ढुवानीकर्ताको मिलोमितोमा यसरी ठगियो २२ करोड राजस्व

राजस्व अनुसन्धान विभागले ढुवानीकर्तासँगको मिलोमतोमा २२ करोड रुपैयाँ बराबरको राजस्व ठगी गरेको भन्दै १३ कम्पनीविरुद्ध उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको छ।

विभागले मंगलबार पशुपति रोड क्यारियर्स, न्यु मनकामना सप्लायर्स, अरुण क्लोथ सपलगायतविरुद्ध ४४ करोड ३८ लाख ९३ हजार ४०६ रुपैयाँ बिगो र जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

कार्यान्वयनमा गइसकेको भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) पालना नगर्ने ट्रान्सपोर्ट कम्पनीको छानबिन गर्दा गिरोह नै समातिएको हो ।

विभागका अनुसार पशुपति रोड क्यारियर नेपाल प्रालिको बुटवल शाखाले बिक्रेता न्यु मनकामना सप्लायर्स र क्रेता सांग्रीला एक्सपोर्ट तथा राज फेन्सी कर्नर उल्लेख गरी भीसीटीएसमा प्रविष्ट गरी मालवस्तु पठाएको थियो । तर, सो सामान अरू नै कम्पनीको रहन गरेको खुलेको छ । पशुपति रोड क्यारियर नेपाललगायतका कम्पनीले भन्सार नाका प्रयोग नगरी प्रज्ञापन पत्र समेत नभरी सामान आयात गर्ने गरेको पनि पाइएको छ भने विभिन्‍न मालसामान खरिद र बिक्री नजनाई भन्सार, आयकर, मुअ कर र लाभांश कर लगायतका राजस्व नतिर्ने तथा अर्कैको नाममा व्यवसाय सञ्चालन गरी तिर्नु पर्ने कर राजस्व नबुझाई आफूले लाभ लिएको अनुसन्धानमा खुलेको छ ।

यी कम्पनीबाट २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ बिगो असुल हुन बाँकी रहेको र जरिवानाबापत २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ गरी उक्त परिमाणमा असुलउपर गर्नुपर्ने विभागले मागदाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *