प्रहरीमा काजले बेथिति बढाएको भन्दै नयाँ नियम

प्रहरी प्रधान कार्यालयस्थित प्रशासन शाखाले काजमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई तोकिएकै स्थानमा फिर्ता हुन परिपत्र गरेको छ ।

कर्मचारी प्रशासन शाखाले प्रहरी नियमावली २०७१ को नियम ५२ विपरीत काज सरुवा माग्ने र दिने गर्दा त्यसको दुरुपयोग भएको भन्दै नयाँ नियम बनाएको हो ।

प्रहरी प्रधान कार्यालयले काज सरुवा र बढुवाका लागि चेन अफ कमाण्ड तोड्दै विभिन्न शक्ति केन्द्रबाट सिफारिस गर्न लगाउने कार्य संगठनको अनुशासन विपरीत भएको भन्दै यस्तो गर्ने गराउनेलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

प्रहरी प्रधान कार्यालयले सातवटै प्रदेश कार्यालयकासहित सम्पूर्ण प्रहरी कार्यालयमा मंगलबार गरेको परिपत्रअनुसार प्रदेश प्रहरी कार्यालय र प्रदेश ट्राफिक कार्यालयबाट घर ठेगाना भएका स्थानमा प्रहरी कर्मचारीको काज गरिएकाले त्यो रद्द गर्नसमेत भनेको छ ।

परिपत्रमा प्रहरी कर्मचारीलाई काज खटाउने सम्बन्धमा नियमावलीको जानकारी दिने, काज छ महिना मात्र खटाउने, पुनः नवीकरण नगर्ने र उनीहरुलाई दरबन्दी कायम रहेको स्थानमा फिर्ता गर्ने व्यवस्था गरिएको उल्लेख छ ।

प्रहरी अधिकृतहरुले आफूमुनिका मकर्मचारीको गुनासो पीरमर्का विश्लेषण गरी आफ्नो क्षेत्राधिकार नपर्ने भए तत्काल समाधान गर्ने वा माथि लेखी पठाउनुपर्ने परिपत्रमा उल्लेख छ ।

त्यस्तै प्रदेश प्रहरी कार्यालयलाई प्रहरी कर्मचारीको काज सरुवा उसकै घर जिल्लामा गर्न रोक लगाइएको छ ।

एउटै कार्यालयमा लामो समय बसेका कर्मचारीलाई सरुवा भएको स्थानबाट पुनः त्यही स्थानमा काज सरुवा नगर्ने तथा प्रहरी कर्मचारीले विशेष गम्भीर स्वास्थ्य समस्या र अवकाश हुन लागेको समयमा बाहेक काज माग गर्न नपाउने पनि परिपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर