गैडा माफियाका ‘शुटर’ पक्राउ, जेलबाट रिहापछि पनि पुरानै कर्म

खुंखार गैंडाको खाग तस्करको रुपमा परिचित चितवनका रामकुमार प्रजा र बम बहादुर प्रजालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–१० घर भएका ४१ वर्षीय रामकुमारलाई असार १३ मा मकवानपुरबाट पक्राउ गरिएको हो ।

त्यस्तै कालिका नगरपालिका–९ घर भएका ४३ वर्षीय बमबहादुर प्रजालाई पनि सोही आरोपमा असार १६ मा धादिङको मलेखुबाट पक्राउ परेका हुन् ।
२०७७ कात्तिकमा उनीहरुले ४–४ वटा गैंडा मारेको चितवन राष्ट्रिय निकुञ्जले गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी केन्द्रीय अनुसन्धान ब्यूरोले निकुञ्जलाई बुझाएको छ । आरोपीलाई जिल्ला अदालत चितवनमा उपस्थित गराइने निकुञ्जको कार्यालयले जनाएको छ ।

यसअघि गैंडा मारेर खाग तस्करी गरेको कसुरमा रामकुमार प्रजा १० वर्ष जेल बसेर छुटेका हुन् ।

उनी २०६० देखि ०७० सम्म जेल बसेर रिहा भएका हुन् । बमबहादुर प्रजा २०६० देखी २०७५ सम्म १५ वर्ष जेल बसेर छुटेका हुन् । जेलबाट छुट्नासाथ उनीहरु फेरि गैंडा शिकार गरेर खाग बेच्ने धन्दामा सक्रिय भएको अनुसन्धानबाट थाहा भएको छ ।

रामकुमार प्रजाको भाई राजकुमारलाई प्रहरीले २०७१ मा मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।

२८ वटा गैंडा मारेको कसुरमा अहिले उनी जिल्ला कारागार चितवनमा कैद भुक्तान गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *