कोरियाका नागरिककाे जुत्तामा भेटियो ७१६ ग्राम तौलको कस्तुरीको विना

 

नेपालबाट दक्षिण कोरियामा दुर्लभ कस्तुरीको विना तस्करी गर्न खोज्ने एकजना त्यहाँका नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । उनलाई मंगलबार अपरान्ह विमानस्थलमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

प्रहरीका अनुसार कोरियन एयरको उडान नम्बर केइ ६९६ द्वारा काठमाण्डौबाट कोरियाको सियोल जान लागेका राहदानी नम्बर एम ८२६२०३६१ वाहक वर्ष ५५ का जंग जोन जुन पक्राउ परेका हुन् । प्रहरीले उनका साथबाट जम्मा तौल ७१६ ग्राम रहेको दुई थान कस्तुरीको विना बरामद गरेको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाको पुरुष तर्फको सुरक्षा खानतलासी गर्ने स्थानमा उनलाई मेटल फ्रि गराई चेकजाँचगर्दा जुत्तामा लुकाएको अवस्थामा कस्तुरीको विना बरामद भएको हो ।

उनले लगाएको निलो रंगको म्याक्स १५ लेखिएको जुत्तालाई एक्सरे मशिनमा राख्न लगाई स्क्रिनिङ गर्दा दुवै जुत्ता भित्र सेतो रंगको प्लास्टिक र टेपले बेरिएको कस्तुरीको विनाको धुलो बरामद भएको हो ।

प्रहरीले उनलाई मंगलबार राती प्रहरी वृत गौशालामा र आज कार्यालय समयमा आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि कागजातहरु सहित बन कार्यालय पठाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर