी विकास र शेरबहादुर कुँवरले श्रम मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर