सान प्रजापति मृत्यु प्रकरणमा शेरउड कलेजका प्रिन्सिपल, वार्डेन र नर्स दोषी ठहर

भारतको उत्तराखण्डस्थित नैनीतालका मुख्य न्यायीक मजिष्ट्रेट रमेश सिंहको इजलासले नेपाली बिद्यार्थी सान प्रजापतिको मृत्युमा कलेज प्रशासनको गंभिर लापरवाही भएको ठहर गरेको छ ।

सिंहको इजलासले घटनाको ८ वर्षपछि बुधबार आफ्नो फैसला सुनाएको हो ।

सिंहको इजलासले नैनितालस्थित चर्चित शेरउड कलेजका प्रधानध्यापक अमनदीप शंधु, वार्डन रवीकुमार र नर्स पायललाई घटनामा लापरवाही गरेकाले दोषी ठहर गरेको हो ।

उनीहरुलाई जनही दुई वर्ष कैद र पचास हजार रुपैयाँ जरिवानाकाे सजाय भएकाे छ ।  उनीहरुलाई धारा ३०४ काे ए अनुसार सजाय फैसला भएकाे हाे ।

भारतमा फौजदारी प्रक्रिया संहिता अनुसार तीन वर्ष भन्दा कम सजाय भएकाहरुले पाउने सुविधा अनुसार उनीहरुलाई एक महिनाकाे अन्तरिम जमानत दिइएकाे छ ।

प्रजापति सो कलेजमा अध्ययनरत थिए । नोभेम्बर २०१४ मा मृत भेटिएका प्रजापतिको औषधोपचारमा कलेजले हेलचक्राई गरेको भन्दै परिवारले कलेज प्रशासन बिरुद्ध जाहेरी दिएको थियो ।

मृतककी आमाले भारतीय पीनाल कोडको सेक्सन ३०४(क) अनुसार लापरबाहीका कारण मृत्यु अन्तरगत स्कुल प्रशासन विरुद्ध  नोयडामा एफआईआर दर्ता गराएकी थिइन् ।

२०१५ डिसेम्बरमा अदालतमा पेस गरिएको सो अभियोगपत्रमा शेरउड कलेजका प्रिन्सिपल शंधु र अन्य दुई कर्मचारीहरु –रवि कुमार र डिस्पेन्सरीकी नर्स पायल पौलको नाम उल्लेख गरिएको थियो ।

१४ वर्षीय नेपाली छात्रलाई स्कूल प्रशासनले आवश्यक मेडिकल सहयोग दिन असफल भएपछि नोयडास्थित हस्पिटलमा सेप्टीसेमिया (रगतमा संक्रमण) का कारण मृत्यु भएको थियो ।

सान प्रजापति मृत्यु प्रकरणमा लगातार न्यायीक उपचारका लागि लडिरहेकी आमा निना श्रेष्ठले २०७४ मा प्रधानमन्त्री शेर बहादुर देउवालाई पत्र लेखेकी थिइन । यसमा भारतको नैनितालस्थित चर्चित शेरउड कलेजमा भएको नेपाली विद्यार्थी सान प्रजापतिको मृत्युको मुद्दामा प्रधानमन्त्री देउवाले चाँसो देखाएका थिए ।

प्रजापतिकी आमा नीना श्रेष्ठले जनवरी १९, २०१८ मा भारतीय अधिकारीहरुले आफ्नो छोराको मृत्युको छानबिनमा ढिलाई र हेलचेक्राई गरेको आरोप लगाउँदै देउवालाई पत्र लेखेकी थिइन् । उनले आफ्नो छोरालाई न्याय दिलाउन प्रमबाट सहयोग खोजेको पत्रमा उल्लेख गरेकी थिइन् ।

पत्रपछि प्रधानमन्त्री देउवाले नेपालका परराष्ट्र मन्त्रीलाई जनवरी २५, २०१८ मा पत्र लेखेर यो विषयमा बुझ्न भनेका थिए । भारतीय संचारमाध्यमका अनुसार त्यसपछि नयाँ दिल्ली स्थित नेपाली दुतावासले यो मुद्दालाई भारतीय अधिकारीहरु माझ प्रस्तुत गरेका थिए ।

दुतावासले भारतका विदेश मामिलासम्बन्धि युनियन मन्त्रालयलाई पत्र समेत लेखेको थियो । जसको प्रतिलिपी शेरउड कलेजका कार्यकारी प्रमुख प्रेम प्रकाश हविललाई पनि पठाइएको थियो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *