छानबिन समितिलाई मार्गप्रशस्त गर्दै अर्थमन्त्रीले गरे राजीनामा घोषणा (भिडियाे)

अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले आफूले पदबाट राजीनामा दिएको बताए ।

विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उनले आफूले भने त्यसो नगर्ने बताए । उनले छानबिन समितिको काम कारबाहीलाई सहज बनाउन पदबाट राजीनामा दिएको बताए ।

त्यसअघि प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रतिपक्षी दलले आफूप्रति पूर्वाग्रह देखाएको भए पनि सहमतिमा छानबिन समिति गठन भएको बताए ।

समितिले छानबिन गरोस् भन्ने आग्रह गर्दै उनले आफूबाट कुनै पनि अनधिकृत काम नभएको स्पष्ट पारे । तोकिएको मानिसबाहेक बजेट निर्माणका अन्य कोही पनि मानिस संलग्न नभएको उनले दोहोर्‍याए । उनले भने, “सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । यो राजनीतिक प्रतिशोध हो ।”

उनले आफूविरुद्ध अनेक कथा बुनिएको भन्दै गलत प्रचारको खण्डन गरे । अर्थमन्त्रीले मन्त्रालयमा राखिएको सीसीटीभीको क्षमताका बारेमा थाहा नभएको र आफूले त्यसका बारेमा कुनै चासो नराखेको बताए । विगतमा अनधिकृतरूपमा सुपारी, केराउ र मरिच आयात गरेर तस्करी गर्ने गरिएको जानकारी दिँदै उनले त्यसलाई आफूले रोकिदिएको बताए ।

आगामी आवको बजेटमा विलासी विद्युतीय सवारी साधनको हकमा सामान्य मात्रै करको दर हेरफेर गरिएको उनले जानकारी दिए । मन्त्री शर्माले माइतीघर मण्डलमा ‘रातो कर माफ गर’ भन्दै महिलाले गरेको आन्दोलन र उनीहरूले उठाएको माग सम्बोधन गर्न स्यानेटरी प्याडमा कर छुट दिइएको बताए ।

निर्यात बढाउने लक्ष्यका साथ आफूले बजेटमा विशेष प्रबन्ध गरेको, कृषि क्षेत्रको विकासमा जोड दिएको तथा समाजमा सबै वर्ग तथा क्षेत्रलाई उत्साहित बनाएको उनले स्पष्ट पारे ।

अर्थमन्त्रीले विगतमा बच्चाले खाने दूधमा कर बढाएर चकलेट आयातमा कर घटाइएको तथ्यसमेत पेश गरे । सीमित व्यक्तिलाई लाभ हुने गरी विगतमा करका दरमा हेरफेर गरिएको भन्दै उनले आफूले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिएकाले विरोध गरिएको त होइन? भन्ने प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर