उपेन्द्रको एकलौटी निर्णय प्रधानमन्त्रीले नमान्ने, जसपाको मन्त्री हेरफेर रोकियो

जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर उपेन्द्र यादवको एकल निर्णय माने आफूसँग रहेका सांसदहरूले समर्थन फिर्ता लिने कुरा पहिल्यै नै जानकारी गराएपछि प्रधानमन्त्री  शेरबहादुर देउवाले जसपाभित्रको लफडा मिलाए मात्र मन्त्रीहरू हेरफेर गर्ने बताएका छन् ।

आफ्नो पार्टीका मन्त्रीहरू फेरबदलका लागि मंगलबार देउवालाई भेटेका उपेन्द्रलाई प्रधानमन्त्रीले पार्टीभित्र सहमति गरेर आउन सुझाएका थिए । प्रधानमन्त्रीले आफ्नो कुरा नसुनेपछि बाध्य भएर उपेन्द्रले बुधबार भट्टराईसँग भेट गरेर दुई दुई जना मन्त्री पठाउने प्रस्ताव गरेका थिए ।

तर भट्टराईले उपेन्द्रसँग सहमति गर्न मानेनन् । यस भेटमा बाबुरामले अब सँगै बस्ने अवस्था नभएको र आफूहरू मन्त्रीको कोटाका लागि सहमति नजनाउने स्पष्ट पारेका थिए ।

बाबुरामले सहमति नजनाएपछि बुधबार अपराह्न उपेन्द्रले संसदीय दलका अनौपचारिक बैठक बोलाएर तत्काल सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने वातावरण नरहेको प्रष्ट पारेका थिए ।

बाबुरामको पक्षमा हस्ताक्षर गरेका सांसदहरू समेतको बैठकमा उपेन्द्रले मन्त्री हेरफेरको लागि आफूलाई धेरै दबाब नदिन सासंदहरूलाई आग्रह गरेका थिए । तर बैठकमै सांसद प्रदीप यादव, मृगेन्द्र यादवसहितका सांसदहरूले तत्काल मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँको नाम बालुवाटार पठाउन दबाब दिएका थिए ।

नेकपा एस जस्तै पार्टीबाट औपचारिक निर्णय गरेर नै फिर्ता बोलाउने र नयाँको नाम पठाएपछि आÞफूहरूले प्रधानमन्त्रीलाई समेत दबाब दिने कुरा ती सांसदहरूले गरेका थिए ।

संसदीय दलको बैठकमा केहीबेर मन्त्री बन्ने आकांक्षी सांसदहरू र उपेन्द्र यादवबीच चर्काचर्की समेत भएपछि आक्रोशित उपेन्द्रले तत्काल मन्त्रीहरूको फेरबदल नहुने भन्दै ‘जसलाई पार्टी छोडेर जाने इच्छा छ ऊ आफ्नो निर्णय लिनमा स्वतन्त्र छ’ भन्ने आशय व्यक्त गरेका थिए ।

बाबूरामसंगको भेटमा उपेन्द्रले नमिल्ने भए सहमतिमै अलग्गिने प्रस्ताव राखेका थिए । बाबुरामले पनि उपेन्द्रको पार्टी सञ्चालन विधि र कार्यशैलीप्रति रोष प्रकट गर्दै सबै निर्णय एकलौटी नै गर्ने भए किन सँगै बस्ने कुरा भनेका थिए ।

सोमबार राति उपेन्द्रले आफू पक्षधर केन्द्रीय कार्यकारिणीका सदस्यहरूलाई बोलाएर सरकारमा रहेका चार वटै मन्त्रीहरू फिर्ता बोलाउने र नयाँ अनुहारलाई पठाउने निर्णय गरेका थिए । मन्त्रीको नाम पठाउने र पार्टी विरोधी गतिविधिमा संलग्न बाबुराम सहितका केही नेताहरूलाई कारबाही गर्ने अधिकार उपेन्द्रले लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर