बाबुराम भट्टराईको नयाँ दल ‘समावेशी लोकतन्त्र पार्टी’ !

अध्यक्ष उपेन्द्र यादवसँग विवाद उत्कर्षमा पुग्दा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नयाँ राजनीतिक दल गठनको अन्तिम तयारीमा जुटेका छन् ।

नयाँ दल घोषणाको अन्तिम तयारीका लागि भट्टराईले २९ र ३० गते राजधानीमा बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । अध्यक्ष यादवले वीरगञ्जमा केन्द्रीय कमिटीको बैठक बोलाए लगत्तै भट्टराईले छुट्टै बैठक बोलाएका हुन् । यादवले असार २७ र २८ का लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

पार्टीभित्र विवाद उत्कर्ष पुगेकोको समयमा भएको समानान्तर बैठकले विभाजन निकट पुगेको देखिएको छ ।

भट्टराई निकट स्रोतका अनुसार काठमाडौंमा हुने बैठकमा उपस्थितिलाई हेरेर उनले नयाँ राजनीतिक दल खोल्ने संभावना रहेको बताएका छन् ।
पार्टीमा विवाद देखिन थालेपछि जसपा नेता तथा भट्टराई पत्नि हिसिला यमीको पहलमा गत फागुनमै निर्वाचन आयोगमा समावेशी लोकतन्त्र पार्टी पनि दर्ता भएको छ । अध्यक्ष दीपक लामिछाने रहेको उक्त पार्टीको चुनाव चिह्न खुलेको एक आँखा छ ।

भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि चुनाव चिह्न पनि खुलेको एक आँखा थियो । उक्त चुनाव चिह्न सुरक्षित गर्न पार्टी दर्ता गराइएको स्रोतको भनाइ छ । त्यही पार्टीलाई निरन्तरता दिने वा नयाँ दर्ता गर्ने भन्नेबारे विस्तारित बैठकले तय गर्ने भएको छ ।

सोमबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष यादवको सिफारिसअनुसार सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फेरबदल गरेका छन् । अध्यक्ष यादवको सिफारिस कार्यान्वयन नगर्न भट्टराईले प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

यादवको सिफारिअनुसार मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री, प्रदीप यादव वन तथा वातावरण र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् ।

यादवले पार्टीको भित्रको आन्तरिक विवादमा लामो समयदेखि भट्टराईलाई साथ दिँदै आएका राई र यादवलाई मन्त्री बनाएर आफूलाई मजबुत बताएका छन् ।

भट्टराईले पार्टी विभाजनको सम्भावना देखेपछि नै विभिन्न राजनीतिक शक्तिसँग संवाद जारी राखेका छन् । एक नेताका अनुसार उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेतासँग सहकार्यबारे छलफल गरिरहेका छन् ।

दाहालसँगको संवादलाई लिएर भट्टराई पुनः माओवादीमा फर्किने चर्चा पनि चलेको छ । उपराष्ट्रपति निवास लैनचौरमा दाहाल र भट्टराईले पटक–पटक एक्लाएक्लै संवाद गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *