अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन र सीमा अपराध रोक्न नेपाली सेनाले लियो अग्रसरता

नेपाली सेनाले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनलाई सुदृढीकरण गर्न अग्रसरता लिएको छ । उसले सरोकारवाला मन्त्रालय, विभाग तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूलाई सहभागी गराई ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु’ विषयक दुई दिने छलफल आयोजना गरेको हो ।

सेनको सीमा अनुगमन तथा सर्भे निर्देशनालयले आयोजना गरेको दुई दिने छलफल प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा बिहीवार समापन भएको छ ।

समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानसेनापति शर्माले नेपाली सेनाले सदैव नेपाल सरकारको आदेश र निर्देशनमा कठिनता वा प्रतिकूलतालाई बेवास्ता गर्दै, नितान्त राष्ट्र सेवा प्रतिको समर्पणद्वारा अभिप्रेरित भई कार्य गर्ने गरेको बताए ।

उनले नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु मध्ये सीमा सुरक्षाको विषयलाई हरदम राष्ट्रिय सुरक्षा र क्षेत्रीय अखण्डतासँग जोड्दै निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आइरहेको जानकारी दिए ।

प्रधानसेनापति शर्माले समस्या जस्तोसुकै विकराल र जटिल भएतापनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवाञ्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो भई प्रयासरत रहनुको विकल्प नभएकोले सबै सम्बद्ध निकायहरुबीच निरन्तर समन्वय र सहकार्य अपरिहार्य रहेको समेत बताए ।

रक्षा सचिव किरण राज शर्माले, सीमा सुरक्षा तथा व्यवस्थापनको पक्षबाट समग्र राष्ट्रिय सुरक्षा सुदृढीकरण कार्यका लागी नेपाल सरकारका सम्बद्ध विभिन्न निकायहरु बीच पारस्परिक समन्वय र सहकार्य अपरिहार्य रहेको बताए । उनले आगामी दिनहरूमा सीमा सुरक्षालाई प्रविधि मैत्री र आधुनिक भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने नीति अन्तर्गत आवश्यक कदमहरू अघि सारेको जानकारी गराएका थिए ।

नेपालको अन्तर्राष्ट्रिय सिमानाको वर्तमान अवस्था, सीमा सुरक्षा र व्यवस्थापनमा देखिएका चुनौती तथा सुधारका क्षेत्रहरु, नेपालको अन्तर्राष्ट्रिय सिमानामा हुने अवैध गतिविधि र सोको निराकरणका उपायहरु, सीमा सुरक्षामा नेपाली सेनाको जिम्मेवारी तथा एकीकृत सीमा सुरक्षा अवधारणाको आवश्यकता, सीमा सुरक्षा तथा व्यवस्थापनमा राष्ट्रिय अनुसन्धान विभागको जिम्मेवारी एवं भूमिका र सीमा सुरक्षामा दीर्घकालीन रुपमा खलल पुर्‍याउने विषय तथा नियन्त्रणका उपायहरु, राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा सीमा व्यवस्थापन, वर्तमान अवस्था र भावी कार्य दिशा, नेपालको सीमा विवाद समाधानका लागि भइरहेको कुटनीतिक पहल र आगामी कार्य योजना र नेपालको अन्तर्राष्ट्रिय सिमानाको सिमांकन सम्बन्धी प्राविधिक पक्ष लगायतका विषयहरूमा प्रस्तुतीकरण, प्रतिक्रिया तथा छलफल संचालन भएको थियो ।

छलफलमा नेपाली सेनाका रथीहरु तथा अधिकृतहरु, विभिन्न मन्त्रालयका सह सचिवहरु, सीमाविद् तथा अन्तर्राष्ट्रिय कानुनका अध्ययनकर्ता, नापी विभागका उप महानिर्देशक, राष्ट्रिय सुरक्षा परिषद्का सहायक संयोजक, नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षक तथा प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा अनुसन्धान निर्देशक, वरिष्ठ सीमाविदहरु लगायत सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनका चुनौतीहरु पहिचान गर्न, नेपालको अन्तर्राष्ट्रिय सीमामा हुने गरेका विभिन्न अवैध गतिविधिहरु नियन्त्रण गर्न तथा सीमा सुरक्षाका लागि नविनतम योजनाहरु तयार गरी कार्यान्वयनमा ल्याउन यस प्रकारका छलफलहरु प्रभावकारी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर