वामपन्थी दलहरुलाई जुटाउन चीन सक्रिय, वरिष्ठ चिनियाँ अधिकारी नेपाल आउँदै

सरकारले आमनिर्वाचनको मिति घोषणाको तयारी गर्दैगर्दा एक वरिष्ठ चिनियाँ अधिकारी नेपाल भ्रमणमा आउन लागेका छन् । निर्वाचन आयोगले मंसिरको पहिलो साता आमनिर्वाचनको मिति घोषणा गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका नवनियुक्त प्रमुख लिउ जियान्चाओ चार दिने भ्रमणमा आइतबार नेपाल आउन लागेका हुन् ।

गत महिना मात्रै पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख भएका लिउको भ्रमणलाई चिनियाँ तथा नेपाली अधिकारीहरुले परिचयात्मक भनेका छन् ।

सोङ ताओको स्थानमा लिउ प्रमुखमा नियुक्त भएका हुन । सोङ नेपालका राजनीतिक दलहरुसँग प्रत्यक्ष सम्बन्ध भएका नेता हुन् ।

चार दिने नेपाल भ्रमणको क्रममा प्रमुख लिउले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट गर्ने छन् ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु भेट्ने कार्यक्रम रहेको छ ।

विदेश विभागको प्रमुख भएपछि लिउले गत साता एमाले अध्यक्ष ओली र मा‌ओवादी अध्यक्ष दाहाल र यसै साता परराष्ट्रमन्त्री नारायण खड्कासँग भिडियो संवाद गरेका थिए ।

चिनियाँ सरकारले नेपालमा सकेसम्म वामपन्थी दलहरुबीच एकता गराउने नभए गठबन्धनका लागि दबाब दिँदै आएको छ । चुनावको मिति घोषणा अघि आउन लागेका चिनियाँ वरिष्ठ अधिकारी लिउको पनि जोड पनि त्यसमै हुने देखिन्छ ।

२०७४ सालको आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन र त्यसपछि भएको एकतामा पनि चिनियाँ अधिकारीहरुले पर्दा पछाडिबाट सक्रिय भूमिका निर्वाह गरेका थिए ।

नेकपाको शासनकालमा दुवै देशका कम्युनिष्टबीचको सहकार्य नयाँ उचाईमा पुगेको थियो । नेकपाभित्रको विभाजन रोक्नका लागि चिनियाँहरुको दौडधूप निकै चलेको थियो । तर पनि त्यसलाई टार्न भने सकेनन् । नेकपा विभाजनलाई कतिपयले भूराजनीतिक प्रतिस्पर्धा चिनियाँ पक्षको हारको रुपमा व्याख्या गरेका थिए ।

त्यस यता पनि चिनियाँ अधिकारीहरुको जोड देशका कम्युनिष्टहरुबीच एकता गराउनमै रहँदै आएको छ ।

सामारिक प्रतिस्पर्धामा रहेको अमेरिकासँग नेपालको निकटता बढेको भन्दै असन्तुष्ट रहेको चीनले नेपालमाथि दबाब बढाउँदै लगेको छ ।

अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना सञ्चालन गर्ने नेपाली संसदले अनुमोदन गरेको विषयमा चीनले असन्तुष्टि सार्वजनिक भएको थियो ।

चीन सरकारका अधिकारीहरु अमेरिकासँग वाकयुद्धमा उत्रिएका थिए । अमेरिकासँग ७ दशक कुटनीति सम्बन्ध रहेको अमेरिका र नेपालबीचको सम्बन्धमा तेस्रो देशको टिप्पणीलाई नेपाली नागरिक समाज र कुटनीतिक वृत्तले अश्ववाविक चासोको रुपमा लिएको थियो ।

त्यसो त अमेरिकी अधिकारीले नेपालमा एमसीसीको विषयमा यति ठूलो विवादको पछि चिनियाँहरुको भूमिका भएको ठान्दछन् । जसका विरुद्ध कम्युनिष्ट र राजावादीहरुलाई चिनियाँ पक्षले उतारेको ठम्याइ छ ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल रोक्ने निर्णयपछि चिनियाँ अधिकारीहरुले खुशी व्यक्त गरेका थिए ।

लिउ चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण गरेपछि नेपाल आउने सबैभन्दा उच्चस्तरका अधिकारी हुने छन् । चीनमा लिउको हैसियत मन्त्रीको बराबरी रहेको छ ।

लिउको भ्रमणपछि परराष्ट्र मन्त्री नारायण खड्का चीन भ्रमणको बाटो खुल्ने अपेक्षा धेरैले गरेका छन् ।

चीनसँगको सम्बन्धमा चिसोपन आउँदै गर्दा नेपालको निरन्तरको प्रयास बाबजुत परराष्ट्रमन्त्री खडकाको चीन भ्रमण हुन सकेको छैन । उनी १० महिना अघि परराष्ट्रमन्त्री बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर