प्रदर्शनकारीबाट बच्न निवासबाट भागे श्रीलंकाली राष्ट्रपति

हजारौं प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्ष भागेका छन् ।

शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित स्थानतर्फ प्रस्थान गरेको डेलि मिरर दैनिकले उल्लेख गरेको छ ।

राष्ट्रपति निवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ।

यसअघि आन्दोलनकारीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसध्यामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । स्थानीय समय अनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कर्फ्यु आदेश जारी गरिएको हो । कर्फ्य कार्यान्वयनका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।

राष्ट्रपति गोटाबाय राजपाक्षले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बहिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै श्रीलंकामा प्रदर्शन भइरहेको हो ।

त्यस्तै प्रधानमन्त्री पनि संकट समाधानमा असफल भएको उनीहरुको तर्क छ।

उनीहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्यवृद्धि न्यूनीकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको प्रदर्शनकारीको भनाइ छ ।

दुवैजना आफ्नो जिम्मेवारीमा असफल भएकाले उनीहरुले तत्काल राजीनामा दिनुपर्ने प्रदर्शनकारीले माग गरेका छन् । उनीहरुले राजीनामा दिएमा अर्को व्यक्तिले सङ्कटको समाधान गर्ने विश्वास लिएका छन् ।

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालीन प्रधानमन्त्री महेन्दा राजपाक्ष राजीनामा दिन बाध्य भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *