१५ वर्षीय मेहेकः बालविवाहले चुढेको एउटा कोपिला

मेहेक महतो* चितवन माडीको सोमेश्वर माध्यामिक विद्यालयकी छात्रा हुन्। उनी २०७७ सालमा कक्षा ९ की विद्यार्थी थिइन्। त्यतिबेला उनको उमेर १४ वर्षको थियो। सोही विद्यालयमा उनकै क्लासमा पढ्थे “क”* पञ्जियार। उनी मेहेकभन्दा १ वर्ष जेठा अर्थात् १५ वर्षका।

दुवैजना एकै कक्षामा पढ्ने विद्यार्थी। सोही विद्यालयमा पढ्दा पढ्दै एकअर्काप्रति आकर्षित भए। प्रहरीकै भनाइमा दुईजनाबीच गाढा माया थियो । त्यसकै परिणाम २०७७ साल पुस मसान्तमा मेहेक “क”सँग भागिन्। अर्थात्, उनीहरूले स्वेच्छाले विवाह गरे।

नेपालको कानूनले २० वर्षमुनि विवाहमा रोक लगाएको छ। एकातिर बालविवाह स्वतः बदर हुन्छ। अर्कोतिर मेहेक र “क” दुबै नाबालक नै थिए। त्यसैले उनीहरूको विवाह परिवारमा स्वीकार्य हुने कुरै भएन।

मेहेकले स्वेच्छाले भागेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय माडीमा आमा उर्मिलाले जाहेरी दिइन्। जाहेरीपछि प्रहरीको सहयोगमा परिवारले उनलाई “क”सँग छुटाएर घर ल्याए। फेरि यस्तो काम नगर्ने सहमति पनि प्रहरीमै भयो।

मेहेक घर फर्किएको केही दिन विद्यालय गइनन्। परिवारमा बुबाआमालाई छोरीलाई राम्रो शिक्षा दिने चाहना थियो। त्यसैले पुनः विद्यालय पठाउन थाले। “क” पनि नियमित विद्यालय जान थाले। विद्यालय सुरु भएसँगै प्रहरी र आफन्तले छुटाएका बालक र बालिका बीचको आकर्षण पुनः बढ्यो।

मेहेककी आमा उर्मिला भन्छिन्, ‘घर फर्काएको एक महिना दश दिनपछि अर्थात् चैत १० गते फेरि मेहेकलाई “क”ले भगाए।’

मेहेककी बुबा उत्तम प्रहरीका जागिरे हुन्। नारायणहिटीमा उनको जागिर छ। त्यसैले मेहेक, उनकी एक बहिनी, एक भाइ र आमा हजुरबुबा हजुरआमासँगै बस्छन्। मेहेक पुनः भागेपछि तत्कालै परिवारले इलाका प्रहरी कार्यालय माडीमा जाहेरी दिए। एक रातपछि प्रहरी र परिवार मिलेर उनलाई घर फर्काए।

त्यसपछि भने करिब वर्षदिन उनी परिवारसँगै बसिन्। विद्यालय पनि नियमित जान्थिन। तर, “क” भने कक्षा ९ उत्तीर्ण भएनन्। मेहेक विद्यालय गइरहन्थिन्। कक्षा १० को पढाइ चलिरहेको थियो। एसईई नजिकै आइरहेको थियो। परिवार पनि छोरीले नियमित पढाइ अगाडि बढाएकोमा खुसी थिए।

तर, २०७८ मंसिर १ गते पढ्न गएकी मेहेक घर फर्किनन्। उनी फेरि “क”सँगै स्वेच्छाले भागिछन्। छोरी घर नआएको थाहा पाएपछि तस्वीरसहित आमाले इलाका प्रहरी कार्यालय माडीमा जाहेरी दिइन्।

यो पटक भने प्रहरी पनि उनीहरूको लागि सहयोगी भएन। उर्मिला भन्छिन्, ‘तिमीहरूको छोरी बिहे गरेर गइसकिन। कतिपटक फर्काएर ल्याउने भनेर प्रहरीले हामीलाई सहयोग गरेन।’

अघिल्ला पटक छोरासँग आएकी नाबालिका फर्काउन सहयोगी भएका “क”का परिवारका आमाबुबाले पनि यो पटक मेहेकलाई फर्काउन रुचि देखाएनन्। बरु केही समय आफन्तको घरमा पठाएर दुबै बालकको विवाहमा सहयोगी बने।

माडी नगरपालिका वडा नम्बर २ नयाँपर्सा मेहेकको घर हो। भने, सोही वडाको चिरौली गाउँमा “क”को घर छ। दुबै जनाको घर आउजाउ गर्न लाग्ने दुरी करिब १५ मिनेटको मात्रै रहेको मेहेकका हजुरबुबा सिताराम महतो बताउँछन्।

त्यति थोरै दूरी भएपनि मेहेकलाई “क”को घरमा परिवारले भेटेनन्। पटक पटक खोज्दा समेत छोरी नभेटिएपछि प्रहरीलाई भन्दा छाडिदेऊ अब बिहे गरिसकी भन्ने जवाफ आएको उनको परिवारले बताए।

आफूहरूले खोज्छन् भनेर माडीबाट पूर्वी चितवनमा रहेको “क”को मामाघर त कहिले फुपुको घरमा लुकाएर छोरीलाई फर्काउन नदिएको उनको परिवारको दाबी छ।

“क”का मामा पनि नेपाल प्रहरीका जागिरे हुन्। उनैको घरमा लुकाएको थाहा पाएर छोरी फर्काइदिन अनुरोध गर्दै फोन गरेपछि भोलिपल्ट बिहानै मामाले छोरीलाई फोन संवाद गराएको आमा उर्मिलाको स्मृतिमा ताजै छ। भन्छिन्, ‘फोनमा म जहाँ छु खुसी छु। मलाई खोज्ने दुःख नगर्नु भनी। त्यसपछि फोन काटेकी छोरीसँग फेरि बोली सुन्न पाइन।’

छोरी फर्काउन नसकेर उसकै खुसी भनेर बसेका आमाबुबा यहि असार १६ गतेको अप्रत्यासित खबरले छाँगाबाट खसेझैँ भए।

‘बेलुका साढे ६ बजेतिर छोरीको छिमेकीले तिम्री छोरी झुन्डेर आत्महत्या गरी भनेर खबर आएपछि थचक्कै भुँइमा बसेँ,’ उर्मिलाले भनिन्।

मेहेकको परिवारका अनुसार दिउँसै घरभित्र झुन्डिएकी छोरीबारे १५ मिनेटको दूरीमा रहेको आफ्नो परिवारलाई “क”को परिवारले खबरै गरेनन्। बेलुका साढे ६ बजे पुग्दा डोरी आफै काटिसकेका उनीहरूको दाबी छ।

जबरजस्ती विवाह भनेर लगेको छोरी ६ महिना पूरा नहुँदै आत्महत्या गरेको छिमेकीबाट थाहा पाएपछि मेहेकका परिवारले आत्महत्या नभइ “क” र उनका परिवारले हत्या गरेको जाहेरी प्रहरीलाई दिएका छन्।

“क” अहिले पनि नाबालक नै छन्। चितवन प्रहरीका अनुसार “क”को उमेर १६ वर्ष ९ महिना मात्रै पुगेको छ। मेहेक त आउँदो साउनमा बल्ल १५ वर्ष पुग्दै थिइन्।

मेहेकलाई फर्काउनुको सट्टा मृत्युसम्म गराएको आरोप लगाउँदै उनका आमा लगायत परिवारले “क” सहित उनका बुबा दुर्गा पञ्जियार र आमा जयरमीया कुमारी पञ्जियार विरुद्ध हत्या, बलात्कार, शरीर बन्धक तथा अपहरण अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीका अनुसार घटनाका आरोपी भनिएकालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। भने यस घटनामा बालबालिकाबीच भएको सम्बन्ध छुटाउन दुबै परिवारले बलियो भूमिका नगरेको कारण बालिकाको ज्यान जाने अवस्था आएको एसपी अधिकारीले विश्लेषण गरेका छन् ।

‘घटनाको थप जानकारीको लागि भने हामी अनुसन्धानमा नै छौँ। तर, बालबालिकाको सम्बन्धमा परिवार संवेदनशील नहुँदा भएको गम्भीर परिणामका रुपमा भने यो घटनालाई लिन सकिन्छ,’ एसपी अधिकारीले भने ।

(*मेहेक महतो परिवारको अनुमतिले नाम र तस्बिर प्रयोग गरिएको हो भने * “क” अझै नाबालिक भएकाले यहाँ नाम प्रयोग गरिएको छैन।)

श्रोतः आइएनएस–स्वतन्त्र समाचार

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर