टनकपुर सन्धि भएको २६ वर्षपछि पानी पाउँदै नेपाल

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ ।

सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माण कार्य थालनी भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भए पनि लामो समय नहर निर्माण ढिलाइको कारण गति लिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो ।

महाकाली सिँचाई आयोजना तेस्रो चरणका अनुसार भारत तर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिबाट परीक्षण गर्नको लागि पानी छोड्न थालेको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधवार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ ।

लामो समय भारतले आफ्नो भूमिमा बनाउनुपर्ने मूलनहर निर्माणमा चासो देखाएको थिएन । तर, केही वर्ष अगाडिबाट नहर निर्माणमा भारतीय पक्षले तदारुकता देखाएपछि २६ वर्षपछि नहरमा पानी आएको हो । महाकाली सिँचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तर रुपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताए ।

उनले टनकपुर नहरबाट २६ वर्षपछि आएको पानीले भोलि असार १५ अर्थात धान दिवसको दिन नहरको पानीबाट किसानहरुले धान रोप्ने कार्यक्रमसमेत रहेको बताए । निर्देशक बमले २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैमा खुसी छाएकोसमेत बताए । उनले नहर निर्माण पूर्णरुपमा पूरा नभएकोले निर्माण कार्य सम्पन्न भएको क्षेत्रलाई आधार बनाएर नहरमा पानी सञ्चालन गर्ने योजना बनाएको बताए ।

आयोजना निर्देशक बमले नेपाल भारत सन्धि भएको झण्डै २६ वर्षसम्म आउँदा मूल नहरको १८.५ किलोमिटर क्षेत्रमा मात्रै मुलनहर निर्माण सम्पन्न भएको बताए । उनले ब्रह्मदेव क्षेत्रबाट सन् २००१ मा मूलनहर निर्माण गर्ने भनेर अनुसन्धान थालिएको नहरको आर्थिक वर्ष ०६३/०६४ देखि सिँचाइको मुख्य नहर निर्माण अगाडि बढाइएको बताए ।

निर्देशक बमले मूलनहर निर्माण शुरु भए पनि नहर निर्माणको गति तीव्र भएको कारण नहरमा अहिल पानी बग्ने अवस्था आएको बताए । ब्रह्मदेव क्षेत्रबाट १५२ किलोमिटर लामो मूलनहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २४ किलोमिटरको शाखा नहर बनाउनुपर्ने नहरको अहिले विभिन्न चरणमा नहर निमार्ण कार्य भइरहेको बताए ।

उनले महाकाली सन्धिको धारा ४ अनुसार नेपाली इलाकाको दोधारा–चाँदनी क्षेत्रका लागि शारदा नहरबाट पाउने पानीको लागि पनि नहर निमार्णको काम अगाडि बढाइएको बताए । निर्देशक बमले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आवश्यक जग्गा अधिकरण गर्नको लागि प्रक्रिया अगाडि बढाइएको पनि बताए ।

सन् २०२२ सम्म मूलनहर निर्माण पूर्णपमा सम्पन्न गरिसक्नुपर्ने भनिए पनि निर्माण पूरा हुने सम्भावना भने न्यून छ । सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८.३५ क्युमेक्स पानी पाउनेछ भने हिउँदको समयमा ८.५ क्युमेक्स पानी प्राप्त गर्नेछ । मूल नहर निर्माणसँगै मुल नहरको शाखानहर निर्माण गर्ने कुरालाई पनि अगाडि बढाइएको छ ।

महाकाली सिँचाई तेस्रो चरण आयोजनाका अनुसार ब्रह्मदेव क्षेत्रमा १२ वटा शाखा विस्तार गरिनेछन् भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा नहरका शाखा विस्तार गरिनेछन् । सन्धिअनुसार दोधारा–चाँदनी क्षेत्रमा भारतले १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी उपलब्ध गराउनेछ भनेर उल्लेख गरिएको छ । यस्तै भारतले भने सन् १९२८ मा नै निर्माण गरेकोे शारदा ब्यारेजबाट निरन्तर भारतीय भूमिमा पानी आपूर्ति गराउने नहर करिब साढे ११ हजार क्युसेक क्षमताको छ ।

नेपाली पक्षबाट समयमै नहर निमार्ण गर्न नसक्दा पानीको ठूलो हिस्सा कब्जा गरेको भारतले दोधारा–चाँदनीले पाउनुपर्ने जम्मा ३ सय ५० क्युसेक पानी पनि भारतले अहिलेसम्म दिएको छैन ।

सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिँचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुईसय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख थियो । वि.सं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर