प्रधानसेनापतिद्वारा अमेरिकाको नेशनल डिफेन्स युनिभर्सिटीको भ्रमण

अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीले बुधबार वासिङटनस्थित नेशनल डिफेन्स युनिभर्सिटी (एनडीयू)को भ्रमण गरेको छ ।

त्यस अवसरमा प्रधानसेनापति शर्माले नेशनल वार कलेज (एनडब्ल्यूसी) को कमान्डान्ट ब्रिगेडिएर जनरल जेफ हर्लबेर्टसँग भेटघाट गरेका थिए । त्यसपछि उनले ‘नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्राटेजिक स्टडिजका पदाधिकारीहरुबाट शैक्षिक, गतिविधि, तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए ।

संयुक्त राज्य अमेरिकाको सदभाव भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बिहीवार नै पेन्टागनमा रक्षा मन्त्रालय तथा अमेरिकी सेनाका उच्च अधिकारीसँग भेटवार्ता गर्ने भएका छन् ।

अमेरिकास्थित नेपाली दूतावासका अनुसार उनले यो भेटमा नेपाली र अमेरिकी सेनाबीचको सैन्य सहकार्य र सहयोग तथा सम्बन्ध बिस्तारका विषयमा छलफल गर्नेछन् । दूतावासका अनुसार बिहीवार नै प्रधानसेनापति शर्मा न्यूयोर्क जानेछन् । त्यहाँ उनले संयुक्त राष्ट्रसँघका अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले बुधबार प्रधानसेनापति शर्मासहित भ्रमणदलका सदस्यको सम्मानमा भोजको आयोजना गरेका थिए ।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र सिरियामा खटिएको नेपाली फौजको अवस्था र वस्तुस्थितीको अध्ययन तथा निर्देशनपछि प्रधानसेनापति प्रभुराम शर्माले १३ असारदेखि संयुक्त राज्य अमेरिकाको भ्रमण थालेका थिए ।

प्रधानसेनापति शर्मा १२ असारमा अमेरिका पुगेका हुन् । उनी लेबनान र सिरियाको भ्रमण सकेर अमेरिका गएका हुन् । प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर