लघुवित्तको कारण ऋणको दलदलमा फस्दै महिला उद्यमी

बाँकेका उद्यमी महिलाहरु लघुवित्तको कर्जा चुक्ता गर्न नसक्दा समस्यामा परेका छन् ।

लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा उनीहरु विभिन्न संस्थाहरुमा ऋण माग्नका लागि धाउन बाध्य भएका हुन् । उनीहरु एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्ने काम गर्दै कर्जाको दल दलमा फस्दै गएका छन् ।

ऋण तिर्न समय माग गर्दा पनि लघुवित्तहरुले समय नदिने र घरमै गएर धम्क्याउने गरेको उनीहरुको आरोप छ । अध्ययन अनुसर नेपालमा करिब २२ लाख मानिसहरुले कर्जा लिएका छन् । २२ लाख मध्ये ७५ प्रतिशतले कर्जा समयमा तिर्न सकेका छैनन् ।

सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुवित्तबाटै आम नागरिकले दुःख पाइरहेको लघुवित्तमा आवद्ध महिलाको गुनासो छ । सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महँगो ब्याज तिर्न बाध्य बनाएको खजुरा गाउँपालिकाका मिना बुढा क्षेत्रीले बताइन् ।

सस्तो ब्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने ब्याज लिने गरेको उनको भनाइ छ । पहिला लघुवित्तले सस्तो ब्याजमा ऋण दिने प्रलोभनमा पार्ने गरेको र ऋण निकालेर तिर्दा अलि समय लागे वा आकास्मिक समस्या आइपरे पनि समस्या नबुझदिने गुनासो गरे ।

ऋण लिएर हदैसम्मको ज्यादतीका कारण बस्नसमेत गाह्रो भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा बसोवास गर्ने मनिषा तामाङले बताइन् । केही समय ढिलो भयो भने घरबाट निकाल्न खोज्ने, किड्नी बेच, मरे हुन्छ बीमा छ किन बाँच्ने जस्ता अव्यावहारिक लाञ्छना लगाई धम्की दिने गरेको उनले बताए । घरमा भएको सामान बेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नुपर्छ अरु केही विकल्प छैन भन्दै दैनिक फोनमा घरमै आएर धम्काउने गरेकोले वित्तीय संस्था खारेज गर्नुपर्ने उनको धारणा छ । बिरामी हुँदासमेत समस्या नबुझ्ने गरेकोले मनमा अनेक कुराहरु खेल्ने गरेको तामाङले बताइन् ।

पीडित धना सुनारले लघुवित्तले गर्दा घरपरिवारको सम्बन्ध नै बिग्रिएको बताइन् । लघुवित्तको दबाबले दिनरात सताउने गरेको उनले दुखेसो पोखिन् । घरमा ऋण माग्न आउने बित्तिकै भैंसी लैजान्छौं, कहिले घरमा ताल्चा लगाउने जस्तो धम्की दिइरहेकोले मनमा अनेक सोच पैदा भइरहेको बताइन् । उनले ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य भए पनि लघुवित्तले दिनदिनै दबाब दिँदा समस्या उत्पन्न भएको बताए ।

त्यस्तै पीडित दरमरीम भुइहारले लघुवित्तहरुले ऋण दिने बेला आर्थिक स्थिति र अवस्थासमेत नहेरी दिने गरेको र घरमा अकास्मिक समस्या आएर ऋण तिर्न केही समय लाग्यो भन्दैमा दिनदिनै दबाब दिनु उचित नभएको बताए । उनले लघुवित्तका कर्मचारीले समस्या नबुझी अभद्र व्यवहार गर्ने गरेको बताए । घरको अवस्था सुधार्न र कर्जाको किस्ता तिर्नका लागि होटलमा भाडाँ धुने काम गरिरहेपनि किस्ताको व्यवस्था गर्न नसकेको गुनासो गरे ।

त्यस्तै पीडित महिला उद्यमी सीता शाहीको समस्या पनि अरुको भन्दा फरक छैन । घर खर्च चलाउन र व्यवसाय गर्नका लागि लिएर श्रीमानलाई वैदेशिक रोजगारका लागि पठाए पनि कतैबाट राम्रो आम्दानी नभएपछि लघुवित्तले समस्या दिन थालेको बताइन् । साथै कोरोना भाइरसको कारणले मुलुक लकडाउन भएपछि झनै ऋणमा फसेको उनले बताइन् ।

बचB बचाऔं र अघि बढौं भन्ने मूल नाराका साथ लघुवित्तिय संस्थाहरुको विरुद्ध देशव्यापी रुपमा संघर्ष गरिने समितिका उपाध्यक्ष फत्तेबहादुर पुन मगरले बताए । नेपालमा करिब ५८ लाख नागरिक ऋण प्रवाह गरेका र २२ लाख ऋण तिर्न नसक्ने अवस्थामा रहेको लघुवित्तीय संस्थाविरुद्ध संघर्ष समितिका उपाध्यक्ष मगरले बताए । लघुवित्तका ऋणले गर्दा घरवारविहीन बनाएको र लघुवित्तीय संस्थाबाट धेरै पीडा सहनु परिरहेको मगरले बताए ।

लघुवित्तीय संस्थाविरुद्ध लघुवित्त पीडित महिलाहरुले सरकारसँग लघुवित्तिय संस्थाहरु खारेज गर्न, लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्न, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमताका आधारित काम र दामको व्यवस्था गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न उनिहरुले सरकारसँग माग राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर