बाजुरा बुढीगंगाको त्रिशक्ति मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर

बाजुराको बुढीगंगा नगरपालिकामा पुनःनिर्वाचनका क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ । मतदानका क्रममा वडा नम्बर ९ स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोज्दा झडप भएको बताइएको छ ।

झडपमा गठबन्धन र एमाले कार्यकर्ता घाइते भएका छन् । गठबन्धनका तर्फवाट उम्मेदवार रहेका भरत थापा र एजेण्ट लक्ष्मण थापा घाइते भएका छन् । मतदान केन्दमा विवाद भएपछि करिब १५ मिनेट मतदान स्थगित गरिएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले राससलाई बताएका छन् ।

‘केहीबेर विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ उनले भने, ‘करिब १५ मिनेट मतदान स्थगित भयो । अब पुनः मतदान सुरु भएको छ ।’

गत ३० वैशाखमा स्थगित मतदान बिहीवार बिहान ७ बजेदेखि पुनः प्रारम्भ गरिएको हो । यहाँ नगरप्रमुखको पदमा नेपाली कांग्रेसका रङ्ग खाती र एमालेका रामबहादुर बाँनिया उम्मेदवार छन् ।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

यसअघिको मतदानका क्रममा दशमध्ये छ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । निर्धारित समयमा मतदान हुन नसक्दा उक्त नगरपालिका जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर