आईजीपी बढुवाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, २६ गते जवाफी बहस हुने

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई गरेको नियुक्तिविरुद्धको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा परेको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा आइतबार आईजीपी पक्षधर वकिलले बहस गरेका थिए ।

आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा बहस भएको हो।

आइतबार सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ताहरु भीमार्जुन आचार्य, सुशील पन्त, टीकाराम भट्टराईसहित रामनारायण बिडारी, तुलसी भट्ट, दिपेन्द्र झाले आईजीपी सिंहलाई गरिएको बढुवाको पक्षमा बहस गरेका हुन्।

त्यस्तै केदार प्रसाद दाहाल, बालकृष्ण ढकाल, ओमप्रकाश अर्याल, विपिन सुवेदी, चिरञ्जीवी उपाध्याय, श्यामकृष्ण खरेल, गोपालकृष्ण घिमिरे, असान्तन मल्ल, सुवास आचार्य, बलराम सुवेदी, निश्चल खरेल, मनोहरलाल श्रेष्ठ र गोकुल भण्डारीले पनि आइतबार बहस गरेका थिए ।

योसँगै आईजीपीका १९ वकिलको बहस सकिएको छ। इजलासले २३ गतेभित्र बहस नोट बुझाउन भनेको छ। त्यसपछि २६ गते जवाफी बहस हुनेछ भने सोही दिन फैसला आउने सम्भावना छ ।

आईजीपीको मुद्दामा वैशाख २२ गते प्रारम्भिक सुनुवाइ भएको थियो। यो मुद्दामा अन्तरिम आदेश नदिए पनि छिटोभन्दा छिटो टुङ्ग्याउन सर्वोच्चले आदेश दिएको थियो ।

जेठ १७ गते दोस्रोपटक पेशी तोकिएको थियो। त्यो दिन सुनुवाइ हुन नसकेपछि जेठ ३० गतेलाई अर्को पेशी तोकियो। अहिले भइरहेको यो अन्तिम सुनुवाइ हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर