अर्थमन्त्रीको राजीनामापछि अन्य मन्त्रीलाई कामको विवरण उपलब्ध गराउन दाहालकाे निर्देशन

नेकपा (माओवादी केन्द्र) ले गठबन्धन सरकारका सहभागी मन्त्रीलाई आफ्नो मन्त्रालयमा भए/गरेका सकारात्मक कामको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

पार्टी केन्द्रीय समितिको कमलादीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेर देश र जनताको पक्षमा भए÷गरेका सकारात्मक कामको विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

२०७८ असार २९ गते गठन भएको वर्तमान गठबन्धन सरकारमा माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन् ।

यसमध्ये बजेट निर्माणको अन्तिम दिन अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले बुधबारमात्रै राजीनामा दिएका हुन् । मन्त्रिपरिषद्मा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीका रूपमा बोधमायाकुमारी यादव पनि सहभागी छन् ।

अध्यक्ष दाहालले वर्तमान सरकारमा माओवादीका तर्फबाट महत्वपूर्ण काम भएको भए पनि त्यसको व्यापक मात्रामा प्रचार–प्रसार हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले विपन्न नागरिकलाई २० युनिटसम्म बिजुली महसुलमा छुट दिने, आर्थिक वृद्धि र विकासमा दिइएको जोड तथा शिक्षा, भूमिलगायतका विषयमा मन्त्रीहरूले गरेको काम महत्वपूर्ण रहेको बताए ।

उनले आफूले गरेका कामको सम्पूर्ण विवरण उपलब्ध गराउन मन्त्रीहरूलाई निर्देशन दिँदै देश र जनताको पक्षमा बढीभन्दा बढी इमान्दार भएर काम गर्न आग्रह गरे ।

यस्तै अध्यक्ष दाहालले काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रमा पार्टीको संगठन कमजोर हुनुको कारण खोजिने बताए । त्यसको अध्ययनका लागि एक समिति बनाइने उनले जानकारी दिए । त्यस्तै विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मा भएको विवाद समाधानका लागि पनि विशेष पहल गरिने बताए ।

उनले स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुको पछाडी अन्तर्घात पनि एउटा कारण भएकाले त्यसको खोजबिन गरिने बताए।

त्यसका लागि अनुशासन आयोगलाई जिम्मा दिइने उनको भनाइ छ । अध्यक्ष दाहालले माओवादीले छिट्टै विशेष महाधिवेशनको आयोजना गर्ने बताए । उनले पार्टीको क्रान्तिकारी चरित्र निर्माण गर्ने तथा संघर्षका कार्यक्रमलाई प्रमुख प्राथमिकताका साथ सञ्चालन गर्ने योजनासमेत ल्याइने बताए ।

अध्यक्ष दाहालको सम्बोधनपछि केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिवेदन पारित गरेको छ । आइतबारदेखि सुरु भएको बैठकमा उनले १० पेज लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका थिए । केन्द्रीय समितिको बैठक जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर