यूएन मिसनबारे प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका पदाधिकारीबीच वार्ता

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा प्रधानसेनापति महारथी शर्माले राष्ट्रसंघका उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गरेका थिए । भेटमा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं यूएन मिसनका विविध पक्षहरुका बारेमा छलफल भएको सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्माले सैन्य मामिला कार्यालय (ओएमए) का सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति परिचालन विभाग (डीपीओ) का उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, परिचालन सहयोग विभाग (डीओएस) का उपमहासचिव अतुल खरे र राजनीतिक र शान्ति निर्माण मामिला विभाग (डीपीपीए) का उपमहासचिव रोजमेरी डिकार्लोसँग भेटवार्ता गरेका हुन् ।

गत ४ असारमा लेबनान भ्रमणमा निस्किएका प्रधानसेनापति शर्माले ८ गतेदेखि सिरिया भ्रमण गरेका थिए । १३ असारदेखि अमेरिका भ्रमणमा रहेका उनी १९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै यूएन मिसन हरुको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरु सबल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने सेनाको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर