सीआईबीको फन्दामा जनरल फाइनान्सकी बिचौलिया

कुनै समयको चर्चित र नाफाको वित्तिय संस्था जनरल फाइनान्स लिमिटेड (हाल वेष्ट फाइनान्स कम्पनी लिमिटेड) मा कुनै समय चितवनकी बबिता पन्त पौडेलको रजगज थियो । उनी फाइनान्सकी कर्मचारी र पदाधिकारी त थिइनन् । तर, उनको पहुँच त्यो भन्दा माथि थियो ।

उनले आफुले पनि कर्जा लिने र अरुलाई पनि कर्जा दिलाउने ‘धन्दा’ चलाएकी थिइन् ।

जनरल फाइनान्स कम्पनीका तत्कालिन कर्मचारीहरुले बबिता जस्तै बिचौलियाको विश्वासमा खराब कर्जा प्रवाहगर्दै रहे । र अन्तमा, १२ जेठ, २०७० मा नेपाल राष्ट्र बैंकले जनरल फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्यो ।

नेपाल राष्ट्र बैंकको यो कदमसँगै छानबिन समेत सुरु भयो । जसमा बबिता समेत मुछिइन् । उनी बिरुद्ध वैंकिङ् कसूरमा मुद्दा चल्यो ।

जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई वैकिङ् श्रोत,साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै उच्च अदालत पाटनले वैंकिङ् कसूर मुद्दामा बबितलाई २९ वैशाख २०७१ मा सजाय सुनायो ।

उच्च अदालत पाटले उनलाई वैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा एक महिना कैद र दश लाख रुपैंया जरिवाना हुने ठहर गरेको थियो । तर, फैसलापछि उनी केही समय लुकेर बसिन । त्यसपछि उनको खोजी हुुन छाडेको थियो ।

तर, केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले बबितालाई १४ असारमा सिनामंगलमा फेला पारेर पक्राउ गरेको छ । साथै उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर