नेपालीसँग विवाह गर्ने विदेशी महिलाले तुरुन्तै नागरिकता पाउने विधेयक संसदमा दर्ता

सरकारले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले लगत्तै नागरिकता पाउने खुकुलो व्यवस्थासहितको नागरिकता विधेयक संसदमा दर्ता गराएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच संसदमा दर्ता भएको ४ वर्ष पुरानो नागरिकता विधेयक फिर्ता लिएको सरकारले शुक्रबार नै नयाँ विधेयक संसदमा दर्ता गरेको हो । नयाँ नागरिकता विधेयक स्वीकृत गर्न शुक्रबार नै मन्त्रिपरिषदको बैठक बसेको थियो ।

नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो ।

शुक्रबार संसदबाट फिर्ता लिएको विधेयकमा भने नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले निरन्तर रुपमा सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था थियो ।

संसदमा प्रस्तुत गरिएको नागरिक ऐनको दफा ५ मा विदेशी बुहारीको हकमा नागरिकता लिने सम्बन्धी व्यवस्था गरिएको छ ।

जसमा विदेशी नागरिकता त्याग्न कारबाही चलाएको निस्सा पेश गरेमा नागरिकता पाउने व्यवस्था छ । २०७५ साल साउन ४ गते सरकारले प्रस्तुत गरेको विधेयकमा ६ महिनाभित्र भनिएको थियो ।

नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिन हदम्याद राख्ने वा नराख्ने विषयमा राज्य व्यवस्था समितिमा सत्तारुढ दलभित्र ठूलो विवाद सिर्जना भएको थियो । विवाह गर्ने महिलाको हकमा ७ वर्षको व्यवस्था गरिएको थियो ।

मधेशवादी दलहरु सात वर्षे प्रवाधानप्रति असन्तुष्ट रहेका थिए । उनीहरुले तराई मधेशमा हुने विवाह प्रभावित हुने बताउँदै आएका थिए ।

भारत पनि भारतीय नागरिकसँग विवाह गर्ने विदेशी महिलाका लागि सात वर्षे प्रावधान राखिएको तर्क अघि सारेर समय सिमा राख्नु पर्ने सांसदहरुको रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *