गठबन्धनको विषयमा एकीकृत समाजवादीमा दुई धार, एमालेसँग सहकार्यको पक्षमा खनाल

मंसिरमा हुने आमनिर्वाचनका लागि गठबन्धन र सहकार्यको विषयमा नेकपा एकीकृत समाजवादीभित्र दुई फरक धार देखिएको छ ।

अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको अहिलेको गठबन्धन जारी राख्ने पक्षमा देखिएका छन भने अर्कोतर्फ सम्मानीत नेता झलनाथ खनाल तथा वरिष्ठ नेता मुकुन्द न्यौपाने कम्युनिष्ट पार्टीहरुबीच सहकार्य हुनुपर्ने पक्षमा देखिएका छन् ।

दुवै नेताहरु सहकार्यका लागि कांग्रेस मात्रै भनेर बस्न नहुने पक्षमा देखिएका छन् । उनीहरु आवश्यकता हेरेर एमालेसँग पनि मिल्न सकिने पक्षमा देखिएका छन् ।

खनालले पार्टीका बैठकहरुमा ओली गुट बाहेक एमालेका अन्य पक्षसँग सहकार्य गर्न सकिने धारणाहरु राख्दै आएका छन् । तर अध्यक्ष नेपाल भने जारी गठबन्धनबाट तलमाथि गर्न नहुने पक्षमा रहेका छन् ।

स्थानीय चुनाव लगत्तै कांग्रेसप्रति अक्रामक बनेका पूर्व प्रधानमन्त्री खनालले आगामी चुनावमा सहकार्य गर्ने जिम्मा तल्लो कमिटीलाई दिनुपर्ने पक्षमा देखिएका छन् ।

खनालले पार्टीको स्थायी कमिटी, पोलिट ब्युरो, केन्द्रीय कमिटी, केन्द्रीय परिषदको हालै सम्पन्न भएका बैठकहरुमा यस सम्बन्धि धारणा राखेका थिए ।

स्थानीय चुनावमा कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका खनालले नयाँ ढंगले वामपन्थी दलहरुबीच गठबन्धन हुनुपर्ने पक्षमा देखिएका छन् ।

खनालको गृह जिल्ला इलाममा स्थानीय चुनावपछिको जिल्ला समन्वय समिति गठनका लागि एमाले र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

असार ४ गते भएको जिसस अध्यक्षमा एमालेका जयप्रकाश राई अध्यक्ष र उपाध्यक्षमा एकीकृत समाजवादीकी चित्रकला बराइली निर्वाचित भएकी छिन् । त्यसैगरी खनालकै निर्वाचन क्षेत्रको सूर्योदय नगरपालिकाको नगरसभा गठनमा पनि दुवै दलबीच तालमेल भएको थियो ।

पार्टीको मूल नीति संविधान र लोकतन्त्रको रक्षा तथा विकास र समृद्धिका लागि अहिलेकै पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका छ । जबकी खनाल भने आगामी चुनावमा वामपन्थी दलहरुबीच एकता हुनुपर्ने पक्षमा देखिएका छन् ।

पछिल्लो समयमा खनालको निकटता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बढेको छ । जबकी एकीकृत समाजवादी अध्यक्ष नेपाल र एमाले अध्यक्ष ओलीबीच तिक्कतापूर्ण अवस्था जारी रहेको छ ।

शुक्रबार पनि संसद भवन नयाँ बानेश्वरमा ओली र खनालबीच जम्काभेटमा सौहार्द्रपूर्ण संवाद भएको थियो । दुवैले एक अर्कोको स्वास्थ्य अवस्था बारेमा जानकारी आदान प्रदान गरेका थिए ।

शुक्रबार नै अर्का वरिष्ठ नेता न्यौपानेले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उप महासचिव प्रदीप ज्ञवाली, विष्णु रिमालसहितको नेताहरुसँ अनौपचारिक संवाद गरेका थिए ।

सो भेटमा न्यौपानेले आगामी चुनावमा एमाले, एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुनुपर्ने पक्षमा रहेको बताएका थिए । उनले कम्युनिष्ट पार्टी जोगाउन ओली, नेपाल र पुष्पकमल दाहाल एकै स्थानमा उभिनु पर्ने पक्षमा देखिएका छन् ।

उता एमाले अध्यक्ष ओलीले पनि पार्टी मुख्यालय च्यासलमा आयोजित विभागका प्रमुख, उप प्रमुख तथा सचिवहरुको भेलामा एकीकृत समाजवादीबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ता एमालेमा आउन लागेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर