प्रधानसेनापतिले पेन्टगनमा भेटदैं छन् अमेरिकी रक्षा र सैन्य अधिकारी

संयुक्त राज्य अमेरिकाको सदभाव भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बिहीवार पेन्टागनमा रक्षा मन्त्रालय तथा अमेरिकी सेनाका उच्च अधिकारीसँग भेटवार्ता गर्ने भएका छन्।

अमेरिकास्थित नेपाली दूतावासका अनुसार उनले यो भेटमा नेपाली र अमेरिकी सेनाबीचको सैन्य सहकार्य र सहयोग तथा सम्बन्ध बिस्तारका विषयमा छलफल गर्नेछन्।

दूतावासका अनुसार बिहीवार नै प्रधानसेनापति शर्मा न्यूयोर्क जानेछन् । त्यहाँ उनले संयुक्त राष्ट्रसँघका अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले बुधबार प्रधानसेनापति शर्मासहित भ्रमणदलका सदस्यको सम्मानमा भोजको आयोजना गरेका थिए ।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ लेवनन र सिरियामा खटिएको नेपाली फौजको अवस्था र वस्तुस्थितीको अध्ययन तथा निर्देशनपछि प्रधानसेनापति प्रभुराम शर्माले १३ असारदेखि संयुक्त राज्य अमेरिकाको भ्रमण थालेका थिए ।

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भर्जिनियास्थित ‘नेसनल म्युजियम अफ द मरिन क्रप्स’को अवलोकन गरेका छन्। सोही क्रममा उनले मरिन क्रप्स वार फाइटिङ लेवोरेटोरीका कमाण्डर केल बी इलिसनसँग छलफल तथा अन्तरक्रिया गरेका थिए।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले मरिन क्रप्स कमान्ड एन्ड स्टाफ कलेजको अवलोकन गरेका थिए। उनले कलेजले दिने तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए।

प्रधानसेनापति शर्मा १२ असारमा अमेरिका पुगेका हुन्। उनी लेबनान र सिरियाको भ्रमण सकेर अमेरिका गएका हुन् ।प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर