बागमती मुख्यमन्त्री परिवर्तनको ‘च्याप्टर क्लोज’

सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुले हस्ताक्षेप गरेपछि बागमती प्रदेश मुख्यमन्त्री परिवर्तन नहुने भएको छ ।

लिखित सहमतिअनुसार नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले मुख्यमन्त्रीको दावी गर्दै आएका थिए ।

गत कातिकमा कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच राजेन्द्रप्रसाद पाण्डे र बानियाँबीच आलोपालो मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।  पहिलो आधा कार्यकालका लागि नेकपा एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए ।

बागमती प्रदेशमा बजेट पारित भए लगत्तै कांग्रेस र नेकपा माओवादीका सांसदहरुले नयाँ सरकार गठनको प्रयास शुरु गरेका थिए । सरकार परिवर्तनका लागि दबाब दिन उनीहरुको हस्ताक्षर संकलन समेत गरेका थिए।

तर पाण्डेले भने केन्द्रको निर्णयअनुसार मुख्यमन्त्री बनेको भन्दै गठबन्धनले गर्ने निर्णयलाई मात्रै आफूले स्वीकार्ने अडान राख्दै आएका थिए । गठबन्धनभित्र सात प्रदेश मध्ये कांग्रेस, माओवादी र एकीकृत समाजवादीले २-२ वटा प्रदेशको नेतृत्व गर्ने सहमति थियो ।

गठबन्धनको सो निर्णयलाई आधार बनाएर एकीकृत समाजवादीले बागमतीको  नेतृत्व छाड्दा अर्को प्रदेशको नेतृत्व पाउनु पर्ने जनाएको थियो ।

अहिले प्रदेश १ र बागमतीमा एकीकृत समाजवादी, मधेश प्रदेशमा जनता समाजवादी पार्टी,गण्डकी र कर्णालीमा नेपाली कांग्रेस तथा लुम्बिनी र सुदुर पश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्री रहेको छ।

सो पार्टीले सुदुर पश्चिम प्रदेशको नेतृत्व दावी गर्दै आएको थियो । अहिले सुदुर पश्चिम प्रदेशमा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।
तर आमनिर्वाचनको मुख्यमा एकपछि अर्को गर्दै मुख्यमन्त्री परिर्वतन गर्दा त्यसले नकारात्मक सन्देश जाने भएपछि केन्द्रले हस्ताक्षेप गर्दै बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तनको ‘च्याप्टर क्लोज’ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर