सिंहदरबार वैद्यखानामा चार महिनापछि औषधि उत्पादन सुरु

चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ ।

धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो ।

काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्कने गरेकामा गत शुक्रबारदेखि फेरि उत्पादन सुरु भएपछि काम पाएका हुन् ।

आयुर्वेदिक औषधि उत्पादन गर्ने यो समिति आफैँ उपचार गर्नुपर्ने अवस्थामा पुगेकामा कार्यालय प्रमुखका रुपमा निमित्त कार्यकारी निर्देशक परिवर्तन भएपछि उत्पादन सुरु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत सोमबार कार्यालय प्रमुखका रुपमा निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादवलाई पठाएपछि उनको अग्रसरतामा शुक्रबारदेखि उत्पादन सुरु भएको हो ।

औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला पूर्वनिमित्त कार्यकारी निर्देशक डा. सबरी साहले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका थिए । डा. साहले भने उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने जनाउँदै काम नभएको बेलामा पनि तलब खुवाएर राखेको दाबी गरेका थिए ।

उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रासबाहेकका उत्पादन पाइँदैन । शुक्रबारदेखि उत्पादन सुरु भएको त्रिफला केही दिनदेखि समितिको बिक्री कक्ष एवं बजारमा समेत पठाइने जनाइएको छ । षडबिन्दु तेललगायत अन्य उत्पादन पनि केही दिनमै सुरु हुने भएको छ ।

यस्तै, उत्पादन र बिक्री नभएपछि चार महिनादेखि समितिका कर्मचारीले तलब पनि पाएका थिएनन् । निमित्त कार्यकारी निर्देशक यादवले हाजिर भएको एक सातामा कर्मचारीलाई चार महिनाको तलब बैंक खातामा पठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर