निजगढमा दुई धावनमार्गसहितको विमानस्थल बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

सत्तारुढ दलका शीर्ष नेता सहितको टोलीले निजगढ विमानस्थलको आज स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । प्रधानमन्त्री देउवाका साथै गठबन्धन दलका शीर्ष नेताले विमानस्थल बनाउनुपर्नेमा जोड दिएको अधिकारीले बताए ।

निजगढ विमानस्थल निर्माणस्थलको अवलोकनका लागि प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहितका नेता आज निजगढ पुगेको प्राधिकरणले जनाएको छ ।

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला आएको केही दिनमै प्रधानमन्त्रीसहितका गठबन्धन दलका शीर्ष नेताहरु अवलोकनका लागि निजगढ पुगेका हुन् ।

प्रधानमन्त्री नेतृत्वको टोली निजगढ विमानस्थल निर्माण क्षेत्रको स्थलगत अवलोकनपछि काठमाडौँ फर्किएको छ । उनीहरुले विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएको प्राधिकरणका महानिर्देशक अधिकारीले बताए ।

सर्वोच्च अदालतले विमानस्थलको काम अघि नबढाउन आदेश दिएको छ । अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न फैसलामा भनेको छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरणमन्त्री रामसहाय यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए ।

टोलीले जीतपुर–सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर